खेल

सन्दीप फर्किए- अब नेपालको ओडिआई बचाउने पालो !

एक समय थियो। सन्दीप लामिछाने बलिङको रनअपमा दौडिन थाल्दा प्रत्येक नेपाली समर्थकका आँखामा एउटै मात्र सपना हुन्थ्यो- विकेट। तर, समयसँगै परिस्थिति फेरिएको छ।

यसपटक सन्दीपको हातमा केवल बल मात्र हुनेछैन। उनीसँगै हुनेछ- सङ्कटमा परेको नेपालको एकदिवसीय क्रिकेटको भविष्य। नेपालको एकदिवसीय टोली सङ्कटमा छ। नतिजा कमजोर छन्। 

विश्वकपको यात्रा पनि निकै कठिन मोडमा छ। यही सङ्कटपूर्ण अवस्थामा सन्दीप लामिछाने पुनः कप्तान बनेर फर्किएका छन्। तर, मुख्य प्रश्न उठेको छ- के सन्दीपले आफूलाई मात्र होइन, सङ्कटमा फसेको सिङ्गो नेपाली क्रिकेटलाई पनि फर्काउन सक्लान् ?

सन्दीपको कप्तानीमा पुनरागमन

नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेलाई ओडिआई कप्तानको जिम्मेवारी दिएको छ। यससँगै सन्दीप फेरि नेपाली क्रिकेटको मूल नेतृत्वमा फर्किएका छन्। उनका लागि कप्तानीको यो जिम्मेवारी नौलो भने होइन। यसअघि पनि उनले नेपाली टोलीको कप्तानी गरिसकेका छन्।

तर, यसपटक परिस्थिति बिल्कुलै फरक छ। त्यतिबेला सन्दीप कप्तान बन्दा नेपाली टोली भविष्य निर्माणको चरणमा थियो भने अहिले परिस्थिति बिल्कुल फरक छ। नेपाललाई आफ्नो ओडिआई मान्यता जोगाउनैपर्ने चौतर्फी दबाब छ। त्यसैले सन्दीपको यो पुनरागमनलाई सामान्य कप्तानी परिवर्तनका रूपमा मात्र हेर्न मिल्दैन। यो एउटा ठूलो र चुनौतीपूर्ण जिम्मेवारी हो।

नेपाली क्रिकेटले पछिल्ला वर्षहरूमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। तर, पछिल्लो समय त्यो सफलताको यात्रामा निरन्तरता देखिएको छैन।

आइसिसी विश्वकप लिग–२ मा प्रत्येक खेल उत्तिकै महत्त्वपूर्ण हुन्छ। एउटा जितले अङ्क तालिकामा माथि पुर्‍याउँछ भने एउटा हारले फेरि पछाडि धकेलिदिन्छ। नेपालले यस्तै उतारचढावबिच आफ्नो यात्रा अघि बढाइरहेको छ।

ब्याटिङमा निरन्तरताको अभाव छ भने बलिङमा दबाब सिर्जना गरे पनि त्यसलाई जितमा परिणत गर्न कठिनाइ भइरहेको छ। अझ ठूलो समस्या त खेलका निर्णायक क्षणहरूमा खेल आफ्नो पक्षमा पार्न नसक्नु रहेको छ। यही कमजोरी सुधार्नु अब कप्तान सन्दीपको पहिलो काम हुनेछ।

 

यतिबेला अर्को प्रश्न पनि उठ्छ। आखिर सङ्कटको यो घडीमा पुनः सन्दीप नै किन ? यसको उत्तर हो- उनीसँग भएको फराकिलो अनुभव। विश्व क्रिकेटका विभिन्न प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिताहरूमा खेलिसकेका सन्दीपसँग दबाबपूर्ण खेलहरूको प्रशस्त अनुभव छ।

उनले विश्वस्तरीय ब्याट्सम्यानहरूलाई बलिङ गरेका छन् भने ठूला रङ्गशालामा विशाल दर्शकमाझ खेलेको अनुभव बटुलेका छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले नेपाललाई जित दिलाउन सक्ने आफ्नो क्षमता पटक-पटक प्रमाणित गरिसकेका छन्।

तर, कप्तानको जिम्मेवारी भने एउटा बलरको भन्दा निकै फरक हुन्छ। बल हातमा हुँदा सन्दीपले एउटा ब्याट्सम्यानलाई आउट गर्न सक्छन्। तर, कप्तानका रूपमा भने उनले टोलीका ११ जना खेलाडीबाट नै राम्रो प्रदर्शन निकाल्न सक्ने अनुकूल वातावरण निर्माण गर्नुपर्छ।

खेलका क्रममा उनले अनेकौं रणनीतिक कुराहरू सोच्नुपर्ने हुन्छ। कहिले र कसलाई बल थमाउने ? फिल्डिङ कहाँ सजाउने ? कहिले आक्रामक हुने र कहिले धैर्य धारण गर्ने ? अब यी सबै निर्णयहरूको भार सन्दीपकै काँधमा रहनेछ।

सन्दीपसामु सबैभन्दा ठूलो चुनौती हुनेछ- आफ्नो व्यक्तिगत खेल र कप्तानीको जिम्मेवारीबिच सन्तुलन कायम गर्नु। उनी नेपालका मुख्य विकेट टेकिङ बलर हुन्। त्यसैले उनले आफ्नो बलिङमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ।

तर, कप्तान भइसकेपछि खेलको हरेक क्षणमा उनले समग्र टोलीबारे सोच्नुपर्नेछ। यदि कप्तानीको टोलीगत चिन्ताका कारण उनको बलिङ प्रभावित भयो भने आलोचना हुनेछ। कप्तानीको रणनीतिक निर्णय गलत भयो भने पनि अनेकौं प्रश्नहरू उठ्नेछन्। र, यदि टोली पराजित भयो भने सबैभन्दा पहिले औँला कप्तानतर्फ नै उठ्नेछ।

त्यसैले अब सन्दीपले बल मात्र घुमाउने होइन, खेलको परिस्थितिलाई पनि आफ्नो अनुकूलमा पार्नका लागि बल घुमाएजस्तै कुशलतापूर्वक घुमाउनुपर्नेछ। तर, सन्दीप एक्लैले नेपाललाई जिताउन सक्दैनन्। नेपालको जितका लागि टोलीका हरेक खेलाडीबाट उत्कृष्ट प्रदर्शन आवश्यक छ। जसले गर्दा खेल सजिलै नेपालको पक्षमा आउन सकोस्। नेपाली खेलाडीहरूसँग प्रतिभा र क्षमता प्रचुर छ, र अब त्यही क्षमताका आधारमा नेपालको एकदिवसीय मान्यता जोगाउने बेला आएको छ।

अब सन्दीपको नयाँ कप्तानी युगको पहिलो ठूलो परीक्षा नजिकिँदैछ। एसीसी पुरुष प्रिमियर कप। मलेसियामा आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म आयोजना हुने यो प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण हुनेछ। यो केवल एउटा प्रतियोगिता मात्र होइन, यो नेपालले आफ्नो गुमेको आत्मविश्वास पुनःप्राप्त गर्ने अवसर पनि हो।

अनि सन्दीपका लागि पनि कप्तानका रूपमा आफूलाई फेरि प्रमाणित गर्ने पहिलो ठूलो मौका। यहाँको प्रदर्शनले धेरै कुरा निर्धारण गर्नेछ। यस प्रतियोगिताबाट नेपाली टोलीले आफ्नो मनोबल बढाउने, समर्थकको विश्वास जित्ने र सम्भवतः नेपाली ओडिआई क्रिकेटको आगामी दिशा कतातर्फ जाने हो भन्ने अन्तिम निक्र्यौँल पनि गर्नेछ।

नेपालमा क्रिकेट केवल एउटा खेल मात्र होइन। यो भावना हो। सन्दीपले लिने एउटा विकेटमा हजारौं नेपाली खुसी हुन्छन्। नेपाल जित्दा सडकदेखि सामाजिक सञ्जालसम्म उत्सवको माहोल बन्छ।

त्यसैले अहिले सन्दीपमाथि समर्थकहरूको अपेक्षा पनि निकै ठूलो छ। समर्थकहरू उनलाई केवल विकेट लिने बलरका रूपमा मात्र हेर्न चाहँदैनन्। उनीहरू चाहन्छन् सन्दीप सङ्कटको समयमा टोलीलाई जिम्मेवार ढङ्गले सम्हाल्न सक्ने कप्तान बनून्। हारको अवस्थामा खेलाडीहरूलाई पुनः उठाउने कमान्डर बनून्। र कठिन परिस्थितिमा सही निर्णय लिन सकून्।

तर, कप्तानीको बाटो सहज छैन। जित्दा प्रशंसाको वर्षा हुनेछ भने हार्दा प्रश्नहरू तेर्सिनेछन्। कतिपय अवस्थामा कप्तानका निर्णयहरू विवादित पनि बन्नेछन् र व्यक्तिगत प्रदर्शन कमजोर हुँदा आलोचना अझै बढ्नेछ।

तर, महान् कप्तान वही हुन्छ, जो जस्तैसुकै दबाबमा पनि साहसिक निर्णय लिन माहिर हुन्छ। जो हारपछि पनि टोलीलाई उठाउन हरसम्भव कोसिस गर्छ। र कठिन समयमा पनि आफ्नो मूल लक्ष्यबाट पछि हट्दैन।

अब सन्दीपसामु त्यही धैर्य र नेतृत्व क्षमताको परीक्षा हुने बेला आएको छ। उनले आफ्नो व्यक्तिगत नामका लागि होइन, सिङ्गो नेपालको हित सोचेर व्यक्तिगत प्रदर्शनभन्दा टोलीको प्रदर्शनलाई अझ धेरै प्राथमिकता दिनुपर्नेछ।

सन्दीप फेरि कप्तान बनेका छन्। नेपाल ओडिआई सङ्कटमा छ। यसको भविष्य चुनौतीको घेरामा छ। र करोडौं आँखाहरू अब आशाका साथ मैदानतर्फ मोडिएका छन्। यो सन्दीपको व्यक्तिगत कमब्याक मात्र होइन, यो त नेपाली क्रिकेटलाई फेरि सफलताको उचाइमा उठाउने ठूलो अवसर पनि हो।

अब प्रश्न एउटै छ- के सन्दीपले कप्तानका रूपमा आफूलाई पुनः प्रमाणित गर्लान् ? अनि त्योभन्दा पनि ठूलो कुरा, के उनले नेपालको ओडिआई क्रिकेटलाई फेरि सही बाटोमा फर्काउन सक्लान् ? 

यसको उत्तर केवल मैदानले नै दिनेछ। किनभने, अब सन्दीप मैदानमा फर्किएका छन्, र नेपाललाई पनि जितको बाटोमा फर्किनैपर्छ।

प्रकाशित: २६ श्रावण २०८३ १९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App