खेल

तेस्रो ताप्लेजुङ गोल्डकपका लागि सहयोग रकम जुट्न थाल्यो

साउन २४ गतेदेखि ताप्लेजुङमा हुने तेस्रो ताप्लेजुङ गोल्डकपका लागि सहयोग रकम जम्मा हुन थालेको छ । 

संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग रकम उठ्न थालेको आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन(प्याब्सन)ताप्लेजुङले संस्थागत रुपमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । व्यक्तिगततर्फ समेत धमाधम सहयोग रकम लाखेजात्रा सञ्चालन समितिको खातामा जम्मा हुन थालेको कोषाध्यक्ष शेर्पाले जानकारी दिए ।

लाखेजात्रा सञ्चालन समितिले खेल सञ्चालन स्थल भानुजन माविको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गर्न थालेको छ । बाँसद्वारा निर्मित अस्थायी प्याराफिट र खेलमैदानमा रहेको स्थायी प्याराफिटमा खेल अवलोकन कर्तालाई बस्ने प्रबन्ध गरिने शेर्पाले जानकारी दिए ।

लाखेजात्रा सञ्चालन समितिले गोल्डकपका विजेता र उपविजेता सहित विधागततर्फ प्रदान हुने पुरस्कार र खेलमा सहभागी हुने टिमको निर्णय गर्ने तयारी गरेको छ । उक्त निर्णयपछि पत्रकार सम्मेलनमार्फत अहिलेसम्मको तयारी समेतका बारेमा जानकारी दिने प्रयत्न भइरहेको शेर्पाले जानकारी दिए । 

प्रकाशित: ३० असार २०८२ १५:०४ सोमबार

#NagarikNews