ताप्लेजुङको फुङलिङमा भदौ १२ गतेदेखि सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले ताप्लेजुङको उत्तरी क्षेत्रमा स्याम्दो पोखरी, सिङजेमा ताल र दिकी छ्योलिङ गुम्बा पुगेर खेल तालिका सार्वजनिक गरेको हो। आठ टिम सहभागी हुने पहिलो खेलमा भदौ १२ गते समूह ‘ए’आयोजक ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबिच प्रतिष्पर्धा हुने समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।
भदौ १३ गते हुने दोस्रो खेलमा समूह ‘बी’को चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमने–सामने हुनेछन्। भदौ १४ गते हुने तेस्रो खेलमा समूह ‘ए’मा रहेको सातदोबाटो फुटबल क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको डिफेण्डिङ च्याम्पियन सलहेश युवा क्लबको सामना गर्ने छ। भदौ १५ गते समूह ‘बी’मा रहेको विभागीय फुटबल क्लब पुलिस क्लबले झापा–११ फुटबल क्लबसँग क्वाटर फाइनलको अन्तिम खेल खेल्दै पहिलो चरणको खेल समाप्त गर्ने छ।
भदौ १६ गते हुने पहिलो सेमिफाइनल खेलमा समूह ए’मा मा रहेका ताप्लेजुङ–११ र जर्जियन युनाइटेड फुटबल क्लबको विजेता र सातदोबाटो फुटबल क्लब तथा सलहेश युवा क्लबको विजेताबिच फाइनल यात्राका लागि भिडन्त हुने छ।
दोस्रो सेमिफाइनलमा भदौ १७ गते समूह ‘बी’ मा रहेका चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लबको विजेता र झापा–११ तथा नेपाल पुलिस क्लबबिचको विजेताबिच भीडन्त हुने छ। भदौ १८ गते एकदिन खेलाडीलाई खेलको तयारीका लागि बिश्राम दिएर १९ गते फाइनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ।
यस वर्षको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन्। सर्वोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एकथान मोटरसाइकल पुरस्कार पाउँदैछन्।
हरेक दिनका म्यान अफ द म्याच बन्ने खेलाडीलाई ७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची प्रदान गरिने छ। नेपाल भरमै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने जिल्लाको रूपमा परिचित ताप्लेजुङको कृषिजन्य उत्पादनको प्रवर्द्धनका लागि अलैँची नै पुरस्कार स्वरुप प्रदान गर्न लागिएको हो।
करिब ६० हजार मूल्य बराबरको अलैँचीको सौजन्य फङ्फङदेन पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले गरेका छन्। उनी संयोजक भइ गत मंसिर महिनामा सञ्चालन भएको फङ्फङदेन झरना पर्यटन महोत्सवका बेला प्रतियोगिताका विजेता, उपविजेता, म्यान अफ द म्याच र विधागत तर्फका विजेता सबैले विजेताले पाउने रकम बराबरको अलैँची पुरस्कार पाएका थिए।
प्रकाशित: ४ भाद्र २०८३ ०८:५५ बिहीबार