इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि जित निकालेपछि वेस्ट ह्यामका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले क्लबका लागि पहिलो सफलताको स्वाद पाएका छन्।
लन्डन स्टेडियममा आइतबार खेलमा पछि परेको स्थितिमा पुछारको टोली वेस्ट ह्यामले न्युक्यासलमाथि ३–१ को महत्त्वपूर्ण जित निकालेको छ। रेलिगेसन क्षेत्रमा रहेको वेस्ट ह्यामले यस सिजनमा दोस्रो जित आत्मसात गरेको छ।
वेस्ट ह्याम १७ औं स्थानको बर्नलीभन्दा तीन अंकले मात्र छ। आगामी हप्ता नै वेस्ट ह्यामले बर्नलीसँग खेल्दै छ। इडिई होवेको टोली न्युक्यासलले खेलको सुरुआतमै अग्रता पाएको थियो। ज्याकोब मर्फीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका हुन् तर, लुकास पाक्वेटाले गोल फर्काउँदै वेस्ट ह्यामलाई बराबरीमा ल्याए। स्भेन बोटमेनले आत्मघाती गोल सामना गरेपछि पहिलो हाफ अगाडि वेस्ट ह्यामले अग्रता बनायो। प्रशिक्षक होवेले दोस्रो हाफमा केही परिवर्तन पनि गरेका थिए।
यसको प्रभाव खेलमा देखिदा न्युक्यासलले बल पोसेसन आफ्नो पक्षमा राख्यो तर टोमस सौसेकले गोल गर्दै वेस्ट ह्यामका लागि तीन अंक पक्का गरे। गत सेप्टेम्बरमा मात्र नुनो वेस्ट ह्यामको प्रशिक्षकका रूपमा भित्राएका हुन्। रेलिगेसन क्षेत्रमा नै रहेको नटिङ्घम फरेस्टबाट बर्खास्तमा परेको दुई हप्ता पछि नै उनी वेस्ट ह्याम आएका हुन्। यसपछि पनि पोर्चुगिच प्रशिक्षक नुनोले पहिलो जितका लागि धैर्यता राख्नुपर्यो। खेलको चौथो मिनेटमा नै मर्फीले गोल गरेका थिए। त्यसको ६ मिनेटपछि नै वेस्ट ह्यामले पेनाल्टी अवसर पायो तर भारबाट त्यो निर्णय परिवर्तन भयो र वेस्ट ह्यामले खेलमा फर्कने अवसर गुमायो। ३५औं मिनेटमा पाक्वेटाले गोल गर्दै बराबरीमा ल्याए।
पेनाल्टी बक्सभन्दा बाहिरबाट उनले गरेको प्रहार न्युक्यासलका गोलकिपर निक पोपले भेट्टाउन सकेनन्। पहिलो हाफ अगाडि नै वेस्ट ह्यामले दोस्रो गोल गर्यो । डिफेन्डर आरोन वान बिसाकाको क्रस रोक्ने क्रममा बोटमेन आत्मघाती गोल गर्न पुगे। दोस्रो हाफपछि खेलमा फर्कने न्युक्यासलको लक्ष्य पूरा भएन र उल्टै अर्काे गोल सामना गर्यो।
न्युक्यासलका प्रशिक्षक होवेले इमिल क्राफ्ट, निक वोल्टमेड र एन्थोनी गर्डनको स्थानमा फाबियन स्चार, विलियम ओसुला र जाकोब राम्से ल्याए तर गोल फर्काउन भने सकेन र हार बेहोर्यो। घरेलु मैदानमा वेस्ट ह्यामले गत फेब्रुअरीपछि पहिलोपल्ट प्रिमियर लिगमा जित निकालेको हो। न्युक्यासल भने हारपछि प्रिमियर लिगको अंकतालिकामा १३औं स्थानमा झरेको छ।
प्रकाशित: १७ कार्तिक २०८२ ०६:५९ सोमबार