नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले दोस्रो संस्करणको एनपीएललाई खेलाडीको स्क्वाड पूरा गरेको छ।
देशकै राजधानीको टोली गुर्खाजले १८ जना खेलाडीलाई समेट्दै स्क्वाड पूरा गरेको हो। काठमाडौंले ६ जना विदेशी तथा एक जना खेलाडीलाई टयालेन्ट हन्टबाट छानेपछि टोली पूरा गरेको हो । एनपीएलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई टोलीमध्ये काठमाडौं एक हो।
टोलीको मुख्य प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाई छन्। उनलाई नेपाली क्रिकेट जगतले सफल प्रशिक्षकका रुपमा चिन्छ। त्यस्तै, मोन्टीलाई पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षक रहेका वसन्त शाही ठकुरीले साथ दिनेछन्।
टोलीको मार्की खेलाडी यसपटक पनि करण केसी नै छन्। उनले एनपीएल सिजन-१ मा कप्तान र मार्की दुवैको भूमिका निभाएका थिए। काठमाडौंले उनीसहित पाँच जना खेलाडीलाई रिटेन गरेको छ। जसमा भीम शार्की, रसिद खान, प्रतिक श्रेष्ठ, शाहब आलम र दिपेश कँडेल छन्। यस अर्थमा यी खेलाड यो वर्ष पनि एनपीएल काठमाडौं गुर्खाजबाट खेल्ने छन्।
यता, काठमाडौं यो पटक भाग्यमानी सावित भएको छ। सबै ८ वटा टोलीले मिनी अक्सनमा आदिल आलम माथि बोली लगाएका थिए। सबैले बोली लगाएका आलमलाई काठमाडौंले भित्र्याउन सफल भएको छ । आलमलाई सबै टोलीले १५ लाखको बोली लगाउँदा काठमाडौंले लक्की ड्रमार्फत भित्र्याउन सफल भयो ।
त्यस्तै, मिनी अक्सनबाट काठमाडौंले उत्तम मगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादवलाई अनुबन्ध गर्यो।
काठमाडौं आउँदो एनपीएलमा स्क्वाड पूरा गर्ने पहिलो टोली बनेको छ। काठमाडौंले अनुबन्ध गरेको ६ खेलाडीमध्ये पाँच जनाले पहिलो पटक एनपीएल खेल्दै छन् । एक जनाले पहिलो संस्करणको एनपीएल खेलिसकेका छन्।
जेरार्ड एरासमसले दोस्रो पटक एनपीएल खेल्दै छन् भने, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल र मिलिन्द कुमारले पहिलो पटक एनपीएलमा सहभागीता जनाउँदै छन्।
टयालेन्ट हन्टबाट काठमाडौंले नटराजन शाहलाई छनोट गरेको छ ।
पहिलो संस्करणको एनपीएलमा काठमाडौं टप ४ मा पर्न असफल भएको थियो। नेटरनरेटले पछि परेको काठमाडौंसँगै कर्णाली याक्स र चितवन राइनोजको समान ८- ८ अंक थियो। तर, यी दुवै टोली काठमाडौंभन्दा नेटरनरेटको आधारमा अगाडि भएको कारण टप ४ मा पुगेका थिए।
प्रकाशित: २३ कार्तिक २०८२ १७:३३ आइतबार