अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ ले फुटबल समर्थकहरूलाई उत्साहित बनाए पनि अधिकांश अमेरिकी नागरिकमा यो खेल अभैm लोकप्रिय बन्न सकेको छैन।
विश्वकपको समूह चरणपछि गरिएको इप्सोस स्पोटर््सको सर्वेक्षणले फुटबलप्रति चासो बढ्दै गएको देखाएको छ। तर फिफा विश्वकप फुटबलको प्रभाव सीमित रहेको उक्त सर्वेक्षणमा उल्लेख छ। जुन २६ देखि २८ सम्म गरिएको सर्वेक्षणअनुसार अमेरिका समूहचरण पार गरेर नकआउटमा पुगेपछि करिब ६० प्रतिशत फुटबल समर्थक निकै उत्साहित थिए। तर, समग्र अमेरिकी वयस्कमध्ये भने २५ प्रतिशतले मात्र त्यस्तै उत्साह व्यक्त गरे।
बुधबार बिहान अमेरिकाले अन्तिम ३२ को खेलमा बोस्निया हर्जेगोभिनामाथि २–० को जित निकाल्यो। आधा घन्टाभन्दा बढी समय एक खेलाडी बिना पनि अमेरिकाले त्यो सफलता पाएको हो। उक्त जितमा अमेरिकी टोलीको प्रंशसा पनि भएको छ। यद्यपि, देशभित्र भने यो खेल लोकप्रिय बन्न सकेको छैन। एक सर्वेक्षणले अझै पनि अमेरिकी जनताले फुटबलप्रति चासो नदिएको देखिन्छ। तर त्यो सर्वेक्षण भने बोस्निया हर्जेगोभिनाविरुद्ध अमेरिकाको जितअघि गरिएको थियो।
अमेरिकी टोलीको प्रदर्शनप्रति समर्थकहरू सन्तुष्ट देखिएका छन्। ५५ प्रतिशत फुटबल समर्थकले टोलीको प्रदर्शन ‘धेरै राम्रो’ रहेको बताएका छन्। करिब एक चौथाइले ‘सन्तोषजनक’ भएको प्रतिक्रिया दिए। विश्वकप सहआयोजकको रूपमा अमेरिकाको भूमिकाप्रति पनि आधाभन्दा बढी समर्थक सकारात्मक छन्। तर प्रतियोगिता सञ्चालन गर्ने फिफाप्रति भने धारणा मिश्रित छ। करिब एक तिहाइ फुटबल समर्थकले फिफाको व्यवस्थापनलाई राम्रो मानेका छन्। प्रतियोगिताका क्रममा अनिवार्य हाइड्रेसन ब्रेक र केही देशका समर्थकमाथि लागू गरिएको यात्रा तथा भिसा प्रतिबन्धजस्ता विषयमा फिफाको आलोचना भएको छ।
समग्रमा २० प्रतिशत अमेरिकीको फिफाप्रति सकारात्मक धारणा छ। २५ प्रतिशतको नकारात्मक धारणा आएको छ। अधिकांशले यसबारे कुनै स्पष्ट धारणा व्यक्त गरेका छैनन्। सर्वेक्षणले अमेरिकामा फुटबल अझै पनि अमेरिकी फुटबल, बास्केटबल र बेसबलजस्ता खेलभन्दा निकै पछाडि देखाएको छ। करिब २० प्रतिशत अमेरिकीले अन्तर्राष्ट्रिय वा अमेरिकी फुटबलको समर्थक बताएका छन्। बाँकीमध्ये धेरैले विश्वकपबारे कम्तीमा केही जानकारी रहेको उल्लेख गरे। विश्वकपले फुटबलप्रति रुचि बढाउने अपेक्षा छ। करिब ६० प्रतिशत अमेरिकीले यस प्रतियोगिताले देशभर फुटबलप्रति चासो बढाउने विश्वास व्यक्त गरे। तर व्यक्तिगत रूपमा आफूलाई फुटबलप्रति बढी आकर्षण भएको बताउनेको संख्या २४ प्रतिशत मात्र देखिन्छ। फुटबल समर्थकमध्ये भने झन्डै आधाले विश्वकपपछि आफ्नो रुचि अझ बढेको बताएका छन्। विश्वकप हेर्ने तरिका पनि विविध देखिन्छ। करिब ४० प्रतिशत अमेरिकीले सामाजिक सञ्जालमार्पmत टोली र खेलाडीको गतिविधि पछ्याएका छन्। एक चौथाइले रेस्टुरेन्ट वा बारमा गएर खेल हेरेका वा हेर्ने योजना बनाएका छन्।
करिब २० प्रतिशतले वाच पार्टीमा सहभागिता जनाएका छन्। २० प्रतिशतले आधिकारिक जर्सी, स्कार्फ वा अन्य सामग्री खरिद गरेका छन्। सर्वेक्षणअनुसार करिब १० प्रतिशत अमेरिकीले विश्वकपका खेलमा आधिकारिक रूपमा बाजी लगाएका छन् भने केहीले प्रिडिक्सन मार्केटमार्फत खेलको नतिजामा पनि सहभागिता जनाएका छन्। साथै ८ प्रतिशतले आयोजक सहरमै पुगेर खेल प्रत्यक्ष हेरेका छन्।
प्रकाशित: १९ असार २०८३ ०९:३९ शुक्रबार