खेल

फुङलिङले जित्यो उपाधि

टाईबेक्ररमा मेरिङदेन गाउँपालिकालाई ४–३ ले पराजित गर्दै ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ ।  

जितसँगै फुङलिङले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ पुरस्कार पाएको छ । शनिबारको फाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईबेक्ररबाट लिईएको थियो ।

टाईबेक्ररमा फुङलिङकातर्फबाट नेहा चौधरी, सम्झना लावती, सुशीला चौधरी र कुमारी गुरुङका प्रहारले गोलको दिशा लिएको थियो भने समीक्षा मगरको प्रहारलाई गोलरक्षक जीना तामाङले असफल तुल्याइन् ।  

मेरिङदेनका तर्फबाट सिम्रन राई, जीना तामाङ र अनुष्का शेर्पाको प्रहार गोलमा परिणत हुँदा मनिता तामाङ र सुष्मा लिम्बूका प्रहार पोष्टबारबाट बाहिरिएका थिए ।  

खेलको सुरुवाती अग्रता फुङलिङले लिएको थियो । नेपाल पुलिस क्लवको महिला फुटबल टोलीका पूर्व कप्तानसमेत रहेकी कुमारी गुरुङले मध्यान्तर अघि सम्झना लावतीको पासमा मेरिङदेनविरुद्ध पहिलो गोल गरिन् ।  

खेल सकिन केही समयमात्र बाँकी हुँदा मेरिङदेनका लागि सुष्मा लिम्बूले गोल गर्दै खेललाई बराबरी ल्याइन् । बाँकी अवधिमा दुबै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाईबेक्ररतर्फ धकेलिएको थियो ।  

फाइनल खेलको प्लेयर अफ द म्याच मेरिङदेनकी जीना तामाङ बनिन् । उनले नगद ५ हजार रुपैयाँ हात पारिन् । प्रतियोगिताको उपबिजेता भएको मेरिङदेनले १ लाख २ हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।  

बिजेता टिम तथा खेलाडीलाई कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,फुङलिङ नगरप्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर) हाङगाम, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझासहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका छन् ।  

 

प्रकाशित: २० मंसिर २०८२ १९:३० शनिबार