खेल

विश्वकप फुटबल २०२६: वायु प्रदूषणको असरबारे चिन्ता

क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ आउन एक वर्षभन्दा कम समय बाँकी छँदा फिफाले तुवाँलोबाट प्रभावित खेलहरूका लागि अझै प्रोटोकल स्पष्ट  पारेको छैन।

४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप आगामी वर्ष सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदै छ। यस विश्वकपमा क्यानडाले १३ खेल सञ्चालन गर्नेछ। त्यसमध्ये सात खेल भानकुभर र ६ खेल टोरन्टोमा सञ्चालन हुने तय छ। टोरन्टोको वायु प्रदूषण मापन विश्वकै खराब भएको एक दिनपछि नै क्यानडाको विश्वकप आयोजक समितिले तुवाँलोबाट प्रभावित हुन सक्ने खेलका लागि नीति र वायु गुणस्तर सम्बन्धित आकस्मिक योजनाहरू सार्वजनिक गर्न अस्वीकार गरेको छ।

आयोजकद्वारा कुनै पनि नीतिहरू सार्वजनिक गरिएका छैनन्। सोमबार बिहान टोरन्टोको वायु गुणस्तर स्वास्थ्य सूचकांक १० भन्दा माथि अर्थात् ‘धेरै उच्च जोखिम’ थियो।

जुन दिउँसोपछि ८ ‘उच्च जोखिम’ सम्म झरेको थियो। क्यानडा सरकारको तथ्यांकअनुसार यस वर्षको आगोको मौसम इतिहासको दोस्रो ठूलो हुनेछ। प्राकृतिक स्रोत मन्त्रालयका अनुसार २०२३ मा क्यानडाको सबैभन्दा विनाशकारी आगोको मौसम थियो। जहाँ ६ हजार भन्दा बढी आगलागीका घटना हुँदा १५ मिलियन हेक्टर जमिन जलेको थियो। टोरन्टो एसोसिएटका स्वास्थ्य अधिकारी डा. हावर्ड शापिरोले विश्वकपको तयारीका लागि टोरन्टोको सार्वजनिक स्वास्थ्यले वायु गुणस्तर सम्बन्धित नवीनतम प्रमाण र उत्तम प्रथाहरू पुनरवलोकन गरिरहेको उल्लेख गरे।

‘टोरन्टो सार्वजनिक स्वास्थ्यले चरम मौसम र तुवाँलोजस्ता स्वास्थ्य जोखिमहरू सम्बन्धित सल्लाहरू दिन सक्छ। त्यसमा विश्वकपको समयमा यहाँ बासिन्दा, आगन्तुक र सहभागी राष्ट्रका खेलाडीको स्वास्थ्य र सुरक्षाको लागि आकस्मिक योजना पनि समावेश छ,’ डा. हावर्डले भने।

म्यानिटोबा विश्वविद्यालयका फिजियोलोजी तथा प्याथो फिजियोलोजीका प्राध्यापक डा. एन्ड्यु हलायकोले त्यति बेला वायु प्रदूषण सात सूचकांकबाट बढेको अवस्थामा खेलको पुनर्तालिकीकरण हुनुपर्ने धारणा राखेका छन्।

उनले विशेष गरी ६५ वर्षभन्दा माथिका, गर्भवती, साना बच्चाहरू र पहिलेदेखि स्वास्थ्य समस्याहरू भएकाहरूको सुरक्षाको लागि पनि आकस्मिक योजनाहरू आवश्यक पर्ने बताएका छन्। तर, केही विशेषज्ञहरूले भने वायु गुणस्तरको सीमा निर्धारण गर्दै खेल रद्द गर्र्नु गाह्रो हुने उल्लेख गरेका छन्।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका श्वासप्रश्वास चिकित्सा विभागका प्रमुख डा. क्रिस्टोफर काल्स्र्टेनले कुन विन्दुमा खेल रद्द गर्ने भन्नेबारे निश्चित मापदण्ड बनाउन नसकिने बताए। ‘कुन विन्दुमा खेल रद्द गर्नुपर्छ भन्ने वायु प्रदुषणको निश्चित मानदण्ड बनाउन सक्दैनौं। यो प्रत्येक परिस्थितिमा भिन्न हुन सक्छ,’ उनले भने, ‘यसमा दर्शकहरूको उमेर, वायु गुणस्तर जस्ता कारकहरूले प्रभाव पार्छ। त्यसैले प्रत्येक घटनालाई व्यक्तिगत रूपमा विचार गर्नुपर्छ। खराब वायु गुणस्तरले खेलाडीमा पार्ने प्रभाव बहसको विषय हो।’

केही विशेषज्ञहरूले भने खेलाडीहरू युवा र स्वस्थ हुनाले खराब वायु अवस्थालाई सामना गर्न सक्छन् भन्ने मत राखेका छन्। तर केहीले भने यसले दीर्घकालीन रूपमा स्वास्थ्य प्रभाव पर्न सक्ने चेतावनी दिएका छन्। ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक माइकल ब्राउरले एक अध्ययन अनुरूप खराब वायु प्रदूषणले खेलाडीको स्वास्थ्यमा असर मात्र नभएर उनीहरूको प्रदर्शनमा प्रभाव र चोटहरू पनि सामना गर्ने बताएका छन्।

‘अध्ययनहरूले वायु प्रदूषणका कारण उनीहरूको क्षमता प्रभावित गर्छ भन्ने देखाएको छ। उनीहरूमा चोटको जोखिम पनि बढाउँछ,’ उनले भने, ‘हाम्रा सानो गल्तीले पनि खेलाडीको करियरमा खतरा पु¥याउन सक्छ।’

क्यानडियन फुटबल लिगले भने वायु प्रदुषण एक्वी सातभन्दा बढी हुँदा खेलहरू स्थगन गर्ने प्रावधान राखेको छ। खेलाडीहरूसँग पनि त्यो सम्झौता गरिएको छ। 

प्रकाशित: १ श्रावण २०८२ ०७:४६ बिहीबार

# Nagariknews