खेल

तेस्रो तिम्बुङ पोखरी ट्रेल भदौ २५ गते

भदौ २५ गते हुने तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशीमा साविकभन्दा वृद्धि गरिएको छ। खुल्ला र महिलातर्फका विजेताले पाउने पुरस्कार राशीलाई समान बनाइएको छ।

आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईका अनुसार खुल्लातर्फका विजेताले ८३ हजार ५२५ रुपैयाँ, उपविजेताले ६३ हजार ५२५ रुपैयाँ र तृतीय हुनेले ४३ हजार ५२५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्। महिलातर्फ भने विजेता र उपविजेताका लागि मात्र पुरस्कार रकम राखिएको राईले जानकारी दिए।

महिलातर्फ प्रतिश्पर्धीको संख्या कम हुने भएकोले प्रथम र द्धितीय पुरस्कार मात्र राखिएको राईले बताए। खुल्ला र महिलातर्फ समान दूरीको दौड हुने छ। महिलातर्फका विजेताले खुल्लातर्फ बराबर विजेताले ८३ हजार ५२५ रुपैयाँ र उपविजेताले ६३ हजार ५२५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्। सिदिङ्वा गाउँपालिकाका बासिन्दा मात्र दौडमा सहभागी हुन पाउने स्थानीय ट्रेल रन प्रतियोगिताका लागि भने प्रथमले मात्र पुरस्कार पाउने भएका छन्।

आयोजक संस्थाका अध्यक्ष राईका अनुसार स्थानीय ट्रेल रन प्रतियोगिताका विजेताले ३३ हजार ५२५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३५ हजार तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए। उतिबेला महिलातर्फ भने प्रथम हुनेलाई मात्र पुरस्कार दिइएको थियो।

महिलातर्फका विजेताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका थिए। स्थानीयतर्फ (सिदिङ्वा गाउँपालिका भित्रका) प्रथम हुनेलाई नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिईएको थियो। समुद्र सतहबाट ४ हजार ३ सय ४० मिटर उचाइको तिम्बुङ पोखरी क्षेत्रबाट हुने ट्रेल रन प्रतियोगिता ३ हजार ८ सय मिटर उचाइको पाङदुवामा झरी फेरि ४ हजार २ सय मिटर उचाइको ठूलो भञ्ज्याङमा आएपछि दौड दूरी पूरा हुने छ।

पोखरी क्षेत्रबाट पाङदुवामा झरी फेरि ठूलो भञ्ज्याङ उक्लदा दौडको दूरी करिब १५ किलोमिटर हुने छ। कूल २१ किलोमिटर दूरीमा ट्रेल रन प्रतियोगिता हुने छ। दोस्रो तिम्बुङ पोखरी ट्रेल रनको दूरी पनि यति नै थियो। प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा भने ट्रेल रन दूरी ७.८ किमी रहेको थियो। पदमचाल अर्थात् केञ्जोको ‘हव’तिम्बुङ पोखरी क्षेत्रको प्रवर्द्धनका लागि ट्रेल रन प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिए।

प्रथम र दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भने भदौ २६ गते भएको थियो। तिम्बुङ पोखरी पदमचाल अर्थात् केञ्जोको राजधानी मानिएको र भदौ महिनामै केञ्जोको आकर्षणमा बढी हुने भएकोले उक्त समयमै तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना गरिएको राईले बताए।

राईका अनुसार यस वर्ष पनि तिम्बुङ पोखरीसहितका पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनमा योगदान पुर्याउने एक पत्रकारलाई नगद ३० हजार रुपैयाँसहित पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिने छ। भदौ महिनामा चलेको जेनजी आन्दोलनसहितका कारणबाट अघिल्लो वर्ष घोषणा गरेर पनि पत्रकारिता पुरस्कार वितरण गरिएको थियो।

अघिल्लो वर्ष पत्रकार महासंघ ताप्लेजुङका पूर्व सभापति किशोरकुमार राईले पुरस्कार पाउने गरी घोषणा गरिएको थियो। अघिल्लो वर्ष पुरस्कारका लागि घोषणा गरिएका राई र यस वर्ष पुरस्कृत हुने एकजनालाई जनही नगद ३०–३० हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिए।

यो पुरस्कार ताप्लेजुङ र पाँचथरका पत्रकार केन्द्रित हुने समेत उनले जानकारी दिए। सिदिङ्वा गाउँपालिका र पर्यटन कार्यालय काकडभिट्टाले पोखरी ट्रेल रन प्रतियोगिताका लागि आर्थिक सहयोग गरेका छन्। ट्रेल रन संगै याक चौंरीको प्रदर्शनी, केलाङ नृत्य र पदमचालले भरिएको क्षेत्रको भ्रमणलाई आयोजकले मुख्य आर्कषण मानेको छ।

प्रकाशित: ९ भाद्र २०८३ ११:१० मंगलबार