परिवारको कोही सदस्य बिरामी पर्या छ भने घरका सबै सदस्य तथा आफन्तलाई तनाव हुन्छ। अझ आकस्मिक अवस्थाको बिरामी छ र नजिक कुनै अस्पताल छ/छैन भन्ने जानकारी छैन भने त झनै तनाव हुन्छ। त्यस्तो समयमा अस्पतालका बारेमा सोधखोज गर्दागर्दै बिरामीको ज्यान तलमाथि हुन सक्छ। तर, अब चिन्ता गर्नु पर्दैन। किनकि, तपार्इंले एक क्लिकको भरमा आफ्ना क्षेत्र आसपासका अस्पताल तथा चिकित्सक र एम्बुलेन्सको जानकारी पाउन सक्नु हुनेछ।
तर, यसका लागि भने मोबाइल फोन आवश्यक पर्छ। त्यो पनि स्मार्ट फोन। यस्ता स्मार्ट फोन अहिले बजारमा सर्वसुलभ मूल्यदेखि महँगो शुल्कमा समेत पाइन्छ। प्रविधिमा आएको विकासको प्रयोग गर्दै हेल्थ कन्सर्न नेपालले 'हस्पिटलस् नेपाल' नामक नयाँ एप्स प्रयोगमा ल्याएको छ। उक्त एप्स डाउनलोड गर्ने सबैले मोबाइलबाटै देशभरका चिकित्सक, अस्पताल र एम्बुलेन्ससम्बन्धी जानकारी तुरुन्त पाउन सक्ने छन्। एप्सको निर्माण सूचना प्रविधिका विद्यार्थी विजय प्रकाश कँडेल र नागेन्द्र घिमिरेले गरेका हुन्।
हाल एन्ड्रोइड मोबाइलमा मात्र निःशुल्क डाउनलोड गर्न मिल्ने उक्त एप्स अब केही दिनमै आइफोनमा समेत डाउनलोड गर्न सकिनेछ। हेल्थ कर्न्सनका सीईओ डा. सुवास प्याकुरेलका अनुसार उक्त एप्स एकपटक डाउनलोड गरेपछि इन्टरनेट नभए पनि काम गर्दछ। तर, अस्पताल रहेको स्थानको नक्सा र बाटो पत्ता लगाउन भने इन्टरनेको आवश्यकता पर्दछ। अस्पताल रहेको ठाँउको नाम भने इन्टरनेट नभए पनि देखाउँछ। हाल यो एप्समा देशभरका २६ सय ७० डाक्टरहरू, तीन सय ३२ अस्पताल र एक सय ५० एम्बुलेन्सको बारेमा जानकारी रहेको छ। एप्समा बिस्तारै तथ्यांक थपिँदै लगिएको डा. प्याकुरेलले जानकारी दिए।
'हामीले हरेक दुई/दुई हप्तामा एप्सलाई अपडेट गरीरहेका छौँ', उनले भने, 'आम नागरिकलाई सजिलो होस् भनेर सहज रूपमा सूचना खोज्न मिल्ने गरी एप्सलाई बनाएका छौँ।' उनका अनुसार यो एप्सबाट आफूलाई चाहिएका डाक्टर खोज्नुपरे तिनीहरूको नाम, थर वा उनीहरूको कामको विशेÈज्ञताबाट खोज्न सकिन्छ।
चिकित्सकीय भाषामा मुटु रोग विशेषज्ञलाई कार्डियोलोजिस्ट, बालबालिकाको विशेषज्ञलाई पेडियाटि्रसियन तथा हाडजोर्नीलाई अर्थोपेडिक्स, मिर्गौला रोग विशेषज्ञलाई नफ्रोलोजिस्ट भनिन्छ। तर, आम नागरिकलाई यस्ता चिकित्सकीय कुरा थाहा नहुने भएकाले साधारण शब्दहरू जस्तै मुटुरोग विशेषज्ञका लागि 'हार्ट', मिर्गौलाका लागि 'किड्नी', बालबालिकाका लागि 'चाइल्ड' मात्र लेखेर पनि विशेषज्ञ डाक्टर र उनीहरू काम गर्ने अस्पतालका बारेमा समेत यो एप्सबाट जानकारी लिन सकिन्छ।
अस्पताललाई ठाँउका आधारमा समेत खोज्न सकिने यो एप्स प्रयोगकर्ता चितवनमा छ र उसलाई चितवनमा अस्पताल खोज्नु पर्योत भने चितवन लेखेपछि चितवनमा भएका अस्पताल कहाँ–कहाँ छन् भन्ने देखाइहाल्छ। एप्सबाट कुनै अस्पतालमा क्लिक गर्योन भने उक्त अस्पतालको फोन नम्बर र चिकित्सकलगायत विवरणसमेत पाउन सकिन्छ। कसैले अस्पतालमा फोन गर्नुपर्योक भने एप्समा देखिएको नम्बरमा छोएको भरमा तुरुन्तै अस्पतालमा फोन जानेछ। 'बिरामी भएको समयमा सबै हतारमा र तनावमा हुने हुँदा त्यहाँ देखाएको नम्बर टिपेर पुनः डायल गर्दा ढिला हुने तथा गलत नम्बर थिचिने सम्भावना हुन्छ,' उनले भने, 'त्यसकारण आकस्मिक अवस्थामा रहेका बिरामी तथा आफन्तले तुरुन्तै अस्पतालमा कुरा गर्न सकँुन भनेर छोएको भरमा डायल हुने सिस्टम बनाइएको हो।'
डा.प्याकुरेलका अनुसार एप्सकै सहायतामा बिरामीले आफूलाई चाहेको चिकित्सकसँग 'एप्वाइन्टमेन्ट' समेत लिन सक्नेछन्। मोबाइल नम्बर उपलब्ध गराएका चिकित्सकस"ग एप्समा भएको एसएमएसको माध्यमले एप्वाइटमेन्ट लिन सकिन्छ। तर, डाक्टरको गोपनीयताका लागि सर्वसाधारणले ती चिकित्सकका मोबाइल नम्बर भने हेर्न पाउ"दैनन्। यस्तै आफ्नो रोगबारे चिकित्सकस"ग इमेलमा कुरा गर्न सकिने सुविधासमेत यसमा छ। यसबाहेक हरेक दिन स्वास्थ्य सम्बन्धी विविध जानकारी तथा सुझावसमेत प्राप्त गर्न सकिनेछ। परीक्षण कालमै रहेको उक्त एप्स प्रयोगमा आएको केही माहिनामात्र भएको छ। तर, अहिलेसम्म १३ हजार ५ सय भन्दा बढीले यसलाई डाउनलोड गरिसकेका छन्।
प्रकाशित: २१ भाद्र २०७१ ०५:०२ शनिबार