अफ्रिकन फुटबल महासंघ (काफ) का अध्यक्ष पाट्रिस मोट्सेपेले सेनेगललाई अफ्रिका कप अफ नेसन्स उपाधिबाट वञ्चित गर्ने निर्णयविरुद्ध गरिएको अपिलमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) को निर्णय सम्मान गर्ने बताएका छन्।
‘कासको निर्णयलाई सम्मान गर्छु र कार्यान्वयन पनि गर्नेछु। यस विषयमा मेरो व्यक्तिगत धारणा अप्रासंगिक छ,’ मोट्सेपेले इजिप्टको राजधानी काइरोमा काफको कार्यकारी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने।
काफको अपिल कमिटीले गत महिना अफ्रिका कप अफ नेसन्सको फाइनलमा आयोजक मोरक्कोमाथि सेनेगलको १–० को जित उल्टाएको थियो। त्यो निर्णयविरुद्ध सेनेगलले अपिल गरेको हो। रबातमा भएको उक्त फाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा पेनाल्टी दिइएपछि सेनेगलका खेलाडी, मुख्य प्रशिक्षक पापे थियाव र उनका स्टाफ मैदानबाट बाहिरिएका थिए। उनीहरू फर्किएपछि मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी अवसर खेर फाले। त्यसपछि अतिरिक्त समयमा पापे गुएयेले गोल गर्दै सेनेगललाई उपाधि दिलाएका थिए।
काफको अनुशासन कमिटीले दुवै टोलीका सदस्यलाई जरिवाना पनि गरेको थियो तर नतिजा भने परिवर्तन गरिएको थिएन। पछि मोरक्कोले अपिल गर्यो। त्यो अपिलमा कमिटीले फाइनलको जित उल्ट्याउँदै मोरक्काको पक्षमा ३–० को नतिजा दियो। यो निर्णयसँगै सेनेगल कासमा गएको हो। काफका अध्यक्ष मोट्सेपेले अपिल बोर्ड स्वतन्त्र न्यायाधीश र कानुन व्यवसायीहरू मिलेर बनेको बताएका छन्।
पेरिसमा शनिबार पेरुविरुद्ध २०२६ विश्वकप तयारी खेलमा सेनेगलले अफ्रिका कपको ट्रफी प्रदर्शन गरेको थियो। त्यसपछि सेनेगलले दुईवटा तारासहितको जर्सी लगाएको थियो। त्यो दुई ताराको संकेत अफ्रिका कप अफ नेसन्सको सन् २०२२ को पहिलो उपाधि र अर्को विवादित फेब्रुअरीको (फाइनल) जितका लागि हो। मोट्सेपेले अफ्रिकी फुटबलको विकासका लागि सहकार्यको महत्त्व जोड दिएका छन्।
आफूले सेनेगल र मोरक्कोको भ्रमण गर्ने पनि उनको भनाइ छ। तर उनले मिति भने खुलाएनन्। काफले जारी गरेको विज्ञप्तिमा नियम तथा विधानमा सुधार र परिवर्तन लागू गरिरहेको छ, जसले अफ्रिकी रेफ्री, भार अपरेटर र न्यायिक निकायप्रति विश्वास र भरोसा बलियो बनाउने उल्लेख छ। यसले फाइनलमा देखिएका घटनाहरू भविष्यमा दोहोरिन नदिने सुनिश्चित गर्ने पनि उल्लेख छ।
काइरोस्थित भएको बैठकबाट काफको कार्यवाहक महासचिवमा नाइजेरियाका सामसन अदामुलाई नियुक्त गरिएको मोट्सेपेले घोषणा गरे। अदामुले भेरोन मोसेन्गो ओम्बाको स्थान लिनेछन्। कङ्गो रिपब्लिक गणतन्त्रमा जन्मिएका पूर्व फिफा अधिकारी मोसेन्गो ओम्बा काफ कर्मचारीका लागि तोकिएको ६६ वर्षको अनिवार्य अवकाशका कारण बाहिरिएका हुन्।
प्रकाशित: १६ चैत्र २०८२ ०६:२२ सोमबार