कात्तिक १४ देखि सुरु हुन लागेको प्रथम त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
आयोजक गाईघाट फुटबल क्लबका अध्यक्ष रञ्जन कार्कीका अनुसार त्रियुगा नगरपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता कात्तिक २१ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा देश तथा विदेशका टोलीको सहभागिता रहने अध्यक्ष कार्कीले बताए।
भारतको जर्जियन युथ क्लबको समेत सहभागिता रहने प्रतियोगिताको उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबले जनाएको छ।
शनिबार दिउँसो २ः३० बजे हुने उद्घाटन खेलसँगै प्रतियोगिताको पहिलो चरण सुरु हुनेछ। पहिलो चरणका खेल कात्तिक १७ गतेसम्म सञ्चालन हुनेछन्। उद्घाटन खेलमा आयोजक गाईघाट फुटबल क्लब र सिराहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो दिन आइतबार न्यु स्टार क्लब सुनसरी र चित्ला एफसी काठमाडौंबीच खेल हुनेछ।
त्यसैगरी, कात्तिक १६ गते सोमबार सातदोबाटो युवा क्लब ललितपुर र हनामी भरतपुर फुटबल क्लब चितवनबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक १७ गते दिउँसो २ः३० बजे नेपाल पुलिस क्लबले पाहुना टोली जर्जियन युथ क्लब भारतको सामना गर्नेछ।
कात्तिक १८ र १९ गते सेमिफाइनल खेल हुनेछन् भने फाइनल खेल कात्तिक २१ गते दिउँसो २ बजे हुने आयोजक समितिले जनाएको छ।
त्रियुगा नगरपालिकाको विशेष सहयोग र त्रियुगा नगर खेलकुद विकास समितिको समन्वयमा आयोजना हुन लागेको प्रतियोगिताले सात वर्षदेखि अवरुद्ध उदयपुर गोल्डकपको तिर्खा मेटाउने खेलप्रेमीको अपेक्षा छ।
उदयपुरमा फुटबल खेललाई अहिलेसम्मको उचाइमा पुर्याउन उदयपुर गोल्डकपले महत्त्वपूर्ण भूमिका खेलेको थियो। २०६८ सालदेखि सुरु भएको गोल्डकप २०७६ सालदेखि अवरुद्ध छ। २०६८ सालमा व्यक्तिहरूसँग चन्दा संकलन गरेर त्रियुगा नमुना माध्यमिक विद्यालयको प्रांगणमा प्रतियोगिता सुरु गरिएको थियो। पछि यसलाई संस्थागत गर्ने क्रममा थरुहट उदयपुर रंगशालाको अवधारणा अघि सारिएको थियो, जुन अहिले निर्माण सम्पन्न हुने चरणमा पुगेको छ।
विद्यालयको प्रांगणमा लगातार तीन संस्करण सञ्चालन भएको गोल्डकपले लोकप्रियता हासिल गर्दै गएपछि अहिलेको थरुहट उदयपुर रंगशाला निर्माणका लागि दबाब बढ्दै गएको थियो। उदयपुर गोल्डकपका संस्थापक अध्यक्ष तथा हाल निलम्बित अखिल नेपाल फुटबल संघका महासचिव किरण राईको अगुवाइमा रंगशाला निर्माण सुरु भएको थियो। त्यसपछि निर्माणले गति लिँदै अहिलेको अवस्थासम्म आइपुगेको हो।
आर्थिक वर्ष २०७३/७४ मा जिल्ला खेलकुद विकास समिति उदयपुरले ४० हजार रुपैयाँ बजेटबाट भीआईपी प्याराफिट निर्माण गरी रंगशाला निर्माणको सुरुवात गरेको थियो। त्यसपछि क्रमागत योजनाअन्तर्गत वर्षेनी प्राप्त बजेटबाट एकपछि अर्को प्याराफिट निर्माण, खेलमैदान व्यवस्थापन, शौचालयलगायतका पूर्वाधार थपिँदै आएका छन्। अहिले रंगशाला लगभग सम्पन्न हुने अवस्थामा पुगेको छ।
अर्को वर्षदेखि देश संघीय संरचनामा गएपछि तत्कालीन प्रदेश नम्बर १ सरकार, त्रियुगा नगरपालिका र जिल्लाका अन्य स्थानीय तहको सहयोगमा पूर्वाधार थपिँदै अहिलेको सुविधासम्पन्न रंगशाला निर्माण भएको हो।
प्रस्तावित हवाई मैदानको १४ बिघा १८ कठ्ठा १६ धुर जमिनमध्ये डेढ बिघाभन्दा बढी क्षेत्रमा रंगशाला निर्माण गरिएको छ। हालसम्म दक्षिणतर्फ भीआईपी प्याराफिटपछि थप चारवटा प्याराफिट निर्माण भइसकेका छन्। पूर्वतर्फ चारवटा तथा उत्तर र दक्षिण दुवैतर्फ अर्धगोलाकार प्याराफिट बनिसकेका छन्। खेलमैदान वरिपरि व्यवस्थित नाली र तारबार निर्माण गरी सुरक्षित बनाइएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान, शौचालय तथा भीआईपी सुविधासहितका प्याराफिटलगायतका पूर्वाधार उपलब्ध भएकै कारण गत फागुनको पहिलो साता यस रंगशालामा एन्फाको आयोजनामा राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप प्रतियोगितासमेत सम्पन्न भएको थियो।
क्याप्सन : खेलकुदको हब बन्दै उदयपुरको थरुहट रंगशाला। तस्बिर : महेश्वर
प्रकाशित: १३ कार्तिक २०८३ १९:२५ शुक्रबार