स्टार स्ट्राइकर किलियन एमबाप्पेको फ्रान्स र इर्लिङ हालान्डको नर्वे जारी फिफा विश्वकपको समूह ‘आई’ मा शीर्ष हुने लक्ष्यसहित शुक्रबार आमनेसामने हुँदै छन्। यस खेलको मुख्य आकर्षण विश्व फुटबलका दुई सुपर स्टार हालान्ड र एपबाप्पे रहनेछन्।
हालान्ड र एमबाप्पे अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै यस विश्वकपको गोल्डेन बुट दौडमा देखिन्छन्। रोमाञ्चक प्रतिस्पर्धामध्ये एक यही खेल हुने समर्थकको आशा छ। इराकविरुद्ध दुई गोल गरेका हालान्डले सेनेगलमाथिको ३–२ को जितमा पनि दुई गोल थपे। उनी उत्कृष्ट लयमा देखिन्छन्। फ्रान्सविरुद्ध पनि दुई वा सोभन्दा बढी गोल गर्न सके उनी विश्वकप इतिहासमा आफ्नो पहिलो तीन खेलमा लगातार दुई वा बढी गोल गर्ने तेस्रो खेलाडी बन्नेछन्। यसअघि सन् १९३० मा अर्जेन्टिनाका गुइलेर्मो स्टाबिले र सन् १९५४ मा हंगेरीका सान्दोर कोचिसले यस्तो उपलब्धि हासिल गरेका थिए। एमबाप्पेले पनि इराकविरुद्ध ३–० को जितमा दुई गोल गर्दै विश्वकपमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन्।
खराब मौसमका कारण १३० मिनेट रोकिएको उक्त खेलपछि एमबाप्पेको विश्वकप गोल संख्या १६ खेलमा १६ पुग्यो। फ्रान्स र नर्वे अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका टोली हुन्। तर पनि यो खेल औपचारिकतामा सीमित रहने छैन। समूहविजेता बन्ने टोलीले नकआउट चरणमा तेस्रो स्थानमा रहने टोलीसँग खेल्ने अवसर पाउँछ। उपविजेताले समूह ‘ई’ को दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। उक्त समूहबाट आइभरी कोस्ट वा इक्वेडर दोस्रो स्थानमा रहने सम्भावना छ। फ्रान्सले भने यस खेलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सको साथ पाउने छैन। उनकी आमाको निधन भएपछि पे्रmन्च फुटबल महासंघले उनलाई अन्त्येष्टिमा सहभागी हुन स्वदेश फर्किने अनुमति दिएको छ।
उनको अनुपस्थितिमा सहायक प्रशिक्षक गाय स्टेफानले टोलीको नेतृत्व गर्नेछन्। नर्वेलाई पराजित गर्न सफल भए फ्रान्स विश्वकप इतिहासमा दोस्रोपटक समूह चरणका सबै तीन खेल जित्नेछ। यसअघि फ्रान्सले सन् १९९८ मा घरेलु मैदानमा भएको विश्वकपमा यस्तो उपलब्धि पाएको थियो र अन्ततः उपाधि पनि जितेको इतिहास छ।
नर्वेका लागि भने यो संस्करण विशेष रहँदै आएको छ। टोलीले यस विश्वकपमा जितेका दुई खेलले उनीहरूको अघिल्ला तीन विश्वकप सहभागिताका कुल जित बराबर गरिसकेको छ। नर्वेले सन् १९३८ मा कुनै खेल जित्न सकेको थिएन। १९९४ र १९९८ मा १÷१ खेल मात्र जितेको थियो। सेनेगलविरुद्ध सबै खेलाडी परिवर्तन प्रयोग गरिसकेपछि नर्वे अन्तिम समयमा चोट र मांसपेशी समस्याका कारण केही समय नौ खेलाडीमा सीमित हुन पुगेको थियो।
त्यसैले मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले फ्रान्सविरुद्ध टोलीमा केही परिवर्तन गर्ने संकेत दिएका छन्। ‘केही परिवर्तन हुनेछ। हामी जित्न चाहँदैनौं भन्ने होइन। तर खेलहरूबिचको छोटो अन्तराल र खेलाडीहरूको शारीरिक अवस्था हेर्दा अन्य खेलाडीलाई अवसर दिनुपर्ने अवस्था आएको छ,’ सोलबाकेनले भने,‘हामीसँग दुईवटा हवाई यात्रा पनि बाँकी छन्। त्यसैले अर्को खेलको सुरुआती टोली अनुमान गर्न अझ कठिन हुनेछ।’
नर्वेले डिफेन्डर जुलियन रायर्सनको फिटनेस अवस्थालाई पनि नजिकबाट निगरानी गरिरहेको छ। उनी सेनेगलविरुद्धको खेलको १३औं मिनेटमै चोटका कारण मैदान छाड्न बाध्य भएका थिए। यद्यपि उनको स्थानमा आएका मार्कस पेडर्सेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
फ्रान्सका मालो गुस्टो खुट्टाको चोटबाट निको भएर इराकविरुद्ध पहिलो पटक मैदानमा उत्रिएका थिए। त्यसैले उनी दायाँ रक्षकको स्थानमा जुल्स कुन्डेसँग प्रतिस्पर्धा गर्ने अवस्थामा छन्। नर्वे र फ्रान्सबिच यो १६औं भेट हुनेछ। दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१४ मा पेरिसमा मैत्रीपूर्ण खेलमा भएको थियो। त्यसमा फ्रान्स ४–० ले विजयी भएको थियो। प्रतिस्पर्धात्मक खेलहरूको इतिहास हेर्दा नर्वेले फ्रान्सविरुद्ध १० खेलमध्ये दुई खेल जितेको छ। फ्रान्समाथि नर्वेको पछिल्लो जित सन् १९८७ मा ओस्लोमा भएको युरोपियन च्याम्पियनसिप छनोट खेलमा २–० को नतिजासहित आएको थियो। विश्वकपमा नर्वेले अहिलेसम्म कुनै पनि युरोपेली राष्ट्रलाई पराजित गर्न सकेको छैन।
पाँच खेलमध्ये दुई बराबरी र तीन हारको नतिजा नर्वेको पक्षमा छ। फ्रान्सले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध खेलेका पछिल्ला पाँच विश्वकप खेल लगातार जितेको छ। इङ्ल्यान्ड, क्रोएसिया र बेल्जियमजस्ता बलिया टोलीलाई पनि फ्रान्सले पराजित गरेको छ। त्यसैले शुक्रबारको खेलमा नर्वेले फ्रान्सलाई सहज लिने छैन।
प्रकाशित: १२ असार २०८३ ०८:०७ शुक्रबार