ताप्लेजुङको तेल्लोकमा सिरिजङ्गा गोल्डकपको पाँचौ संस्करण आउँदो मंसिर २३ देखि २९ गतेसम्म हुने भएको छ ।
चौथो संस्करण पनि अघिल्लो वर्ष मंसिर २३ देखि २९ सम्म नै भएको थियो । आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार यसवर्ष ‘सिरिजङ्गा मेला’ले पनि निरन्तरता पाउने छ ।
अघिल्लो वर्ष सिरिजङ्गा गोल्डकपको चौथो संस्करणसँगै सिरिजङ्गा मेला पनि भएको थियो । साविक झैं यसवर्ष पनि सिरिजङ्गा गोल्डकपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित ८ वटा टिमको सहभागिता रहने छ ।
क्लबका अध्यक्ष भट्टराईले केहीदिनमा प्रतियोगताको सम्पूर्ण जानकारी दिन पत्रकार सम्मेलन गरिने बताए ।
किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकप हुँदै आएको छ । सिरिजङ्गासिंह थेबेलाई जातीय अस्थित्वका रक्षक, ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ ।
प्रकाशित: ८ आश्विन २०८२ २१:१० बुधबार