नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा वर्षा केवल मौसमको समस्या बनेन, यसले प्रतियोगिताको नतिजामै ठूलो प्रभाव पारेको छ। क्वार्टरफाइनलका सबै खेल वर्षाका कारण रद्द भएपछि मैदानमा खेलेर जित्ने अवसरभन्दा अन्तर्राष्ट्रिय वरीयता निर्णायक बन्न पुगेको छ।
नेपाल र श्रीलंकाबीच आज निर्धारित क्वार्टरफाइनल पनि एक बल नखेली रद्द भयो। लगातारको वर्षाका कारण निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कको मैदान खेल्न योग्य बन्न नसकेपछि अम्पायरले खेल रद्द गरेका थिए। त्यससँगै वरीयातामा नेपालभन्दा अगाडी रहेको श्रीलंका सेमिफाइनलमा पुगेको छ। नेपाल समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनल पुगे पनि मैदानमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर नपाई प्रतियोगिताबाट बाहिरिनुपर्यो।
यसअघि सोमबार पनि पाकिस्तान–हङकङ र भारत–अफगानिस्तान बीचका क्वार्टरफाइनल खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएका थिए। दुवै खेलमा उच्च वरीयताका पाकिस्तान र भारतलाई सेमिफाइनलको टिकट दिइयो। आज नेपाल–श्रीलंका तथा बंगलादेश–मलेसियाका खेल पनि रद्द भएपछि चारवटै क्वार्टरफाइनलमा उच्च वरीयताका टोली अघि बढे। पानी परिरह्यो भने सेमिफाइनल र फाइनल खेल नभइ भारतले वरीयाताका आधारमा गोल्ड मेडल जित्नेछ। भारत टी-२० को विश्व वरीयाताको शीर्ष स्थानमा छ। पाकिस्तान दोस्रो, बंगलादेश तेस्रो र श्रीलंका चौथो हुनेछन्।
किन उच्च वरीयताको टोलीलाई फाइदा?
यसको आधार प्रतियोगिताका खेल सञ्चालनसम्बन्धी नियम हुन्। क्वार्टरफाइनलमा वर्षाका कारण खेल हुन नसकेमा पुनः अर्को दिन खेलाउने रिजर्भ डे नराखिएको अवस्थामा उच्च वरीयतामा रहेको टोलीलाई अर्को चरणमा पठाउने व्यवस्था गरिएको थियो।
यसले नकआउट चरणमा एउटा महत्वपूर्ण अन्तर सिर्जना गरेको छ। समूह चरण पार गरेर क्वार्टरफाइनलमा पुगेका टोलीले त्यहाँ आफ्नो प्रदर्शनका आधारमा सेमिफाइनल पुग्ने अपेक्षा गरेका थिए। खेल नै हुन नसकेपछि नतिजा मैदानमा प्रदर्शनबाट होइन, प्रतियोगिताअघि निर्धारण गरिएको वरीयताबाट तय भयो।
आइसीसीले पनि सोमबारका क्वार्टरफाइनल रद्द भएपछि भारत र पाकिस्तान उच्च वरीयताका कारण सेमिफाइनल पुगेको पुष्टि गरेको थियो।
नेपालका लागि नियम किन महँगो बन्यो?
नेपालका लागि यसको प्रभाव अझ स्पष्ट देखियो। नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। जापानविरुद्धको खेल भने वर्षाका कारण पूरा हुन सकेन। त्यसपछि समूहमा शीर्ष स्थानमा रहेर नेपाल क्वार्टरफाइनल पुगेको थियो।
समूह चरणको प्रदर्शनले नेपाललाई क्वार्टरफाइनलसम्म पुर्याए पनि त्यही प्रदर्शनले श्रीलंकासँगको खेलमा बराबरीको आधार सिर्जना गर्न सकेन। श्रीलंका प्रतियोगिताको उच्च वरीयतामा रहेकाले खेल रद्द हुँदा त्यसले नेपाललाई फाइदा पुगेन।
पछिल्लो उपलब्ध वरीयताअनुसार श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा थिए। त्यसैले खेल हुन नसक्दा श्रीलंका स्वतः अघि बढ्यो।
नेपालका प्रशिक्षक स्टुअर्ट लले खेलअघि नै वर्षाले क्वार्टरफाइनल प्रभावित भएमा कम वरीयतामा रहेको टोलीका लागि यो कठिन अवस्था हुने बताएका थिए।
एसोसिएट टोलीमाथि बढी असर
यो विषय नेपालमा मात्र सीमित छैन। हङकङ, अफगानिस्तान र मलेसियाजस्ता टोलीले पनि समान परिस्थितिको सामना गरे। हङकङले समूह चरणबाट क्वार्टरफाइनलसम्म पुगेर पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो। तर खेल सुरु नै हुन नसकेपछि पाकिस्तान अघि बढ्यो।
अफगानिस्तानले पनि समूह ‘ए’ मा नेपालपछि दोस्रो हुँदै क्वार्टरफाइनल स्थान बनाएको थियो। तर भारतसँगको खेल वर्षाका कारण रद्द भएपछि उसले मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पाएन। भारत उच्च वरीयतामा भएकाले सेमिफाइनलमा पुग्यो।
यसले एसोसिएट टोलीका लागि एउटा ठूलो चुनौती देखाएको छ– उनीहरूले प्रतियोगितामा स्थान बनाउन समूह चरणमै अतिरिक्त मेहनत गर्नुपर्ने भए पनि नकआउट चरणमा मौसमले खेल रोकिदिँदा उनीहरूको पछिल्लो प्रदर्शनको लाभ सीमित हुन सक्छ।
वरीयताको आधार के हो?
आइसीसी पुरुष टी–२० अन्तर्राष्ट्रिय टोली वरीयता विभिन्न अन्तर्राष्ट्रिय खेलको प्रदर्शनमा आधारित हुन्छ। आइसीसीका अनुसार टोलीको वरीयता खेलबाट प्राप्त अंक र सम्बन्धित खेलको कुल आधारमा गणना हुने रेटिङ प्रणालीबाट निर्धारण हुन्छ।
२०२६ को वार्षिक अपडेटमा भारत शीर्ष स्थानमा थियो। इंग्ल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा थिए। पाकिस्तान छैटौँ र श्रीलंका नवौँ स्थानमा थिए। नेपाल १७औँ स्थानमा पुगेको थियो।
यद्यपि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रयोग गरिएको ‘उच्च वरीयता’ सम्बन्धी व्यवस्था प्रतियोगिताका लागि तोकिएको वरीयता वा सीडिङसँग सम्बन्धित थियो। त्यसैले समूह चरणमा राम्रो प्रदर्शन गरेर क्वार्टरफाइनल पुगेको टोली र पहिले नै उच्च वरीयताका कारण सीड गरिएको टोलीबीच वर्षाले खेल रद्द गर्दा फरक परिणाम देखियो।
नियमले न्याय गर्छ कि अवसर घटाउँछ?
नियमको उद्देश्य यस्तो अवस्थामा प्रतियोगितालाई अगाडि बढाउनु हो। वर्षाका कारण हरेक खेलका लागि नयाँ दिन थप्दा प्रतियोगिताको तालिका लम्बिन सक्छ। एसियाली खेलकुदजस्तो ठूलो प्रतियोगितामा धेरै खेल र खेलस्थलको व्यवस्थापन हुने भएकाले रिजर्भ डे राख्नु पनि सहज हुँदैन।
तर खेलाडी र टोलीको दृष्टिकोणबाट हेर्दा मैदानमा खेल्नै नपाई बाहिरिनुपर्ने अवस्था स्वाभाविक रूपमा निराशाजनक हुन्छ। विशेषगरी नेपालजस्तो टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तानजस्ता उच्च वरीयताका टोलीसँग खेल्ने अवसर आफैँमा महत्वपूर्ण हुन्छ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएर आफ्नो क्षमता देखाएको थियो। तर क्वार्टरफाइनलमा श्रीलंकाविरुद्ध त्यही प्रदर्शनलाई निरन्तरता दिने अवसर नै पाएन। त्यसैले नेपाल बाहिरिनुको कारण उसको मैदानमा भएको प्रदर्शनभन्दा पनि खेल सञ्चालन हुन नसक्नु र त्यस अवस्थामा लागू भएको वरीयता प्रणाली बन्यो।
सेमिफाइनलमा पनि मौसम निर्णायक बन्न सक्ने
चारवटै क्वार्टरफाइनल वर्षाले प्रभावित भएपछि अब प्रतियोगिताको बाँकी खेलमा पनि मौसम मुख्य चुनौती बनेको छ। श्रीलंकाले भारतसँग तथा पाकिस्तानले बंगलादेशसँग सेमिफाइनल खेल्ने भएका छन्। यी खेल पनि वर्षाका कारण प्रभावित भएमा प्रतियोगिताको अर्को चरणमा पनि वरीयता वा अघिल्लो चरणको सीडिङ निर्णायक बन्न सक्ने अवस्था रहन्छ।
यस घटनाले एसियाली खेलकुदको पुरुष क्रिकेटमा मौसम र खेल सञ्चालनसम्बन्धी नियमबीचको सम्बन्धलाई पनि सतहमा ल्याएको छ। क्रिकेटमा वर्षाका कारण खेल प्रभावित हुनु नयाँ विषय होइन। तर नकआउट चरणमा रिजर्भ डे नहुँदा त्यसको प्रभाव अझ ठूलो हुन्छ।
नेपालका लागि यसपटकको अनुभव त्यही कारणले महत्वपूर्ण बनेको छ। समूह चरणमा राम्रो प्रदर्शन गरेर क्वार्टरफाइनलसम्म पुगेको टोलीले अर्को चरणमा पुग्ने अवसर मैदानमै पाउन सकेन। वर्षा रोकिएन, खेल भएन र अन्ततः वरीयताले फैसला गर्यो।
क्रिकेटमा खेलको नतिजा सामान्यतया ब्याट र बलबाट तय हुन्छ। तर नागोया–आइचीको पुरुष क्रिकेटमा यसपटक वर्षाले खेल रोकेपछि नियमले नतिजाको बाटो तय ग¥यो। नेपालसहित कम वरीयताका टोलीका लागि यही पक्ष सबैभन्दा ठूलो असर बन्न पुगेको छ। अब भने आइसीसीलगायत सबै क्रिकेट संस्थाहरूले यो विषयमा गम्भीर भएर नसोच्ने हो भने एसोसिएट क्रिकेट सधैँ पछाडि परिरहने अवस्था आउन सक्छ।
प्रकाशित: १३ आश्विन २०८३ १८:०९ मंगलबार