खेल

तिम्बुङ पोखरी ट्रेल रेस : खुल्लातर्फ इलामका राई र महिलातर्फ डोल्पाकी क्षेत्री विजयी

तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको उपाधि खुल्लातर्फ इलामका सञ्जय राई र महिलातर्फ डोल्पाका कमला क्षेत्रीले जितेका छन्। स्थानीयतर्फको उपाधि भने सिदिङ्वाको कालिखोलाका भरत बाँनियाले जिते।

निर्धारित २१ किलोमिटरको दूरी राईले १ घण्टा २४ मिनेट ३२ सेकेण्डमा पार गर्दै ८३ हजार ५२५ रुपैयाँ पुरस्कारका साथ साथ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्।

खुल्लातर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले १ घण्टा २६ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो पुरस्कार जिते। उनले ६३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए।

ताप्लेजुङको मैवाखोलाका फुर्वा ल्हामु शेर्पाले १ घण्टा २७ मिनेट ४५ सेकेण्डमा दूरी पार गर्दै तेस्रो उपाधि हात पारे। उनले ४३ हजार ५२५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाए।

महिलातर्फ डोल्पाकी क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पार गर्दै प्रथम भइन्। उनले ८३ हजार ५२५ रुपैयाँ पुरस्कारका साथ साथ ट्रफी,मेडल र प्रमाणपत्र हात पारिन्।

१ घण्टा ४९ मिनेटमा दूरी पार गरेकी पाँचथरकी अञ्जना लिम्बू दोस्रो भइन्। उनले ६३ हजार ५२५ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाइन्। महिलातर्फ भने प्रथम र द्वितीयका लागि मात्र पुरस्कारको व्यवस्था थियो।

सिदिङ्वा गाउँपालिकाका बासिन्दा मात्र दौडमा सहभागी हुन पाउने स्थानीय ट्रेल रन प्रतियोगितामा भने सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका भरत बानियाँले उपाधि जीते।

उनले १ घण्टा ३९ मिनेटमा दूरी पार गर्दै ३३ हजार ५२५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र हात पारे। स्थानीयतर्फ भने पहिलो हुनेलाई मात्र पुरस्कारको प्रबन्ध गरिएको थियो।

प्रकाशित: २५ भाद्र २०८३ १६:०० बिहीबार