नेपाली क्रिकेट इतिहासमै कोसेढुङ्गा साबित मानिएको ‘आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट’ प्रतियोगिता सन्निकट आइपुगेको छ।
आगामी माघ ४ गतेदेखि काठमाडौंमा सुरु हुने यस प्रतियोगिताका लागि अहिले आयोजक राष्ट्र नेपालसहित सहभागी अन्य राष्ट्रहरूले अन्तिम चरणको तयारी तीव्र पारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को क्यालेन्डर अनुसार नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो।
यस ग्लोबल छनोट प्रतियोगितामा आयोजक नेपालसहित विश्वका विभिन्न महादेशबाट छनोट भएर आएका कुल १० राष्ट्रले सहभागिता जनाउँदै छन्। जसमा तीन ‘टेस्ट’ मान्यता प्राप्त राष्ट्रहरू पनि छन्।
सहभागी टोलीहरू काठमाडौं ओर्लिने र अभ्यासमा जुट्ने क्रम जारी छ। केही टोलीहरू नेपाल आइसकेका छन् भने केही आउने क्रममा छन्।
अहिले विदेशी टोलीहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा अभ्यास खेल तथा प्रशिक्षणमा व्यस्त देखिएका छन्।
नेपाली राष्ट्रिय महिला टोली पनि घरेलु मैदानको फाइदा उठाउँदै उच्च मनोबलका साथ बन्द प्रशिक्षणमा व्यस्त छ। प्रतियोगिताको मिति नजिकिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले व्यवस्थापकीय तथा प्राविधिक तयारीलाई पूर्णता दिएको जनाएको छ।
प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। प्रवक्ता लामाले दुवै मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार रहेको दाबी गरेका छन्।
‘त्रिवि र मूलपानी दुवै मैदानमा यसअघि पनि थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको सफल आयोजना भइसकेको छ। त्रिविमा दर्शक बस्ने प्याराफिटदेखि पिचसम्मको मर्मत सम्भार भइसकेको छ। त्यस्तै, मूलपानीमा पनि लामो समयदेखि पिच र आउटफिल्डको कामहरू भइरहेको थियो, जुन अहिले सम्पन्न भएको छ,’ उनले भने।
क्यान अहिले प्रतियोगिता आयोजनाको अन्तिम चरणको ‘फिनिसिङ’ मा जुटेको छ।
कठिन समूहमा नेपाल, इतिहास रच्ने सुनौलो मौका
विश्वकपमा पुग्ने सपना बोकेको नेपाली टोली समूह ‘बी’ मा परेको छ। क्रिकेट विश्लेषकहरूका अनुसार यो समूह तुलनात्मक रूपमा निकै कठिन मानिएको छ।
नेपालले यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड्सजस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
यीमध्ये जिम्बाबे टेस्ट राष्ट्र हो भने थाइल्यान्ड र स्कटल्यान्ड महिला क्रिकेटमा स्थापित नाम हुन्। कागजमा हेर्दा यो समूहको कमजोर टोलीका रूपमा नेपाललाई आङ्कलन गरिएको भए पनि घरेलु मैदान र दर्शकको साथ नेपालको सबैभन्दा ठूलो शक्ति हुनेछ।
नेपालले आफूलाई शीर्ष ४ मा उभ्याउन सके सेमिफाइनलको यात्रा तय गर्नेछ र त्यहाँबाट विश्वकपको ढोका खुल्नेछ।
नेपाली पुरुष क्रिकेट टोलीले तेस्रो पटक विश्वकपमा स्थान बनाएर ‘वाहवाही’ बटुलिरहँदा महिला टोलीको उपलब्धि भने ओझेलमा परेको गुनासो बेलाबेलामा सुनिन्छ।
तर, यसपटक महिला टोली पहिलो पटक विश्वकपको ढोका नजिक पुगेको छ। यो अवसरलाई सदुपयोग गर्न क्यानले पनि कुनै कसर बाँकी राखेको छैन।
इतिहासमै पहिलो पटक क्यानले महिला राष्ट्रिय टोलीका लागि विदेशी मुख्य प्रशिक्षक अनुबन्ध गरेर गम्भीरता देखाएको छ।
पुरुष क्रिकेटको सफलताको छायामा रहेको महिला क्रिकेटले यस प्रतियोगितामार्फत फड्को मार्ने विश्वास गरिएको छ। कठिन प्रतिद्वन्द्वी भए पनि आफ्नै भूमिमा हजारौं दर्शकको हुटिङ र हौसलाबिच खेल्दा नेपाली चेलीहरूले इतिहास रच्ने र टी–२० विश्वकपको टिकट काट्ने आशा क्यान र आम नेपाली समर्थकले लिएका छन्।

टी -२० ग्लोबल छनोट माघ ४ गतेदेखि सुरु हुँदै छ।
प्रकाशित: २८ पुस २०८२ १८:१७ सोमबार