खेल

साफ यू-१९ : नेपाल भारतसँग पराजित, भुटानमाथि बङ्गलादेशको गोलवर्षा

पोखरामा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा आयोजक नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा भारत र बङ्गलादेशले विजयी सुरुवात गरेका छन्।

भारतले आयोजक नेपाललाई र बङ्गलादेशले भुटानलाई पराजित गरेका हुन्।

शनिबार भएको दोस्रो खेलमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गर्‍यो। घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले बाजी मार्‍यो।

खेलको ४९ औं मिनेटमा भारतकी पर्ल फर्नान्देसले गरेको गोल नै निर्णायक बन्यो। नेपालले गोल गर्ने केही सुन्दर अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा पहिलो खेलमै पराजय भोग्नुपर्‍यो।

जितपछि आयोजित पोस्ट म्याच कन्फरेन्समा बोल्दै भारतीय टोलीकी प्रशिक्षक प्रमिला कोन्टीले पोखराको मैदान आफ्ना लागि नयाँ भएकाले सोचेअनुरूप नतिजा नआएको प्रतिक्रिया दिइन्।

उनले भनिन्, ‘हाम्रो लागि यो मैदान नौलो रह्यो, जसका कारण पनि हामीले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेनौँ।’ उनले नेपाली टोलीले राम्रो खेल प्रदर्शन गरेको तर फिनिसिङमा कमजोरी हुँदा गोल गर्न नसकेको बताइन्।

यता, पराजित नेपाली टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले तयारीका लागि पर्याप्त समय नहुँदा भारतसँग हार व्यहोर्नुपरेको बताए।

उनले भने, ‘छोटो तयारीका कारण भारतजस्तो बलियो टोलीविरुद्ध सोचेजस्तो प्रदर्शन हुन सकेन। साथै, प्रतियोगिता र अभ्यासमा प्रयोग गरिएको फुटबल (बल) फरक पर्दा पनि खेलाडीलाई तालमेल मिलाउन गाह्रो भयो।’

भुटानविरुद्ध बङ्गलादेशको एक दर्जन गोल

यसअघि शनिबार नै भएको उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई फराकिलो अन्तरले हराएको छ। एकतर्फी खेलमा बङ्गलादेशले भुटानको पोस्टमा एक दर्जन (१२-०) गोल गर्‍यो। बङ्गलादेशको जितमा तीन खेलाडीले ह्याट्रिक पूरा गरे।

बङ्गलादेशका लागि मोस्ट मुन्की अख्तर, श्रीमती तृष्णा रानी र अल्पी अख्तरले ह्याट्रिक गरेका हुन्।

मुन्की अख्तरले खेलको ४४, ४८, ८१ र ९३ औं मिनेटमा गरी कुल ४ गोल गरिन्। यस्तै, श्रीमती तृष्णा रानीले ४३, ५४ र ६० औं मिनेटमा तथा अल्पी अख्तरले ७३, ८६ र ९५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

त्यसबाहेक बङ्गलादेशकी कप्तान अर्पिता विश्वास र मामोनी चक्माले थप एक-एक गोल गरे। चक्माले खेलको २८ औं मिनेटमा र अर्पिताले दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा गोल गरेका थिए।

प्रकाशित: १७ माघ २०८२ २२:०९ शनिबार