खेल

पाँचौं सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक

मंसिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोकमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण पाँचौं सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।

सिरिजङ्गा मेलाका साथ हुने सिरिजङ्गा गोल्डकपको उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबको भिडन्त रेडहर्ष फुटबल क्लब इलामसँग हुने भएको छ। दोस्रो खेलमा मंसिर २४ गते न्यूस्टार क्लब बिर्तामोड झापा वाईवाई पाँचथर फुटबल क्लबसँग आमनेसामने हुने छ। तेस्रो खेलमा मंसिर २५ गते पारिजात संघ फुटबल क्लब भारतले मरिक फुटबल क्लब धरानसँग प्रतिश्पर्धा गर्ने छ।

पहिलो चरणको अन्तिम खेलमा मंसिर २६ गते साँगुरीगढी फुटबल क्लब धनकुटाले म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमबिच खेल हुने सार्वजनिक गरिएको खेल तालिकामा उल्लेख गरिएको छ। जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)को उपस्थितिमा तेल्लोक स्पोर्टिङ क्लबले खेल तालिका सार्वजनिक गरेको हो।

क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार जक तेल्लोक स्पोर्टिङ क्लब र रेडहर्ष फुटबल क्लब इलामबिचको विजेता तथा पारिजात संघ फुटबल क्लब भारत र मरिक फुटबल क्लब धरानको विजेताबिच पहिलो मंसिर २७ गते पहिलो सेमीफाइनल खेल हुने छ। यस्तै दोस्रो सेमीफाइनलमा न्यू स्टार क्लब बिर्तामोड झापा र वाईवाई पाँचथर फुटबल क्लब फिदिमको विजेता र साँगुरीगढी फुटबल क्लब धनकुटा र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमको विजेता मैदानमा उत्रने छन्।

मंसिर २९ गते फाइनल खेल हुने छ। उक्त दिन सिरिजङ्गा लिपिका प्रवर्द्धक, प्रकाण्ड बिद्धान त्येअङ्सी सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्ती पनि हो। सोही अवसर पारेर उक्त दिन पाँचौं सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलाको समापन गरिने आयोजक तेल्लोक स्पोर्टिङ क्लबका सचिव रञ्जित मावोले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख ५० हजार ३ सय २१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका कोषाध्यक्ष दिनेश भट्टराईले जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०८२ ११:३४ शनिबार