खेल

मेसीको जादु चल्दा रोनाल्डो असफल

बलिया युरोपेली राष्ट्रविरुद्ध अफ्रिकी टोलीको उत्कृष्ट खेल र उमेरलाई चुनौती दिँदै अर्जेन्टिनाका कप्तान लियोनल मेसीको जादुमयी खेलले फिफा विश्वकपको पहिलो चरण रोमाञ्चक बनिरहेको छ।

भरिएका रंगशाला, विश्वकपमा पहिलोपटक सहभागी केप भर्डेको ऐतिहासिक प्रदर्शन र रातो कार्डको संख्या घट्नुजस्ता घटनाले पनि विश्वकपको २३औं संस्करणको पहिलो चरण विशेष रह्यो। प्रारम्भिक खेलहरू सकिएसँगै यस विश्वकपमा केही महत्त्वपूर्ण र रोमाञ्चक दृश्य आएका छन्। अफ्रिकी राष्ट्रले विश्व फुटबल शक्ति केन्द्र बनिरहेको युरोपलाई कडा चुनौती दिइरहेका छन्। अफ्रिकासँगै एसियाली राष्ट्रले पनि युरोप र दक्षिण अमेरिकी टोलीविरुद्ध महत्त्वपूर्ण प्रदर्शन गर्दा खेलमा रोमाञ्चकता भरिएको छ।  मेसीको जादु अझै सकिएको छैन भन्ने यस विश्वकपले देखाएइको छ।

चार वर्षअघि नै कतारमा विश्वकप ट्रफी उचाल्दा मेसीको विश्वकप यात्रा पूर्ण भएको धेरैले सोचेका थिए। तर लोकप्रिय अर्जेन्टिनी लिजेन्ड अझै रोकिएका छैनन्। ३९औं जन्मदिन नजिकिँदै गर्दा मेसीले विश्व फुटबलको सर्वोच्च उपाधिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरे। त्यसको सुरुआत पनि सानदार पनि बन्यो। अमेरिकी सहर कानसास सिटीमा अल्जेरियाविरुद्ध उनले ह्याट्रिक पूरा गरे। आफ्नो टोलीलाई जित दिलाउँदा उनी कयौं कीर्तिमान पनि रच्न सफल भए। दुई शक्तिशाली प्रहार र एउटा सहज फिनिसिङले मेसीलाई विश्वकप इतिहासको सर्वाधिक गोलकर्ताको सूचीमा पनि पुर्‍यायो।

जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजेको कीर्तिमान (१६ गोल) सँग उनको बराबरी भएको छ। फ्रान्सका स्टार किलियन एमबापे अहिले त्यो कीर्तिमानभन्दा दुई गोलले पछाडि छन्। ‘अन्ततः यो एउटा तथ्यांक मात्र हो,’ लिजेन्ड फुटबलर मेसीले खुसी व्यक्त गर्दै भनेका थिए। तर तथ्यांकले मात्र मेसीको प्रतिभालाई व्याख्या गर्न सक्दैन। यसले दशकौंसम्म विश्व फुटबललाई मोहित पारिरहेकै एक खेलाडीको कथा अझै लामो छ भन्ने प्रमाणित गरेको छ।

सोमबार अस्ट्रियाविरुद्ध हुने खेलमा मेसीसँग उक्त कीर्तिमान एक्लै आफ्नो नाममा लेखाउने अवसर हुनेछ। मेसीको यो जादु चल्दा उनको सर्वकालीन प्रतिद्वन्द्वीका रूपमा हेरिएको पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने पहिलो खेलमा असफल देखिए।

सदैव चर्चा बटुल्दै आएका रोनाल्डो उल्टै उनी विश्व फुटबल समर्थकबाट आलोचना सामना गरिरहेका छन्। रोनाल्डोले आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। तर यस विश्वकपको पहिलो खेल उनको लागि स्मरणीय बन्न सकेन। पोर्चुगलले डीआर कंगोसँग १–१ को बराबरी खेल्दा ४१ वर्षे रोनाल्डो मैदानमा धेरै हदसम्म निषप्रभावी देखिए। पहिलो चरणमा फ्रान्सका किलियन एमबापे र एर्लिङ हालान्डले समान दुई गोल गर्दै चर्चा बटुले। तर साउदी अरेबियामा क्लब फुटबल खेलिरहेका रोनाल्डो भने उनीहरूभन्दा धेरै पछाडि देखिए। कंगोविरुद्ध उनले जम्मा २५ पटक मात्र बल छोए।

जुन पोर्चुगलका लागि पूरा खेल खेल्दा कुनै पनि ठूलो प्रतियोगितामा उनको सबैभन्दा कम आँकडा हो। उनी क्लब र राष्ट्रिय टोलीका लागि एक हजार गोलको उपलब्धि नजिक छन्। लगातार १० वटा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा रोनाल्डोले गोल गर्न सकेका छैनन्। त्यसैले पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि अब कठिन प्रश्न उब्भिएको छ। के इतिहासकै महान् खेलाडीमध्ये एकलाई बेन्चमा राख्ने समय आएको हो? केप भर्डेले ४८ टोलीको विश्वकपको पक्षमा बलियो तर्क प्रस्तुत गर्‍यो।

४० वर्षे भोजिन्हा प्रशंसाको केन्द्रमा

विश्वकपको पहिलो चरणकै सबैभन्दा भावुक दृश्यमध्ये एक थिए, केप भर्डेका ४० वर्षे गोलकिपर भोजिन्हाको आँसु। विश्वकपको खेलअघि कमै मात्र उनीबारे जानकार थिए तर अहिले उनी विश्व चर्चित गोलकिपर बने र सबैको प्रशंसाको पात्र पनि।

यो सबै केप भर्डेले स्पेनविरुद्ध गोलरहित बराबरीको नतिजा प्राप्तपछि भएको हो। त्यो बराबरीका नायक उनै भोजिन्हा हुन्। जुन डेब्युमा नै अफ्रिकी राष्ट्र केप भर्डेले पाएको थियो। यो सफलतापछि उनी आँसु झार्दै आफ्ना सहकर्मीबाट अँगालोमा बाँधिए। यस दृश्यले विश्व फुटबललाई भावुक बनायो। पाँच लाखभन्दा केही बढी जनसंख्या भएको सानो राष्ट्र हो, केप भर्डे। जसले विश्वकप डेब्युमा युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। अटलान्टामा स्पेनले सहज जित निकाल्ने अपेक्षा गरिएको थियो।

४० वर्षीय गोलकिपर भोजिन्हाको प्रेरणादायी प्रदर्शन र इतिहास रच्ने अठोट बोकेको टोली भर्डेले स्पेनलाई निराश बनायो। यो नतिजाले विश्वकपलाई ४८ राष्ट्रमा विस्तारित गराउने फिफाको योजनामा आलोचना गर्नेलाई पनि जवाफ पनि बन्न पुग्यो। जुन निर्णय पछि १६ राष्ट्र थपिएका हुन्, जसमा भर्डेले पहिलोपल्ट विश्वकपमा स्थान बनाएको हो।

युरोपेली फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्सजान्डर सेफरिनले यसअघि यस्तो ढाँचाले रोचकताविहीन खेल जन्माउने बताएका थिए। भोजिन्हाको प्रदर्शन त्यो सामाजिक सञ्जालमा समेत भाइरल बन्यो। खेलअघि उनका इन्स्टाग्राममा भोजिन्हाका करिब ५० हजार फलोअर थिए तर अहिले त्यो संख्या एक करोड ३० लाख नाघिसकेको छ।

महँगा टिकटका बाबजुद भरिभराउ रंगशाला

यस विश्वकपमा टिकट मूल्य महँगो भएको आलोचना भइरहेको छ। तर, पनि स्टेडियममा दर्शकको उत्साह भने घटेको देखिएको छैन। सान्ता क्लारास्थित लेभिज रंगशालामा अस्ट्रिया र जोर्डनबीचको खेल हेर्न झन्डै पूरा क्षमता बराबर दर्शक उपस्थित भए। फुटबलको सबैभन्दा आकर्षक खेल नभए पनि रंगशाला भरिनुले विश्वकपप्रति आकर्षण स्पष्ट पारेको छ।

मंगलबार मात्रै दुई लाख ८१ हजार २ सय २३ दर्शक विभिन्न खेलस्थल पुगेको फिफाको तथ्यांक छ। यो संख्या सन् १९९४ को विश्वकपमा एकै दिन रंगशाला पुगेको भन्दा कीर्तिमानी हो। त्यतिबेला दुई लाख ७७ हजार ७० दर्शक एकै दिन पुगेका थिए।

रेफ्रीहरू रातो कार्ड देखाउन संयमित

पछिल्ला दुई संस्करण सन् २०१८ र २०२२ का विश्वकपमा समान चार रातो कार्ड मात्र देखाइएका थिए। अघिल्ला संस्करणहरूको तुलनामा यो उल्लेखनीय गिरावट हुन सक्ने अनुमान गरिएको छ। उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड सामना गरे। यसपछि यो विश्वकपमा रातो कार्डको वर्षा हुने अनुमान गरिएको थियो। मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको उक्त खेलमा दुवै टोलीका तीन खेलाडी (दक्षिण अफ्रिकाको दुई) ले रातो कार्ड पाएका थिए। त्यसपछि परिस्थिति बदलिएको छ।

ब्राजिली रेफ्री विल्टन साम्पायोको निर्णयबारे व्यापक बहस भएपछि फिफाले रेफ्रीहरूलाई रातो कार्ड प्रयोगमा थप सावधानी अपनाउन सुझाव दिएको चर्चा पनि भइरहेका छन्। यसपछिका लगातार २३ खेलमा एक जना खेलाडी पनि मैदानबाट निष्कासित भएका छैनन्। विश्वकपको पहिलो चरणले ३९ दिने विश्वकप थप रोमाञ्चक हुने विश्वास छ। मेसी अझै चम्किरहेका छन्, रोनाल्डो दबाबमा छन्, नयाँ टोलीहरूले स्थापित शक्तिलाई चुनौती दिइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव अझै धेरै रोचक मोडहरूतर्फ अघि बढिरहेको छ।  

प्रकाशित: ५ असार २०८३ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App