नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण भोलि (सोमबार) बाट राजधानीमा सुरु हुँदैछ।
क्रिकेटको यस महाकुम्भले नेपाली क्रिकेटमा एक नयाँ अध्याय पनि कोर्दैछ। यसपटकको प्रतियोगिता थप विशेष र ऐतिहासिक बन्दैछ, किनकि पहिलो पटक नेपालको भूमिमा व्यावसायिक फ्रेन्चाइज लिगका खेलहरू फ्लडलाइटमा, अर्थात् रात्रिकालीन समयमा आयोजना हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगितामा कुल ८ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट संघ (क्यान) देखि फ्रेन्चाइज टोली र खेलाडीहरू, सबैजना फ्लडलाइटको उज्यालोमा नयाँ इतिहास रच्न उत्साहित छन्।
प्रतियोगिताको रौनक बढ्दै गर्दा, सबैको नजर गत संस्करणका दुई फाइनलिस्ट- विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्समाथि टिकेको छ।
एउटा टोली उपाधि रक्षाको दबाबमा छ भने अर्को टोली गत वर्षको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ। आउनुहोस्, यी दुई शक्तिकेन्द्रको तयारी र रणनीतिको गहिरो विश्लेषण गरौं।
पुरानो घाउमा मलम लगाउँदै उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम
पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा आफ्नो सनसनीपूर्ण प्रदर्शनले सबैको ध्यान खिच्न सफल टोली थियो- सुदूरपश्चिम रोयल्स। लिग चरणदेखि नकआउटसम्मका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको सुदूरपश्चिम उपाधि भिडन्तमा भने जनकपुर बोल्ट्ससँग स्तब्ध बन्न पुग्यो।
त्यो हारको घाउ अझै पनि टोलीका लागि ताजै छ। तर, दोस्रो सिजनमा राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स त्यो गल्ती दोहोर्याउने पक्षमा छैन। यसपटक टोलीको एउटै मात्र अर्जुनदृष्टि छ- उपाधि।
मुख्य प्रशिक्षक जगत टमाटाको मार्गदर्शनमा सुदूरपश्चिमले आफ्नो तयारीलाई निकै अघि बढाएको छ। केही टोलीहरू विदेशमा प्रशिक्षणमा व्यस्त रहँदा सुदूरपश्चिमले भने घरेलु वातावरणमै, काठमाडौंको त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा आफ्नो बल र ब्याटको धार तिखारिरहेको छ।
गत सिजन टोलीलाई फाइनलसम्म पुर्याएका अनुभवी प्रशिक्षक टमाटा यसपटक अझ बढी आशावादी देखिन्छन्।
‘हामीले अघिल्लो पटक पनि राम्रो खेलेका थियौँ, तर फाइनलमा केही रणनीतिक गल्तीहरूका कारण उपाधिबाट विमुख भयौं,’ प्रशिक्षक टमाटाले भने, ‘यसपटक हामीले ती कमजोरीहरूमाथि गहिरो विश्लेषण गरेका छौं। टोलीको सन्तुलन मिलाएर अझै राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेमा हामी विश्वस्त छौं।’
सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति भनेको मार्की खेलाडी तथा कप्तान दीपेन्द्रसिंह ऐरी हुन्। उनी बल, ब्याट र फिल्डिङ तीनै विधामा खेलको पासा पल्टाउन सक्ने क्षमता राख्छन्।
डेढ महिना लामो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर हालै मात्र स्वदेश फर्किएका ऐरीले यसपटक आफ्नो टोली निकै सन्तुलित रहेको दाबी गर्छन्।
टोलीले आफ्नो कोर टिमलाई जोगाइराख्न सफल भएको छ। ऐरीसँगै राष्ट्रिय टोलीका अनुभवी विकेटकिपर-ब्याट्सम्यान विनोद भण्डारी, तीव्र गतिका बलर अविनाश बोहरा, अलराउन्डर आरिफ शेख, र युवा ब्याट्सम्यान इशान पाण्डे तथा नरेन साउदलाई टोलीले रिटेन गरेको छ।
मिनी अक्सनबाट सुदूरपश्चिमले हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, टेक रावत र दीपेन्द्र थापा जस्ता युवा प्रतिभालाई भित्र्याएर बेन्चलाई पनि बलियो बनाएको छ।
राष्ट्रिय टोलीमा लामो अनुभव सँगालेका विनोद भण्डारी दोस्रो सिजनका लागि निकै उत्साहित देखिन्छन्। ‘घरेलु प्रतियोगिता हुँदा एकदमै खुसी लाग्छ, अझ नेपाल प्रिमियर लिग जस्तो ठूलो प्रतियोगिता समयमै हुन लाग्नु क्रिकेटका लागि सुखद पक्ष हो। म एनपीएल खेल्न निकै नै उत्साहित छु,’ विनोदले भने।
त्यस्तै, टोलीका प्रमुख तीव्र गतिका बलर अविनाश बोहरा यसपटकको संस्करण अझ भव्य हुनेमा विश्वस्त छन्। ‘पहिलो पटक फ्लडलाइटमा खेल हुँदैछ, यसले प्रतियोगितालाई अझै रोचक र चुनौतीपूर्ण बनाउनेछ,’ उनी भन्छन्, ‘हाम्रो तयारी पनि एकदमै राम्रो भइरहेको छ, र हाम्रो एकमात्र लक्ष्य उपाधि जित्ने हो।’
सुदूरपश्चिमले यसपटक विदेशी खेलाडी अनुबन्धमा विशेष ध्यान दिएको छ। गत सिजन उत्कृष्ट प्रदर्शन गरेका न्यूजिल्यान्डका अलराउन्डर स्कट कुग्लेजन र भारतीय स्पिनर हर्मित सिंहलाई टोलीले निरन्तरता दिएको छ।
कुग्लेजनले गत सिजन ९ खेलमा १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा आफूलाई उभ्याएका थिए भने हर्मितको अलराउन्ड प्रदर्शन प्रशंसनीय थियो।
यी दुईसँगै टोलीले अस्ट्रेलियन टी-२० क्रिकेटका दुई विध्वंसक ब्याट्सम्यान क्रिस लिन र जोस ब्राउनलाई अनुबन्ध गरेर आफ्नो ब्याटिङ लाइनअपलाई विस्फोट बनाउने संकेत दिएको छ।
लिन र ब्राउन बिग ब्यास लिगका सुपरस्टार हुन्। ‘पहिलो संस्करणमा कता-कता ब्याटिङमा केही कमी महसुस भएको थियो। यसपटक त्यो ग्यापलाई पूरा गर्न हामीले विश्वस्तरीय ब्याट्सम्यानहरूलाई भित्र्याएका छौं,’ प्रशिक्षक टमाटाले आफ्नो रणनीतिक योजना खोले।
सुदूरपश्चिमले आफ्नो पहिलो खेल मंसिर ३ गते काठमाडौं गोर्खाजसँग खेल्नेछ। फ्लडलाइटमा खेल्ने अनुभव धेरै नेपाली खेलाडीका लागि नयाँ हुनेछ। जसलाई विनोद भण्डारी एक अवसर र चुनौती दुवै मान्छन्।
‘रात्रिकालीन खेल पहिलो पटक हुन लागेको छ, यो गर्वको कुरा हो। हामीले त फ्लडलाइटमा खेलेका छौं, तर यो प्रतियोगितामा खेल्ने धेरै नयाँ खेलाडीहरूका लागि यो नयाँ अनुभव हुनेछ। यसले खेललाई अझै प्रतिस्पर्धात्मक बनाउनेछ,’ उनले भने।
उपाधि रक्षाको कठिन चुनौतीसहित मैदान उत्रँदै जनकपुर बोल्ट्स
एनपीएलको पहिलो संस्करणको फाइनल सायदै कसैले भुल्न सक्छ। लिग चरणमा सामान्य प्रदर्शन गरेको र प्लेअफमा पनि पराजित भएको जनकपुर बोल्ट्सले फाइनलमा सबै अनुमानलाई गलत साबित गर्दै सुदूरपश्चिमलाई पराजित गर्यो र पहिलो संस्करणको ट्रफीमा आफ्नो नाम लेखाएर इतिहास रच्यो। त्यो जित केवल भाग्यले थिएन, बरु सही समयमा गरिएको सामूहिक प्रदर्शन र रणनीतिको उपज थियो।
अब दोस्रो संस्करणमा अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्समाथि उपाधि रक्षाको ठूलो दबाब र चुनौती छ। राजा जनकको सहरको प्रतिनिधित्व गर्ने यो टोलीले यसपटक पनि आफूलाई उपाधिको प्रमुख दाबेदारको रूपमा उभ्याउन कुनै कसर बाँकी राखेको छैन।
जनकपुरले आफ्नो तयारीलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ। टोलीले लामो समय भारतको चेन्नईमा रहेको विश्वप्रसिद्ध ‘चेन्नई सुपर किंग्स एकेडेमी’ मा प्रशिक्षण गरेर आफ्नो कौशललाई निखारेको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, यसपटक जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी वेस्ट इन्डिजका लिजेन्ड ब्याट्सम्यान शिवनारायण चन्द्रपाउलले सम्हालेका छन्। उनको अन्तर्राष्ट्रिय अनुभव र रणनीतिक ज्ञानले टोलीलाई थप बलियो बनाउने निश्चित छ।
जनकपुरले पनि आफ्नो विजयी कोर टिमलाई कायम राखेको छ। मार्की खेलाडी तथा राष्ट्रिय टोलीका भरपर्दा ओपनर आसिफ शेख, कप्तान अनिल साह, स्पिनका जादुगर ललित राजवंशी, तीव्र गतिका बलर किशोर महतो र रुपेश सिंह, साथै शुभ कंसाकार र तुल बहादुर थापालाई टोलीले रिटेन गरेको छ।
मार्की खेलाडी आसिफ शेख आफ्नो टोली हरेक चुनौतीको सामना गर्न तयार रहेको बताउँछन्। ‘हामी अन्तर्राष्ट्रिय ड्युटीमा बाहिर हुँदा पनि टोलीका अन्य खेलाडीले भारतमा गएर उच्च स्तरको प्रशिक्षण गर्नुभएको छ,’ शेख भन्छन्, ‘हाम्रो टोली बलिङ, ब्याटिङ र फिल्डिङ, सबै पक्षबाट अन्य टोलीसँग प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार छ।’
मिनी अक्सनबाट जनकपुरले मयन यादव, सचिन भट्ट, विकास आग्री र आदित्य महता जस्ता युवा खेलाडीलाई खरिद गरेर टोलीलाई थप सन्तुलित बनाएको छ।
स्पिनर ललित राजवंशी यसपटकको प्रतिस्पर्धा अझ कठिन हुने स्वीकार्छन्। ‘यसपटक सबै टोलीहरू झनै बलियो भएर आउनुभएको छ। सबैको एउटै लक्ष्य हुन्छ उपाधि जित्ने,’ उनी भन्छन्, ‘पहिलो संस्करणभन्दा यसपटक एनपीएल अझै बढी प्रतिस्पर्धात्मक हुनेछ।’
जनकपुरले विदेशी खेलाडी छनोटमा अनुभवलाई प्राथमिकता दिएको छ। श्रीलंकाका विकेटकिपर-ब्याट्सम्यान लाहिरु मिलान्था, दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर वायने पार्नेल र विश्व टी-२० क्रिकेटका लेजेन्ड स्पिनर इमरान ताहिरलाई अनुबन्ध गरेर टोलीले आफ्नो बलिङ आक्रमणलाई विश्वस्तरीय बनाएको छ।
साथै, भारतका सञ्जय कृष्णमूर्ति पनि टोलीमा छन्। पार्नेलको पेस र ताहिरको गुगलीले कुनै पनि ब्याटिङ लाइनअपलाई ध्वस्त पार्न सक्ने क्षमता राख्छ।
‘हामीले सिजन एकको उपाधि जित्यौं, तर त्यो इतिहास भइसक्यो। यसपटक हरेक टोलीले राम्रा विदेशी खेलाडीहरू ल्याएका छन्, त्यसैले सबै खेल चुनौतीपूर्ण हुनेछन्। हामीमाथि उपाधि जोगाउने चुनौती छ, र हामी त्यसका लागि तयार छौं,’ ललितले थपे।
डिफेन्डिङ च्याम्पियनको नाताले जनकपुरले प्रतियोगिताको उद्घाटन खेल खेल्दैछ। सोमबार हुने पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमै जित निकालेर सुखद सुरुवात गर्ने दबाब टोलीमाथि हुनेछ।
क्रिकेट अनिश्चितताको खेल हो मैदानमा बन्ने हरेक बलको रणनीतिले खेलको नतिजा निर्धारण गर्छ। सुदूरपश्चिम बदलाको भावना र नयाँ शक्तिका साथ मैदान उत्रँदैछ भने जनकपुर आफ्नो साख जोगाउन र उपाधि रक्षा गर्न कटिबद्ध छ।
दुवै टोलीले आफ्नो तयारीलाई अन्तिम रूप दिइसकेका छन्। अब प्रतीक्षा छ त केवल सोमबारको, जब फ्लडलाइटको उज्यालोमा क्रिकेटको महाकुम्भ सुरु हुनेछ र यी दुई महारथीको वास्तविक परीक्षा मैदानमा हुनेछ।
प्रकाशित: ३० कार्तिक २०८२ १७:०७ आइतबार