खेल

पुलिसको गोलको वर्षा, रेखाको सानदार ‘डबल ह्याट्रिक’

उदयपुरको गाईघाटमा शुक्रबारदेखि सुरु भएको ‘एन्फा महिला फुटबल च्याम्पियनसिप २०८२’ अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लबले सानदार जित हात पारेको छ।

थरुहट रंगशालामा भएको पहिलो चरणको खेलमा पुलिसले रियल टिममाथि १०-० को फराकिलो गोल अन्तरले जित निकाल्दै सुखद सुरुवात गरेको हो।

पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले एक्लै ६ गोल गरिन् । खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेकी रेखाले १२ औँ, ४५ औँ, ४५+२ मिनेट, ७२ औँ र ७७ औँ मिनेटमा गोल थपिन्।

रेखाबाहेक पुलिसका लागि मीना देउवाले १८ औँ र ४९ औँ मिनेटमा दुई गोल गरिन् भने पूजा लामाले १४ औँ र विर्सना चौधरीले ६७ औँ मिनेटमा समान एक/एक गोल थपेका थिए।

खेल अवधिभर दबाबमा परेको रियल टिमले पुलिसको पोस्टमा उल्लेख्य आक्रमण बुन्न सकेन। सानदार प्रदर्शन गरेकी रेखा पौडेल खेलको ‘म्यान अफ द म्याच’ घोषित भइन्।

उनले नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।

शनिबारै सम्पन्न दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले छहारी युवा क्लबमाथि १-० को कठिन जित हात पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औँ मिनेटमा वर्षा ओलीले गरेको गोल नै चर्च ब्वाइजको जितका लागि निर्णायक बन्यो।

वर्षा ओली खेलको ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद ७ हजार रुपैयाँ र ट्रफी हात पारिन्।

प्रतियोगिता अन्तर्गत आइतबार विभागीय टोली एपीएफ क्लब र आरएस रिसोर्टबीच प्रतिस्पर्धा हुने आयोजक एन्फा उदयपुरका सहजकर्ता राजन राईले जानकारी दिए।

आगामी फागुन ९ गतेसम्म चल्ने यस च्याम्पियनसिपमा विभागीय टोलीहरूसहित कुल १० टिमको सहभागिता रहेको छ।

च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने एन्फा महासचिव किरण राईले बताएका छन्।

साथै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ २०:५३ शनिबार