खेल

‘हार-जित आफ्नो ठाउँमा छ, यो रात हामी सबैको जित हो’

तस्बिर: एनपीएल

सोमबार साँझ कीर्तिपुरको आकाशमा घाम अस्ताउँदै गर्दा त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भने हजारौं वाटका बत्तीहरू पहिलो पटक एकसाथ बले।

ती बत्तीको उज्यालो मैदानको हरियो दुबो हुँदै हजारौं दर्शकको अनुहार र नेपाली क्रिकेटको भविष्यमा समेत पोतिएको थियो। यो केवल क्रिकेट खेलको सुरुवात थिएन, एउटा सपनाको यथार्थ थियो, नेपाली खेलकुदमा एक नयाँ अध्यायको भव्य घोषणा थियो।

उनीहरू इतिहासको साक्षी बने। जब विशाल फ्लडलाइट टावरहरूबाट निस्किएको प्रकाशले मैदानलाई दिनजस्तै उज्यालो बनायो तब दर्शकदीर्घाबाट उठेको ताली र हुटिङको आवाजले पूरै उपत्यकाको ध्यान खिच्यो।

‘फ्लडलाइटमा खेल हेर्ने र खेल्ने सबैको सपना आज पूरा भएको छ,’ खेलपछि जनकपुरका कप्तान अनिल शाहले भन्छन्, ‘हार-जित आफ्नो ठाउँमा छ, तर यो रात हामी सबैको जित हो।’

उज्यालोमा छायामा परेको च्याम्पियन

उपाधि रक्षाको बलियो लक्ष्य बोकेर भारतको चेन्नाई सुपर किंग्स एकेडेमीमा विशेष प्रशिक्षण गरेर आएको जनकपुर बोल्ट्स प्रकाशको छायामा परेको देखियो।

टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरको प्रदर्शन कुनै पनि कोणबाट च्याम्पियनको जस्तो देखिएन। उनीहरूको ब्याटिङ इनिङ्स एक ‘एक्लो योद्धा’ को संघर्षले धान्यो।

ती योद्धा थिए, आसिफ शेख। एकातर्फबाट विकेटहरू झरिरहँदा अर्कोतर्फबाट उनले ४१ बलमा ५४ रनको अर्धशतकीय पारी खेलेर टोलीको इज्जत जोगाउने प्रयास गरे। तर क्रिकेट सामूहिक खेल हो। आसिफको एकल संघर्षले टोलीलाई १३० रनको सामान्य स्कोरभन्दा माथि लैजान सकेन।

‘हामीले प्रेसर फिल गरेर खेलेको थिएनौँ, तर लक्ष्य कम भएको कारण अलिबढी चुनौती थियाे’ कप्तान शाहले भने। ‘आज हामीले पहिलो खेलमा हार व्यहोरौं, अरु खेलमा कमब्याक गर्नछौँ।’

जनकपुरले दिएको १३१ रनको लक्ष्य सायद फ्लडलाइटको उज्यालोमा झनै फिक्का देखियो। गत संस्करणमा औसत प्रदर्शन गरेको काठमाडौं गोर्खाज यसपटक नयाँ आत्मविश्वास र रणनीतिका साथ मैदानमा उत्रिएको थियो।

उनीहरूको लक्ष्य केवल खेल जित्नु थिएन, प्रतियोगिताका अन्य टोलीहरूलाई एउटा शक्तिशाली सन्देश दिनु थियो।

यो सन्देशको पहिलो अक्षर लेखे, इंग्लिस ब्याट्सम्यान बेन चार्ल्सवर्थले। उनले जनकपुरका बलरहरूमाथि निर्मम प्रहार गर्दै मात्र २३ बलमा ४६ रनको विष्फोटक पारी खेले।

उनले तयार पारेको बलियो जगमा उभिएर आकाश त्रिपाठी (३९ रन) ले संयमतापूर्वक इनिङ्सलाई अगाडि बढाए र १८ ओभरमै टोलीलाई ५ विकेटको सानदार जित दिलाए।

खेलपछि काठमाडौंका कप्तान करण केसीले भने, ‘हामीले गत वर्षको गल्तीबाट सिकेका छौं र यसपटक अन्तिमसम्म लड्न तयार छौं।’

पहिलो संस्करण स्मरण गर्दै उनले भने- ‘पहिलो संस्करणको प्लेअफमा नेटरनरेटको कारणले चुक्दा नराम्रो फिल भएको थियो, तर यसपटक पहिला जस्तो गल्ती गर्दैनाैं, हरेक खेल जित्दै जाने लक्ष्य बनाएका छौँ।’

यस ऐतिहासिक रातको पछाडि नेपाल क्रिकेट संघ (क्यान) को भिजन र पूर्वकप्तान पारस खड्काको एक वर्ष पुरानो प्रतिबद्धता थियो। एनपीएलको पहिलो संस्करण सकिँदै गर्दा उनले दोस्रो संस्करण फ्लडलाइटमा गर्ने वाचा गरेका थिए। त्यो वाचा आज यथार्थमा परिणत हुँदा यसले नेपाली खेलकुदमा इच्छाशक्ति भए जे पनि सम्भव छ भन्ने प्रमाणित गरेको छ।

अब फल्डलाइडको प्रकाशले अब घरेलु लिगलाई थप व्यावसायिक बनाउनेछ। नयाँ प्रतिभाहरूलाई आकर्षित गर्नेछ र अन्तर्राष्ट्रिय क्रिकेटलाई नेपालमा डे-नाइट म्याच आयोजना गर्न आमन्त्रण गर्नेछ।

सम्रगमा यस्तो रह्यो पहिलो खेल

त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंका लागि इंग्लिस ब्याट्सम्यान बेन चार्ल्सवर्थले विष्फोटक सुरुवात दिलाए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रनको उत्कृष्ट पारी खेले।

अर्का ओपनर आकाश त्रिपाठीले एकातर्फबाट इनिङ्स सम्हाल्दै ४५ बलमा ३९ रनको महत्वपूर्ण योगदान दिए।

मध्यक्रममा मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रन जोडे। जनकपुरका बलरहरूले बीचमा केही विकेट लिएर खेलमा फर्कने प्रयास गरे पनि काठमाडौंको जित रोक्न सकेनन्।

अन्तमा मोहम्मद आदिल आलमले अविजित ८ रन बनाउँदै १२ बल बाँकी छँदै टोलीलाई जित दिलाए।

जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललित राजवंशी, जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमुर्थीले समान एक-एक विकेट लिए।

आसिफको अर्धशतकले धानेको जनकपुरको इनिङ्स

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरको सुरुवात खराब रह्यो र ४६ रनमै ४ विकेट गुमाएर संकटमा परेको थियो।

तर, ओपनर आसिफ शेखले एकातर्फबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले। अन्तिममा मयन यादवले अविजित ३४ रन र लाहिरु समरकूनले २२ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

काठमाडौंका लागि अलराउन्डर मिलिन्द कुमारले बलिङमा सानदार प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै, कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले एक-एक विकेट हात पारे।

यो जितसँगै काठमाडौंले प्रतियोगितामा २ अंक जोडेको छ भने उपाधि रक्षाको अभियानमा रहेको जनकपुरले हारबाट सुरुवात गरेको छ।

प्रकाशित: १ मंसिर २०८२ २१:४८ सोमबार