खेल

पोखरामा माघ ९ देखि ‘टाइगर कप’ भलिबल : ४ देशका १४ टिम भिड्दै

पोखरामा आगामी माघको दोस्रो सातादेखि प्रतिष्ठित ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप’ को छैटौं संस्करण आयोजना हुने भएको छ।

आयोजक टाइगर ग्रुप अफ नेपालले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ७–७ गरी कुल १४ टिमको सहभागिता रहनेछ। यसपटक प्रतियोगितामा नेपालसहित भारत, मालदिभ्स र थाइल्याण्डका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देही सहभागी हुनेछन्।

यस्तै, विदेशी टोलीको रूपमा थाइल्याण्डका दुई टिम युनाइटेड प्यासन भलिबल क्लब र थाइल्याण्ड क्विन्स मैदानमा उत्रिने अध्यक्ष शर्माले जानकारी दिए।

यसैगरी, पुरुषतर्फ तीन विभागीय टोली, गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघले घरेलु चुनौती पेश गर्नेछन्। विदेशी टिममा भारतको गुजरात भलिबल क्लब र मालदिभ्स भलिबल एशोसियसनले सहभागिता जनाउने भएका छन्।

प्रतियोगिता संयोजक राजकुमार गुरुङका अनुसार महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेताले जनही नगद ६ लाख ६६ हजार ६६६ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

यस्तै, उपविजेताले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले जनही २६ हजार ६६६ रुपैयाँ पाउनेछन् भने विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ११ हजार ६६६ रुपैयाँ प्रदान गरिने गुरुङले बताए।

करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता अवलोकनका लागि दर्शकले टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ। संस्थाका सचिव डिबी नेपालीका अनुसार प्रतियोगिता अवधिको लागि ३ हजार ५ सय रुपैयाँको ‘सिजनल टिकट’ कायम गरिएको छ।

प्रकाशित: ८ पुस २०८२ १९:५३ मंगलबार