शनिबार साँझ घाम अस्ताएसँगै चिसो सिरेटो बढिरहँदा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको माहोल भने तातिएको थियो।
विराटनगर किङ्स लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको थियो। तब प्याराफिटमा उपस्थित हजारौँ दर्शकले एकसाथ आ–आफ्नो मोबाइलको ‘फ्ल्यास लाइट’ बाले। वरिपरि डाँडाले घेरिएको अन्धकारमा हजारौँ बत्तीहरू एकसाथ बल्दा लाग्थ्यो, आकाशका ताराहरू कीर्तिपुरको मैदानमा ओर्लिएका हुन्।
काठमाडौं गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमै पूरा गर्यो। ओपनर जर्ज मुन्सीले १६ बलमै ३६ रनको विष्फोटक पारी खेल्दै दर्शकको उत्साहलाई थप उचाईमा पुर्याएका थिए। मार्टिन गप्टिल २५ र नरेन भट्ट २४ को साथले विराटनगरले सहज जित निकाल्यो।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौं गोर्खाजको सुरुवात भने दर्शकको उत्साह जस्तो चम्किलो हुन सकेन। विराटनगरका तीव्र गतिका बलर मर्चेन्ट डी लांगेको आगो ओकल्ने बलिङसामु काठमाडौंको टप अर्डर धर्मरायो। २९ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा काठमाडौंका आदिल आलमले इनिङ सम्हाल्ने प्रयास गरे।
दर्शकको बाक्लो उपस्थितिका बिच दबाबमा खेलेका आदिलले अविजित ४८ रन बनाए पनि टोलीलाई जिताउन त्यो पर्याप्त भएन। आदिलले खेलपछि स्वीकार गरे, ‘हामी पावरप्लेमा चुकिरहेका छौँ, तर यत्रो क्राउड र प्रेसरमा खेल्न पाउनु एउटा सिकाइ हो।’
यस सिजन विराटनगर किङ्सले आफूलाई ‘कम्ब्याक किङ’ को रूपमा स्थापित गरेको छ। गत मंगलबार मात्रै एनपिएल इतिहासकै सर्वाधिक २२० रन बनाएर कीर्तिमान रचेको विराटनगरले शनिबार पनि ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्यो।
खेलपछि विराटनगरका खेलाडी प्रतिश जिसीले भने, ‘दर्शकको यस्तो साथले मनोबल उच्च बनाउँछ। हामीले ब्याटिङमा राम्रो सुरुआत पायौँ र यो जितले अंक तालिकामा हामीलाई बलियो बनाएको छ।’
यसैबिच, शनिबारकै पहिलो खेलमा कर्णाली याक्सका मार्क वाटले एनपिएल सिजन–२ को पहिलो शतक प्रहार गर्दै इतिहास रचे।
उनको ४१ बलको शतक र विराटनगरको सानदार जितले शनिबारको दिनलाई नेपाली क्रिकेट प्रेमीका लागि अविस्मरणीय बनायो।
पहिलो शतक प्रहार गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले खुसी महशुस भएकाे बताए। ‘एकदमै खुसी छु, यो मेरो व्यवसासयिक खेलेको पनि पहिलो शतक हो’ उनी मुस्कुराउँदै भन्छन्, ‘यो शतक कर्णाली याक्सलाई नै समर्पित गर्न चाहान्छु।’
उनकै शतकप्रेरित कर्णालीले जारी एनपिएलमा पहिलो जित निकालेको हो।
जित र अर्धशतक दुवैबाट बञ्चित रोहित र आदिल
शनिबारका दुवै खेलमा पराजित टोलीका तर्फबाट दुई जुझारु पारी देख्न पाइयो। तर दुर्भाग्यवश दुवै ब्याटर व्यक्तिगत अर्धशतक र टोलीको जित दुवैबाट थोरैले चुके।
पहिलो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशतकको संघारमा पुगेर आउट भए। टोलीको ब्याटिङ धर्मराएको अवस्थामा इनिङ सम्हालेका रोहितले ४३ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले ४९ रन बनाए। संयमित पारी खेलिरहेका उनी ५० रन पूरा गर्न मात्र १ रन बाँकी छँदा क्याच आउट हुन पुगे।
दुवै खेलाडीले संकटको समयमा टोलीका लागि ‘वान म्यान आर्मी’ जस्तै संघर्ष गरे पनि न त उनीहरूले आफ्नो अर्धशतक पूरा गर्न सके, न त टोलीलाई हारबाट जोगाउन नै सके।
यद्यपि, उनीहरूको यो लडाकु पारीले दर्शकको मन भने जित्न सफल भयो।
सबै तस्बिर: एनपिएल
प्रकाशित: ६ मंसिर २०८२ २१:०२ शनिबार