खेल

तिम्बुङ पोखरी ट्रेल रन : पुरस्कार राशि र दूरी बढाइयो

दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ। यही भदौ २६ गते हुने दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा साबिकभन्दा दौड क्षेत्रको दूरी र पुरस्कार राशि दुवैमा वृद्धि गरिएको हो। 

तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिले आयोजना गर्ने ट्रेल रन प्रतियोगिताबारे शुक्रबार फुङलिङमा पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कार्यक्रम संयोजक अमिर राईले पदमचाल अर्थात् केन्जोको ‘हब’ तिम्बुङ पोखरी क्षेत्रको प्रवर्द्धनका लागि ट्रेल रन प्रतियोगितालाई निरन्तरता दिइएको जानकारी दिए। प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८१ साल भदौ २६ गते नै भएको थियो। तिम्बुङ पोखरी पदमचाल अर्थात् केन्जोको राजधानी मानिएको र भदौ महिनामै केन्जोको आकर्षणमा बढी हुने भएकोले उक्त समयमै तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना गरिएको राईले बताए। ४ हजार ३ सय ५० मिटर उचाइको पोखरी क्षेत्रबाट हुने ट्रेल रन प्रतियोगिता ३ हजार ८ सय मिटर उचाइको पाङदुवामा झरी फेरि ४ हजार २ सय मिटर उचाइको ठूलो भञ्ज्याङमा आएर दौड दूरी पूरा हुने छ। पोखरी क्षेत्रबाट पाङदुवामा झरी फेरि ठूलो भञ्ज्याङ उक्लँदा दौडको दूरी करिब १५ किलोमिटर हुने छ। 

प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा अघिल्लो वर्ष ७.८ किमी दूरी रहेको थियो। राईका अनुसार यस वर्ष खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ भने प्रथम हुनेलाई मात्र पुरस्कार दिइने भएको छ। महिलातर्फका विजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। स्थानीयतर्फ (सिदिङ्वा गाउँपालिका भित्रका) प्रथम हुनेलाई नगद १५ हजारसहित पुरस्कार पाउने सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिले यस वर्षबाट तिम्बुङ पोखरीसहितका पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनमा योगदान पुर्‍याउने एक पत्रकारलाई नगद २५ हजार रुपैयाँसहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। 

यो पुरस्कार ताप्लेजुङ र पाँचथरका पत्रकार केन्द्रित हुने राईले जानकारी दिए। राईका अनुसार प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितापछि २०८१ सालभरमा करिब ३ हजार मानिसले तिम्बुङ पोखरीको अवलोकन गरेका छन्। सोभन्दा अघि यति दर्शनार्थी तिम्बुङ पोखरीमा नपुगेको राईले दाबी गरे। उनको अनुसार ट्रेल रन प्रतियोगिता कार्यक्रमका लागि भदौ २२ गते कालिखोला पुग्ने, २३ गते नुनथलामा बास बस्ने, २४ गते ठूलो भञ्ज्याङ पुगेर बास बस्ने, २५ गते तिम्बुङ पोखरी दर्शन गरी नजिकै रहेको भारत सिक्किमको लक्ष्मी पोखरी दर्शन गरी ठूलो भञ्ज्याङमा बास बस्न आउने र २६ गते ट्रेल रन प्रतियोगिता गरी कार्यक्रम समापन हुने राईले बताए।

प्रतियोगिताको उद्‌घाटन र समापनको कार्यक्रम ठूलो भञ्ज्याङमा हुने समेत उनले जानकारी दिए। प्रतियोगितामा १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संस्थाले बताएको छ। कुल लागतमध्ये सिदिङ्वा गाउँपालिकाले ११ लाख, पर्यटन कार्यालय काँकडभिट्टाले ५ लाख रुपैयाँ लागत भार व्यहोर्ने अनुमान आयोजकले गरेको छ। कार्यक्रममा सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका वडाध्यक्ष गोपाल बानियाँले तिम्बुङ पोखरीको विकास, प्रवर्द्धन र सम्मुनतिका लागि सिदिङ्वा गाउँपालिकाको तर्फबाट गरिएका प्रयासबारे अवगत गराएका थिए।

प्रकाशित: १३ भाद्र २०८२ १९:५१ शुक्रबार