खेल

चौथो ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

आउँदो भदौ १२ गतेदेखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाइकल पुरस्कार पाउने भएका छन्।

यस वर्ष सर्वोत्कृष्ट खेलाडीले बजाज कम्पनीको मोटर पुरस्कार पाउने गरी लाखेजात्रा सञ्चालन समिति र बजाज कम्पनीबिच सम्झौता भएको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र बजाज कम्पनीका प्रमुख जर्नादन निरौलाबिच चौथो ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने गरी सम्झौता भएको छ।

सम्झौता अनुसार बजाजले चौथो ताप्लेजुङ गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले पाउने गरी एकथान मोटरसाइकल लाखेजात्रा सञ्चालन समितिलाई हस्तान्तरण गर्ने छ। अघिल्लो वर्षको सर्वोकृष्ट खेलाडी बन्दै सलहेश फुटबल क्लव सिराहाका छिरिङले यामाहाको मोटरसाइकल उपहार पाएका थिए।

आइतबार संघीय राजधानी काठमाडौंमा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष मणिशंकर पोमू, फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा, लाखेजात्रा सञ्चालन समिति तथा ताप्लेजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायण थापा तथा बजाज कम्पनीका प्रतिनिधिको उपस्थितिमा सम्झौता भएको हो।

प्रकाशित: १८ श्रावण २०८३ १२:१८ सोमबार