खेल

विश्वकप ट्रफी: गाजानिगाको सुन्दर परिकल्पना

विश्व फुटबलको प्रतिष्ठित पुरस्कार फिफा विश्वकप ट्रफी सुनबाट बनेको एउटा उपाधि मात्र होइन यो संघर्ष, विजय र उत्सवको प्रतीक पनि हो।

यसको डिजाइन गर्ने इटालियन मूर्तिकार सिल्भियो गाजानिगाले एउटै घुमाउरो आकृतिमा खेलाडीको कठिन संघर्ष, समर्थकको उल्लास र अन्तिम विजयको क्षणलाई समेट्ने प्रयास गरेका थिए।  विश्वकपको २३औं संस्करणको फाइनलमा स्पेन वा अर्जेन्टिनामध्ये एक टोलीले आइतबार यही प्रतिष्ठित ट्रफी उचाल्नेछ।  सबैभन्दा ठूलो सम्मान मानिने यस ट्रफीबारे केही रोचक तथ्यहरू छन्।

विश्वकप ट्रफीको डिजाइन इटालीको मिलानमा तयार गरिएको हो।  सन् १९७० मा ब्राजिलले तेस्रोपल्ट विश्वकप उचाल्दै पुरानो ट्रफी स्थायी रूपमा आफ्नो बनायो। त्यसपछि फिफाले नयाँ ट्रफीको डिजाइनका लागि अन्तर्राष्ट्रिय खुला प्रतिस्पर्धा आयोजना गरेको थियो। त्यसबेला गाजानिगाले मिलानको ब्रेरा क्षेत्रमा रहेको आफ्नो स्टुडियोमा तयार पारेको डिजाइन छनोट भएको थियो।

आज विश्वभर परिचित बनेको उक्त डिजाइनमा दुई मानव आकृतिहरू पृथ्वीको प्रतीक रहेको गोलाकार भागलाई माथितर्पm उचालिरहेका देखिन्छन्। गाजानिगाका छोरा जर्जियो गाजानिगाका अनुसार उनका बुवाले सुरुमा धेरै स्केचहरू तयार पारेका थिए।  अन्ततः पृथ्वीलाई केन्द्रमा राखेर डिएनएको दुई घुमाउरा संरचनाजस्तै माथितर्फ उक्लिरहेका दुई आकृतिको अवधारणा विकास गरे।  सन् २०१६ मा निधन भएका सिल्भियो गाजानिगा मूर्तिकार र ट्रफी डिजाइनर थिए। उनी जिडिई बर्टोनी कम्पनीसँग आबद्ध रहे।  युइएफए कप र युरोपियन सुपर कपजस्ता विश्वका प्रतिष्ठित ट्रफीहरू पनि उनैले डिजाइन गरेका हुन्। यसअघि प्रयोग गरिएको विश्वकप ट्रफी भने दुई पटक चोरी भयो।

सन् १९३० मा पहिलो विश्वकपसँगै प्रयोगमा आएको उक्त ट्रफीमा ग्रिक विजयकी देवी ‘नाइके’ को आकृति थियो। संस्थापक जुल्स रिमेको सम्मानमा त्यसलाई ‘जुल्स रिमे ट्रफी’ नाम दिइएको थियो।  सन् १९६६ मा इङ्ल्यान्डमा सार्वजनिक प्रदर्शनका क्रममा उक्त ट्रफी चोरी भएको हो।  पछि दक्षिणी लन्डनको एउटा झाडीमुनि ‘पिकल्स’ नामको कुकुरले फेला पारेपछि ट्रफी पुनः प्राप्त गरिएको थियो तर सन् १९८३ मा ब्राजिल फुटबल महासंघको मुख्यालयबाट दोस्रोपल्ट चोरी भएपछि उक्त ट्रफी कहिल्यै भेटिएन।  त्यसलाई पगालेर नष्ट गरिएको अनुमान पनि छ।  नयाँ ट्रफीको डिजाइन छनोटका क्रममा ५० भन्दा बढी प्रस्ताव पेस गरिएका थिए। तर गाजानिगाले मात्र पूर्ण त्रिआयामिक नमुना तयार पारेका कारण निर्णायकहरूले यसको आकृति र यसले व्यक्त गर्न खोजेको भावनालाई स्पष्ट रूपमा बुझ्न सके।

ट्रफीको माथिल्लो भागमा रहेको पृथ्वी सबैभन्दा माथि रहेको लक्ष्यको प्रतीक हो।  धातुभित्र उभिएका खेलाडीका आकृतिहरूले कठिन परिश्रम, संघर्ष र पीडापछि प्राप्त हुने सफलतालाई चित्रण गर्छ। जर्जियो गाजानिगाका अनुसार खेलाडीको शरीरलाई खस्रो र कठोर देखाइएको छ, जसले विजय हासिल गर्न भोग्नुपरेको संघर्ष झल्काउँछ।  माथितर्फ फैलिएका हातहरू विजयकी देविका पखेटाजस्तै देखिन्छन्, जसले खेलाडीको सफलतासँगै समर्थकहरूको अपार खुसीलाई पनि अभिव्यक्त गर्छ। गाजानिगा परिवारले अहिले पनि मिलानबाहिर रहेको नयाँ कार्यालयमा सिल्भियो गाजानिगाका मौलिक स्केच, फिफामा पेस गरिएको पहिलो नमुना र मोमबाट बनाइएको प्रारम्भिक ढाँचा सुरक्षित राखेको छ।

विश्वकप जित्ने टोलीले भने वास्तविक ट्रफी स्थायी रूपमा आफ्नो बनाउन पाउँदैन।  फाइनलपछि विजेता कप्तानले उचाल्ने आधिकारिक ट्रफी ३६ सेन्टिमिटर अग्लो हुन्छ।  यो १८ क्यारेट सुनबाट बनेको हुन्छ र यसको आधारमा हरियो मालाकाइटका दुई घेराहरू जडान गरिएका हुन्छन्।  जसले फुटबल मैदानको प्रतीकात्मक प्रतिनिधित्व गर्छन्। विश्वकप समाप्त भएपछि वास्तविक ट्रफी पुनः फिफाको स्विट्जरल्यान्डस्थित मुख्यालयमा फर्काइन्छ। विजेता राष्ट्रले भने सुनको जलप लगाइएको प्रतिकृति ट्रफी मात्र आफ्नो देश लैजान पाउँछ। यसअघि तीनपल्ट विश्वकप जित्ने राष्ट्रले मूल ट्रफी स्थायी रूपमा राख्न पाउने व्यवस्था थियो।  तर अहिले फिफाले त्यो नियम हटाइसकेको छ।  गाजानिगाको डिजाइन प्रयोग भएको यो १४औं विश्वकप हो।

गाजानिगाको आधिकारिक वेबसाइटअनुसार फिफाले कम्तीमा सन् २०३८ सम्म यही डिजाइनलाई विश्वकप ट्रफीका रूपमा निरन्तर प्रयोग गर्ने निर्णय गरिसकेको छ। जर्जियो गाजानिगाले सन् १९७४ को विश्वकप फाइनलको सम्झना ताजै रहेको बताउँछन्। त्यस बेला पश्चिम जर्मनी र नेदरल्यान्ड्सबिचको फाइनल उनी परिवारसँग बसेर हेरिरहेका थिए। त्यो नै पहिलोपल्ट उनका बुवाले डिजाइन गरेको ट्रफी विश्व विजेता टोलीलाई प्रदान गरिएको अवसर थियो।  ‘जब पश्चिम जर्मनीका खेलाडीहरूले म्युनिखमा ट्रफी उचाले र पूरै रंगशाला उत्साहले गुन्जियो।  त्यो क्षण अविस्मरणीय बन्यो,’ उनले भने,‘त्यही क्षण एउटा साधारण वस्तु विश्व फुटबलको अमर प्रतीकमा रूपान्तरण भएको थियो। ’  

प्रकाशित: २ श्रावण २०८३ ०९:२८ शनिबार