भदौ २५ गते आयोजना हुने तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितालाई यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ। भारतसहित नेपालका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका धावकहरूले सहभागिता जनाउने भएपछि प्रतियोगितालाई अन्तर्राष्ट्रिय ट्रेल रनका रूपमा अघि बढाइएको आयोजक तिम्बुङ पोखरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिए।
प्रतियोगितासँगै समुद्र सतहबाट ४ हजार २ सय मिटर उचाइमा केलाङ नृत्य प्रदर्शन, याक तथा चौँरी र भेडा प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा तिम्बुङ पोखरी आसपास र भारततर्फका लक्ष्मी पोखरीलगायत क्षेत्रको अवलोकन भ्रमणसमेत आयोजना गरिने भएको छ। आयोजकका अनुसार ४ हजार २ सय मिटर उचाइमा हुने केलाङ नृत्य हालसम्मकै उच्च स्थानमा आयोजना हुने दाबी गरिएको छ।
तिम्बुङ पोखरी क्षेत्रलाई पदमचाल (केञ्जो) को राजधानी घोषणा गर्ने उद्देश्यले भदौ २४ गते सिदिङ्वा गाउँपालिकाको कार्यपालिका बैठकसमेत तिम्बुङ पोखरीमै बस्ने भएको छ। प्रतियोगितामा अर्जुन कुलुङ, धिरज बुढा मगरलगायत चर्चित धावकहरूले सहभागिताका लागि सम्पर्क गरिसकेका छन्।
धावकको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, प्रतियोगिताको अघिल्लो दिनदेखि दुई दिनसम्म खानबस्नको व्यवस्था आयोजकले गर्नेछ। यसका लागि दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिता सम्पन्न गर्न १९ लाख २६ हजार १ सय ५० रुपैयाँ लागत अनुमान गरिएको छ भने सिदिङ्वा गाउँपालिकाले १३ लाख र पर्यटन कार्यालय काँकडभिट्टाले ४ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ।
यस वर्ष पुरस्कार राशि पनि बढाइएको छ। खुला र महिलातर्फ समान दूरीको दौड हुनेछ। खुलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८३ हजार ५२५, ६३ हजार ५२५ र ४३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। महिलातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ८३ हजार ५२५ र ६३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा महिलाको सहभागिता कम हुने भएकाले तृतीय पुरस्कार नराखिएको आयोजकले जनाएको छ।
सिदिङ्वा गाउँपालिकाभित्रका बासिन्दाका लागि छुट्टै स्थानीय ट्रेल रन प्रतियोगिता हुनेछ। स्थानीयतर्फ प्रथम हुनेले ३३ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
४ हजार ३ सय ४० मिटर उचाइको तिम्बुङ पोखरी क्षेत्रबाट सुरु हुने मुख्य ट्रेल रन ३ हजार ८ सय मिटर उचाइको पाङदुवामा झरेर पुनः ४ हजार २ सय मिटर उचाइको ठूलो भञ्ज्याङ उक्लिएपछि पूरा हुनेछ। कुल दौड दूरी २१ किलोमिटर रहनेछ। यसअघि दोस्रो संस्करण पनि २१ किलोमिटरको थियो भने पहिलो संस्करण ७.८ किलोमिटरमा आयोजना गरिएको थियो।
पदमचाल (केञ्जो) को आकर्षण र तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ। यसै क्रममा तिम्बुङ पोखरीसहित ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्याउने ताप्लेजुङ र पाँचथरका एक पत्रकारलाई ३० हजार रुपैयाँसहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। अघिल्लो वर्ष घोषणा भएर वितरण हुन नसकेको पुरस्कारसमेत यस वर्ष पत्रकार महासंघ ताप्लेजुङका पूर्वसभापति किशोरकुमार राईलाई दिने र यस वर्षका पुरस्कृत पत्रकारलाई समेत जनही ३० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
सिदिङ्वा गाउँपालिका प्रतियोगिताको मुख्य प्रवद्र्धक रहेको छ।
प्रकाशित: १७ भाद्र २०८३ १५:१३ बुधबार