विश्व फुटबल महासंघ (फिफा) ले सन् २०३० सम्म हरितगृह ग्यास उत्सर्जन ५० प्रतिशतले घटाउने र २०४० सम्म ‘नेट–जिरो’ कार्बन उत्सर्जनको लक्ष्य राखेको छ।
सोही लक्ष्यअनुसार विश्वकप आयोजना हुने १६ मध्ये १३ रंगशालाले विश्वकै प्रतिष्ठित हरित भवन मूल्यांकन प्रणाली ‘एलइइडी’ प्रमाणपत्र प्राप्त गरिसकेका छन्।
बाँकी तीनमध्ये कम्तीमा दुई रंगशालाले पनि छिट्टै यो मान्यता प्राप्त गर्ने अपेक्षा गरिएको छ। उक्त रंगशालामा ११ हजार पाँच सयभन्दा बढी सौर्य प्यानल जडान छन्।
जसले स्वच्छ विद्युत उत्पादन गर्नेछन्। सुधारका कारण हरेक वर्ष १० करोड ग्यालनभन्दा बढी खानेपानी वचत हुने अनुमान गरिएको छ। साथै पाँच मिलियनभन्दा बढी एकपटक प्रयोग हुने प्लास्टिक सामाग्रीको प्रयोग हटाइने उल्लेख छ।
चारवटा रंगशालाले सम्पूर्ण फोहोर पुनः प्रयोग, पुनर्चक्रण वा कम्पोस्टिङ गरेर ल्यान्डफिलमा पुग्न नदिने व्यवस्था गरेका छन्। अमेरिका ग्रिन बिल्डिङ काउन्सिलकी प्रबन्ध निर्देशक रियानन जेकब्सेनले यस्ता सुधारले सञ्चालन खर्च घटाउने र रंगशालाभित्र हावाको गुणस्तर पनि सुधार्ने बताइन्। त्यसले दर्शकको अनुभव राम्रो बनाउने र खेलाडीको प्रदर्शनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।
तर, वातावरणविद्हरूले भने यो विश्वकपले इतिहासकै सबैभन्दा बढी प्रदूषण फैलाउन सक्ने चेतावनी दिएका छन्। उत्तर अमेरिकाभर फैलिएका खेलस्थलबिच समर्थक र टोलीहरूको हवाई यात्राका कारण ठूलो मात्रामा कार्बन उत्सर्जन हुने अनुमान गरिएको छ।
विश्वकप सहभागिता संख्या बढाएर ३२ बाट ४८ राष्ट्रसम्म पुर्याइएको छ। विश्वका धेरै राष्ट्रका समर्थकहरू अमेरिका भित्रनेछन्। यसबिच वातावरणीय संस्थाहरूले सार्वजनिक गरेको प्रतिवेदनमा करिब ९० लाख मेट्रिक टन कार्बन प्रदूषण उत्सर्जन हुनेछ।
यो मात्रा करिब ६५ लाख औसत कार एक वर्षसम्म चलाउँदा निस्कने प्रदूषण बराबर हो। मेक्सिको सिटीस्थित ६० वर्ष पुरानो ऐतिहासिक एस्टाडियो एज्टेकाले गत अक्टोबरमा एलइइडीको उच्चतम स्तरको प्रमाणपत्र प्राप्त गरेको थियो।
८७ हजार ५ सय दर्शक अट्ने यो रंगशालाले पानीको उपयोग ३६ प्रतिशत र ऊर्जा खपत झन्डै ४५ प्रतिशतले घटाएको छ। आधुनिक प्रकाश व्यवस्था, वातानुकूलन प्रणाली र फोहोर व्यवस्थापन कार्यक्रमले यसलाई दिगो खेल पूर्वाधारको नमुना बनाएको छ।
न्युयोर्कको मेटलाइफ स्टेडियममा विश्वकप फाइनलसहित तथा सबैभन्दा बढी नौ खेल आयोजना हुने तय छ। यसले पनि गोल्डस्तरको प्रमाणपत्र प्राप्त गरेको छ। सौर्य ऊर्जा, एलइडी प्रकाश, विद्युतीय सवारीसाधन तथा ऊर्जादक्ष प्रणालीमार्फत यी रंगशालामा वातावरणीय प्रभाव घटाउन उल्लेखनीय लगानी गरिएका छन्।
प्रकाशित: २५ जेष्ठ २०८३ २२:०१ सोमबार