गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिन हुने भएको छ।
गखेपले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरबाही र मिलेमतोको छानबिन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्यीय छानबिन समिति बनाएको हो।
मन्त्री स्तरीय निर्णयले बनेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सचिव शेषनारायण पौडेल रहेका छन् भने सदस्यमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला रहेको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले जानकारी दिइन्।
छानबिन समितिलाई ५ दिनको समय दिइएको छ। ‘छानबिन समितिलाई छिटोभन्दा छिटो छानबिन गरेर प्रतिवेदन बनाउन भनिएको छ’,मन्त्री गुरुङले भनिन्,‘त्यसका लागि कार्यादेश बनिरहेको छ।’
पदक वितरणमा भएको अनियमितताबारे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि ध्यानाकर्षण भएको मन्त्री गुरुङले बताइन्। ‘उहाँकै निर्देशनमा छानबिन समिति बनेको हो’,उनले भनिन्,‘पदक वितरणमा भएको अनियमिततालगायत सबै विषयमा छानबिन गर्न भन्नुभएको छ। सोही अनुसार छानबिन समिति बनाएका छौँ।’
छानबिन समितिका संयोजक तथा मन्त्रालयका सचिव शेषनारायण पौडेलले साउन २९ गते सम्मको म्याद राखेर छानबिन गर्न जिम्मेवारी दिएको जानकारी दिए। यद्यपि समितिको कार्यादेश बन्ने क्रममा रहेको उनको भनाई छ।
‘हामीलाई दिइएको समय सीमा भित्र छानबिन गर्ने प्रयास गर्छौँ’,उनले भने,‘पदक वितरणको कार्यविधि हेरेर सो अनुसार भए नभएको, पदक सिफारिस गर्दा अपनाएको पारदर्शिता लगायतबारे सबै केलाएर प्रतिवेदन तयार गर्छौँ।’
सेटिङमा पदक वितरण गरेको आरोप लागेका शर्मा भने यता छानबिन समिति बनेपछि काठमाडौं हान्निएका छन्। छानबिन समितिलाई सहयोग गर्नुको सट्टा उनी दसौँ राष्ट्रिय खेलकुदको बैठकमा सहभागी हुन भन्दै काठमाडौं गएका हुन्।
साउन २८ गते बस्ने बैठकमा सहभागी हुन उनी ४ दिन अघि नै काठमाडौं गएपछि मन्त्री रेखा गुरुङले चासो राखेकी छन्। मन्त्री गुरुङले आफैले फोन गरेर पदक वितरणमा भएको लापरबाही र मिलेमतोको विषय चर्किरहेका बेला त्यसको समाधानमा खटिन छाडेर किन काठमाडौं गएको भनेर सोधेको बताएकी छन्।
‘जवाफमा केही पनि नबोली फोन काट्नुभयो’,उनले भनिन्। तर छानबिन समिति बनेपछि सदस्य सचिव निलम्बनमा पर्छन् कि पर्दैनन् भन्ने अन्योल देखिएको छ। त्यसबारे मन्त्री परिषद्ले नै निर्णय गर्नुपर्ने समितिका एक सदस्यले बताए।
गखेप सदस्य सचिव श्रीधर शर्माले सेटिङमा पदक वितरण गरेको आरोप लागेको छ। उनले पदक सिफारिस समितिको निर्णय विपरीत पदक वितरण गरेको, आफ्नो मान्छेलाई पदक दिएको, कार्यविधि विपरीत पदकसँगै रकमसमेत वितरण गरेको लगायतका आरोप लागेको छ।
गखेपले वितरण गरेको पत्रकारितातर्फको पदक गखेपका वर्तमान सल्लाहकार तथा संघसंस्था समन्वय उपसमिति संयोजक केशव पाठकलाई प्रदान गरिएको छ। पदक सिफारिस समितिका आमन्त्रित सदस्य पाठकले आफैलाई पदक सिफारिस गरेर पदक लिएका हुन्।
उनले जुन आर्थिक वर्ष २०८१/८२ को पदक लिएका छन् त्यो वर्ष उनी गखेपको बोर्ड सदस्य तथा निमित्त सदस्य सचिवसमेत भएका थिए। सदस्य सचिव श्रीधर शर्मा चीन भ्रमणमा गएका बेला पाठक निमित्त सदस्य सचिव बनेका थिए।
त्यति मात्र होइन पदक सिफारिस समितिका आमन्त्रित सदस्यद्वय हरि पराजुली र चित्रबहादुर थापालेसमेत आफ्नो संघलाई पदक दिलाएका थिए। पराजुलीले आफू निवर्तमान अध्यक्ष रहेको भूतपूर्व खेलाडी मञ्च र थापाले आफू अध्यक्ष रहेको ह्याण्डबल संघलाई पदक दिलाएका हुन्।
पदक सिफारिस समितिका संयोजक तथा सदस्यहरूले आफूहरूले पदक वितरणका लागि कसेको नाम पनि सिफारिस नगरेको जिकिर गर्दै आएका छन्। तर सदस्य सचिव शर्माले भने सिफारिस समितिकै आधारमा पदक वितरण गरेको दाबी गर्दै आएका छन्।
उनले सिफारिस समितिको निर्णय पुस्तिकामा योजकसहित अन्य सदस्यहरूको हस्ताक्षर रहेको दाबी गर्दै देखाउने गरेका छन्। तर सिफारिस समितिका संयोजक मदन केसीलगायतले त्यसलाई अस्वीकार गर्दै आएका छन्।
संयोजक केसीले आएका आवेदनहरूको प्रारम्भिक छनौट गरेर थप आवेदन माग्न सुझाव दिएको बताए। ‘हामीले आवेदन थप गर्न दिएको सुझावलाई निर्णयमा नलेखी पदक वितरण गर्ने भनेर लेख्न लगाएछन्’,उनले थपे,‘कि त त्यो निर्णयमा गरेको हस्ताक्षर किर्ते हो, कि चाहिँ पहिल्यै हस्ताक्षर गर्न लगाएर सदस्य सचिव शर्माले आफू अनुकूल निर्णय लेखेका हुन्, यसको छानबिन हुनुपर्छ।’
गखेप सदस्य सचिव शर्माले जेनजी आन्दोलनका बेला पदक सिफारिस समितिको बैठक बसेको भनेर अनौठो दाबी गर्दै आएका छन्।
देशभर जेनजी आन्दोलन चलेको दिन भदौ २३ गते पहिलो बैठक बसेको तथा भदौ २४ गतेको तोडफोड र आगजनीपश्चात् देशभर कर्फ्यु लागेको दिन भदौ २५ गते दोस्रो बैठक बसेको उनको दाबी छ।
उनको दाबीमा स्वयम् पदक सिफारिस समितिका संयोजक तथा सदस्यहरू सहमत छैनन्। पोखरासहित देशभर कर्फ्यु लाग्नुका साथै गखेपको कार्यालय रहेको पोखरा रंगशाला बन्द रहेका दिन बैठक बस्नै नसक्ने उनीहरूको जिकिर छ। तर माईन्यूट पुस्तिकामा हस्ताक्षर देखेपछि उनीहरू आफै चकित परेका छन्।
उसो त पदक वितरणमा भएको गल्ती सदस्य सचिव शर्माले स्विकारी सकेका छन्। गत बिहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा शर्माले गल्ती स्विकार्दै माफी मागेको पदक सिफारिस समितिका संयोजक मदन केसी, सदस्यहरू हरि पराजुली र चित्रबहादुर थापाले बताएका हुन्।
उनले पदक वितरणमा गल्ती भएको प्रति माफी मागेर पुनः गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै २०८२/८३ को पदक सिफारिस समितिमा पुरानै सदस्य तथा संयोजक दोहोर्याउने भनेर फकाउने प्रयास गरेका थिए।
जसलाई पदक सिफारिस समितिका सदस्यहरूले स्विकारेर ‘हामी मिल्यौँ’भन्न थालेका छन्। सोही दिन पत्रकारसँग कुरा गर्दै संयोजक केसीले भनेका थिए,‘सदस्य सचिव ज्यूले माफी मागेर गल्ती नदोहोर्याउने भन्नुभयो, पुरानै पदक सिफारिस समितिलाई निरन्तरता दिने भनेपछि कुरा मिल्यो।’
पदक वितरणमा भएको सेटिङ मात्र होइन, आर्थिक अनियमितता भएको पनि आशंका बोर्ड सदस्यहरूले गरेका छन्। पदक प्राप्त गरेका केशव पाठकले नै पदक खरिद गरेर ल्याएको, पदक खरिदमा कमिसन खाएको मात्र होइन, पदक लिन जाँदाको दैनिक भत्ता (यातायात, खाना र बस्ने) खर्चसमेत कुम्ल्याएको स्रोतको दाबी छ।
यसबारे पनि छानबिन हुने छानबिन समितिका एक सदस्यले बताए। उनले भने,‘यी सबै कुराको हामी छानबिन गर्छौँ।’
गखेपले खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा साही, आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, अन्र्तराष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन, असिम शेरचन, क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु र संघसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई २०८१/८२ को खेलकुद पदक वितरण गरेको थियो।
त्यसबाहेक सर्वोत्कृष्ट प्रदेश खेलबाट गण्डकी प्रदेश टेनिस संघलाई नगद १ लाख २० हजारसहित सम्मान गरिएको थियो भने गण्डकी प्रदेश ह्याण्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघलाई उत्कृष्ट खेल संघ घोषणा गर्दै नगद ९०÷९० हजारसहित सम्मान गरिएको थियो।
प्रकाशित: २५ श्रावण २०८३ १८:३१ सोमबार