खेल

चेल्सीसँगकाे नतिजाले दबाबमा पाेटर

उत्कृष्ट पुनरागमनसहित चेल्सीले वेस्ट ह्याम युनाइटेडमाथि फराकिलो जित निकाल्दै पूर्वप्रशिक्षक ग्राहम पोटरलाई इङ्लिस प्रिमियर लिगको दोस्रो खेलमा नै पूर्ण दबाबमा पुर्‍याएको छ।

गत जनवरीमा वेस्ट ह्यामको जिम्मेवारी समालेका पोटरले पछिल्ला २१ खेलमा पाँच जित मात्र निकालेका छन् भने यस सिजनको प्रिमियर लिगको पहिलो खेलमै नयाँ टोली सन्डरल्यान्डसँग ३–० ले नतिजा गुमाएको थियो। बढुवा भएर यसै सिजन प्रिमियर लिगमा आएको सन्डरल्यान्डले गत हप्ता वेस्ट ह्याममाथि अप्रत्याशित जित निकलोको हो।

दोस्रो खेलमा वेस्ट ह्यामले सुखद नतिजा निकाल्ने संकेत देखाएको थियो। लुकास पाक्वेटाले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। तर, त्यो अग्रता जोगिएन। ‘आज हाम्रो लागि कठिनपूर्ण साँझ रह्यो,’पोटरले भने,‘बलियो टोलीविरुद्ध जुन तरिकाले गोल बेहो¥यौं, त्यहाँबाट फर्कन कठिन नै हुन्थ्यो।’

जाओ पेड्रोले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका हुन्। चेल्सीको तीनै गोल कर्नरबाट सम्भव भएको हो। त्यसपछि पेड्रो नेटो र इन्जो फर्नान्डेजले गोल गर्दै क्लब विश्व च्याम्पियन चेल्सीलाई अग्रता दिलाए। मोइसेस काइसेडो र ट्रेभोह चालोबाहले अर्को गोल थपेपछि वेस्ट ह्यामका लागि बिर्सनलायक नतिजा रह्यो।

पहिलो खेलमा क्रिस्टल प्यालेससँग चेल्सीले गोलरहित बराबरीको नतिजा सामना गर्नुपरेको थियो। दोस्रो खेलमा जितसँगै चेल्सी केही समयका लागि भए पनि सन् २०२१ को डिसेम्बरपछि पहिलोपल्ट प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा रह्यो। शुक्रबारको खेल अगाडि नै स्टार खेलाडी कोल पाल्मरले वार्मअपको दौरान मैदान छाडे। इन्जुरी हुने भयले उनलाई बाहिर राख्दै प्रशिक्षक इन्जो मारेस्काले टोली लाइनअप जारी गरेका थिए।

‘पछिल्ला ४/५ दिन उनले शतप्रतिशत फिट थिएनन्। त्यसैले हामीले नै जोखिम लिन चाहेनौं,’मारेस्काले भने। पाल्मर बाहिर रहेपछि ब्राजिलियन युवा स्टार इस्टेभाओका लागि खेल्ने बाटो खुल्यो। उनी पहिलो खेलमा आफ्नो क्षमता पनि देखाउन सफल भए। उनी अर्का ब्राजिलियन बने, जसले उत्कृष्ट शैलीमा गोल अवसर सिर्जना गरे।

स्पट फिक्सिङको आरोप लागेपछि पाक्वेटाको भविष्य खतरा हुने देखिएको थियो। तर, एक स्वतन्त्र छानबिन समितिले गत महिना मात्र उनीमाथि लागेको आरोप सही नभएको पुष्टी गरेको थियो। उनीमाथि आजीवन प्रतिबन्ध लगाउने इङ्लिस फुटबल एसोसिएनको तयारीमा उनको क्लबले प्रतिवादमा उत्रिएको थियो। त्यसका लागि २७ वर्षे पाक्वेटाले धन्यवादसमेत दिए।

उत्कृष्ट तवरले टप कर्नर गोल गरेपछि पाक्वेटाले आफ्नै शैली भावुक भएर सेलिब्रेसन गरेका थिए। तर, त्यो खुसी ९ मिनेटभन्दा बढी समय टिकेन र चेल्सीले गोल फर्कायो। चेल्सीको उत्कृष्ट पुनरामगनमा पेड्रो नायक रहे। क्लबको तीन गोलमा उनको सहभागिता रह्यो। ६ हप्ताअगाडि मात्र क्लब विश्वकप जितेको चेल्सीले अहिले लयमा फर्किएको देखाएको छ।

ब्राइटनका पूर्वस्ट्राइकर जाओ पेड्रोले चेल्सीका लागि प्रिमियर लिगको पहिलो गोल गरेका हुन्। कर्नर प्रहारबाट आएको बललाई मार्क कुकुरेलाको फ्लिक हेडरलाई उनले हेड मार्फत नै जाली चुमाए। तर, वेस्ट ह्यामले निकलस फ्युलक्रुगको गोलबाट फेरि अग्रता लियो। यद्यपि, भारबाट त्यो गोलले अफसाइड मान्यता पायो।

२३औं मिनेटमा चेल्सीले नेटोको गोलबाट अग्रता लियो। इस्टेभाओले चेल्सीविरुद्ध क्लब विश्वकपमा पाल्मेइरसका लागि गोल गरेका थिए। जुन उनका लागि पाल्मेइरसमा अन्तिम खेल पनि थियो। त्यहाँबाट नै उनी विश्व फुटबलमा क्षमतावान् युवा फुटबलरका रूपमा उदाएका हुन्।

१८ वर्षे इस्टेभाओले आफूसँग उत्कृष्ट पेस रहेको प्रमाणित गरे। यस क्रममा उनले वेस्ट ह्यामका डिफेन्डरलाई बिट गर्दै ३४औं मिनेटमा चेल्सीका लागि तेस्रो गोलको अवसर मिलाएका हुन्। त्यो गोलसँगै चेल्सी ३–१ ले अगाडि बढ्यो। समर ट्रान्सफर विन्डोलाई वेस्ट ह्यामले राम्रो सदुयोग गरेको थियो। तीमध्ये क्लबमा भित्रिएका खेलाडी गोलकिपर हर्मनसेन पनि हुन्। जसको गल्तीमा चेल्सीले चौथो र पाँचौं गोल गरेको थियो।

उनी २० मिलियन पाउन्डमा वेस्ट ह्याम आएका हुन्। उनै हार्मनसेनले कर्नरबाट आएको बललाई गरेको पन्च चेल्सीका काइसेडो खुट्टामा पुगेको थियो। जुन बललाई खाली पोस्टको जाली चुमाउन काइसेडोका लागि धेरै सहज थियो। अर्को कर्नर बललाई पनि उनले रोक्न नसक्दा वेस्ट ह्यामले अर्को गोल बेहोर्न पुग्यो।

खेल सकिन ३० मिनेट बाँकी छँदा नै घरेलु टोली वेस्ट ह्यामका हजारौ समर्थकले मैदानमा छाडेका थिए। जो समर्थक मैदानमा बसे, उनीहरूले खेल सकिए लगत्तै ठूलो आवाजमा विरोध जनाए। जिम्मेवारी पाएको सात महिनामा नै चेल्सीबाट बर्खास्तमा परेका पोटर फेरि दबाबमा देखिएका छन्। तर, उनले यी खराब नतिजाबाट टोलीलाई कसरी निकाल्ने छन् भन्ने सबैको चासो रहेको छ।

म्यानचेस्टर सिटीमाथि टोटनहमको रबाफ

लन्डन– टोटनहमले इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीमाथि २–० को रबाफिलो जित निकालेको छ।

पछिल्ला केही सिजनयता बलियो टोलीका रूपमा स्थापित म्यानचेस्टर सिटीले टोटनहमलाई सिजनको दोस्रो खेलमा नतिजा सुम्पिएको हो। लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको टोटनहम शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो हार बेहोरेको सिटी समान खेलबाट तीन अंकका साथ पाँचौं स्थानमा छ। इत्तिहाद स्टेडियममा पाहुना टोली टोटनहमको जितमा ब्रेनन जोनसन र जोआओ पाल्हिन्हाले गोल गरे। दुवै गोल पहिलो हाफमा भएका हुन्।

खेलको ३५औं मिनेटमा जोनसनको गोल मार्फत टोटनहमले अग्रता लिएको थियो। ब्राजिलियन स्टार रिचार्लिसनको पास सदुपयोग गर्दै उनले अग्रता दिलाएका हुन्। पहिलोे हाफको इन्जुरी सामयमा पाल्हिन्हाले टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा थप गोल निस्कन सकेन र टोटनहमले बलियो टोली सिटीमाथि रबाफिलो जित निकाल्यो।     

प्रकाशित: ८ भाद्र २०८२ ०८:२४ आइतबार