खेल

ताप्लेजुङ राष्ट्रपति रनिङ शिल्ड: ३२ स्वर्णको छिनोफानो हुँदा मैवाखोलाको फराकिलो अग्रता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जारी १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिकाले फराकिलो अग्रता कायम गरेको छ

 शनिबार साँझसम्म ३२ विधामा स्वर्ण पदकको छिनोफानो हुँदा मैवाखोला एक्लैले आधाभन्दा बढी अर्थात् १७ स्वर्ण जितेर शीर्ष स्थान ओगटेको हो।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बूका अनुसार हालसम्म मैवाखोलाले १७ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल २९ पदक हात पारेको छ।

पदक तालिकामा फुङलिङ नगरपालिका र आयोजक सिदिङ्वा गाउँपालिकाले मैवाखोलालाई पछ्याइरहेका छन्। दुवै पालिकाले समान ४–४ स्वर्ण र ६–६ रजत पदक जितेका छन्।

कास्य पदकतर्फ भने फुङलिङले ११ र सिदिङ्वाले १० पदक जित्दै क्रमशः २१ र २० कुल पदक पुर्‍याएका छन्।

यस्तै, आठराई त्रिवेणी गाउँपालिकाले ३ स्वर्ण, ९ रजत र १३ कास्य गरी कुल २५ पदक जितेको छ।

सिरिजङ्गा गाउँपालिकाले २ स्वर्ण र १ कास्य जितेको छ भने मिक्वाखोला र मेरिङदेन गाउँपालिकाले समान १–१ स्वर्ण र ३–३ रजत पदक प्राप्त गरेका छन्।

मिक्वाखोलाले थप ६ कास्य र मेरिङदेनले ३ कास्य जितेका छन्।

३२ स्वर्णको नतिजा आइसक्दा फक्ताङलुङ गाउँपालिका भने पदकविहीन बनेको छ। पाथीभरा याङवरक गाउँपालिकाले १ कास्य पदकमा चित्त बुझाएको छ।

शनिबार साँझसम्म ३२ स्वर्ण, ३२ रजत र ५२ कास्य गरी कुल १ सय १६ पदकको नतिजा सार्वजनिक भइसकेको छ। प्रतियोगिताभर ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि प्रतिस्पर्धा हुने खेलकुद विकास समितिले जनाएको छ।

शुक्रबारदेखि सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुस्थित टावरडाँडा खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ २६ गते सोमबार सम्पन्न हुनेछ।

प्रतियोगिताको व्यवस्थापन र संयोजन सिदिङ्वा गाउँपालिकाले गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिए।

यसैबीच, आगामी १७ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन पाथीभरा याङवरक गाउँपालिकाले गर्ने भएको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा पाथीभरा याङवरकका अध्यक्ष केशरकुमार सुब्बाले आगामी संस्करणको जिम्मेवारी आफ्नो पालिकाले लिने घोषणा गरेका हुन्।

प्रकाशित: २४ माघ २०८२ १९:३९ शनिबार