वर्षाका कारण पोखरामा भइरहेको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता प्रभावित भएको छ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पाँच वर्षपछि पोखरामा भइरहेको ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण प्रभावित भएको हो।
बिहीबारदेखि सुरु भएको पुरुष, महिला र समूहगत खेल प्रतियोगिता शुक्रबार दिउँसोसम्म जारी थियो तर अपराह्नदेखि निरन्तर वर्षा भएपछि खेल सञ्चालन हुन नसकेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले बताए।
प्याराग्लाइडिङ उडानका लागि घामको ताप र हावाको चापको दुवै अनुकूल चाहिन्छ। तर वर्षाका कारण अनुकूल वातावरण नभएपछि खेल प्रभावित भएको उनको भनाई छ।
शनिबार सम्पन्न हुनुपर्ने प्रतियोगिता निरन्तर वर्षाका कारण प्रभावित भएपछि हालसम्म पाएको नतिजालाई आधार मानेर विजेता घोषणा गर्ने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) को तयारी छ। मौसम बदलिने पूर्वानुमानका आधारमा आयोजकले बुधबार अभ्यास खेल सञ्चालन गरेको थियो। मौसमले साथ नदिएको खण्डमा सो अभ्यास खेलमा पाएको अंकलाई पनि प्रतियोगितामा जोड्ने पूर्वयोजना अनुसार नै प्रतियोगिता सञ्चालन गरिएको थियो।
त्यसैले शनिबार अपराह्नसम्म पनि खेल सञ्चालन नभए बिहीबार र शुक्रबार भएको उडान र अभ्यास खेलमा पाएको अंकलाई जोडेर प्रथम, द्वितीय र तृतीय घोषणा गर्ने तयारी भएको संयोजक भट्टराईले बताए। ‘हामी मौसम खुल्ने आशामा बसिरहेका छौँ’, उनले भने,‘अपराह्न ५ बजेसम्म पनि खुलेन भने अहिलेसम्म पाएको अंकलाई नै आधारमा विजेता घोषणा गर्छौँ।’
पाँच वर्षपछि भएको प्रतियोगितामा ५ देशका ५२ पुरुष र १० महिलासहित ६२ खेलाडी सहभागी छन्। प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका प्याराग्लाइडिङ पाइलटहरु प्रतिस्पर्धामा छन्।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान पाउनेछन्।
त्यस्तै, महिलातर्फ प्रथमले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
यसै गरी, समूहगत प्रतिस्पर्धामा प्रथम हुनेले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजारसहित मेडल र प्रमाण पत्र पाउनेछन्।
प्रकाशित: ७ चैत्र २०८२ १३:२० शनिबार



