नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर एक गते सुरु हुँदैछ। पहिलो संस्करणमा दर्शकको अपार माया पाएको एनपिएलको दोस्रो संस्करणले पनि दर्शकको उस्तै माया र साथ पाउने अपेक्षा नेपाल क्रिकेट संघ (क्यान) को छ।
क्रिकटप्रेमी यतिबेला एनपिएल सिजन- २ को व्यग्र प्रतीक्षामा छन्। एनपीएलले पहिलो सिजनमै आफ्नो ब्राण्ड स्थापित गर्यो। पहिलो संस्करण सफल भएपछि हौसिएको क्यानले लगत्तै दोस्रो संस्करणको तयारी थालेको थियो।
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिदेखि प्रायोजकको खोजी, खेलाडीहरूको सम्भावना, प्रचारप्रसार लगायतमा क्यानले ध्यान केन्द्रित गरेको थियो। प्रचारप्रसारकै क्रममा एनपीएलको ट्रफी अहिले देशका विभिन्न सहरमा पुर्याउने क्रम जारी छ।
क्यानले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिलाई सबैभन्दा प्राथमिकतामा राख्यो। सहरी विकास मन्त्रालयले पनि मैदानमा विशेष ध्यान दियो, त्यहीँ भएर मैदानले अहिले आफ्नो स्वरुप नै फेरेको छ। त्रिवि मैदानको नयाँ स्वरूपमा एनपिएल सिजन- २ सहितका खेलहरू हुनेछन्।
त्रिवि मैदानमा दर्शकका लागि सिट देखि फ्लडलाइटको काम भएको छ। त्रिवि मैदानमा अब दर्शकका दुःख सकिएका छन्। चिसो भुईँमा बसेर, रुखका हाँगामा झुन्डिएर खेल हेर्नु पर्ने बाध्यताको अन्त्य भएको छ। रङ्गीचङ्गी यी कुर्सीमा बसेर अब दर्शकले एनपीएलको तीन घण्टा लामो खेलको मज्जा लिनेछन्। त्रिवि क्रिकेटमा मैदानमा १० हजार दर्शक क्षमताको प्यारापिट बनेको छ।
एनपिएलकै लागि भनेर प्यारापिटतर्फको काम सम्पन्न भइसकेको छ। प्यारापिटतर्फको निर्माण जिम्मा पाएको बिकेओआई केसिडिसि बिजिको जोइनट भेन्चर कम्पनी (जेभी)ले दसैं अघि नै सकेको हो।
कम्पनीका सञ्चालक प्रेम पौडेलले भने, ‘हामीले प्यारापिटतर्फको काम दसैँअघि नै सकेको छौं। अब हस्तान्तरण गर्न मात्र बाँकी छ।’
प्यारापिटको निर्माणले त्रिवि मैदान लोभलाग्दो बनेको छ। विगतमा रङ्गशाला छिर्ने जोकोही एक पटक टक्क अडिएर मैदानको वरिपरि आँखा डुलाउँछ। प्यारफिटमा रेलिङ लगाइएको छ भने दर्शकको सुरक्षालाई ध्यानमा राखेर खण्ड खण्ड छुट्याएर बार लगाइएको छ।
खेलाडीको सुरक्षालाई पनि प्राथमिकतामा राख्दै प्यारापिटको तल्लोभागमा काँडेतार लगाइएको छ। गत वर्षको फागुन अन्तिम साताबाट सुरु भएको प्यारापिटको काम सोचेभन्दा छिटो सकिएको भन्दै क्यान प्रतिनिधि र निर्माण पक्ष पनि खुसी छ। प्यारापिट ४३ करोड ७७ लाख सम्झौतामा निर्माण भएको हो।
फ्लडलाइटको बत्तिको जडान धमाधम हुँदै
मैदानमा भइरहेको अर्को काम हो, फ्लडलाइटको जडान। दोस्रो सिजनकै एनपिएल राति पनि खेलाउन सकिने गरी फ्लडलाइट जडानको काम तीव्र गतिमा भइरहेको हो।
विशन ईश्वरी जेभी कम्पनीले गरिरहेको फ्लडलाइटको काम एनपिएल अघि सकिने हो वा होइन भने कुरमा शङ्कै छ। फ्लडलाइटको पोल त गाडिएको छ तर सबै बत्ती भने जोडिएका छैनन्। कुनैमा छन् कुनैमा छैनन्।
एउटा पोलमा ७० वटा बत्ती जडान हुने छ अर्थात् सबै पोलमा गरेर ४२० वटा बत्ती जडान हुनु पर्नेछ ।
फ्लडलाइटमा बत्ती जडानको काम गर्दै आएका इन्जिनियरले एनपिएल सुरु हुनु अघि नै काम सकिने बताए। ‘हाम्रो लक्ष्य एनपिएल सुरु हुनुअघि नै सक्काउनु हो,’ उनले नागरिक न्युजसँग भने, ‘फ्लडलाइट ६ वटै पोलहरू जडान भइसके अब बत्ती हाल्न मात्र बाँकी छ। हामीले एउटा पोलको बत्ती जडान कार्य सकिसकेका छौँ, अब बाँकी पोलहरूमा बत्ती जडान गर्न काम छिटै नै सक्नेछौँ।’
अहिले फ्लडलाइटको काम बिहान १० बजेबाट बेलुका ६ बजेसम्म भइरहेको छ। फ्लडलाइटका लागि आवश्यक सबै बत्ती इटालिबाट ल्याइएको हो।
फ्लडलाइटको सम्झौता गत वर्ष फागुन २२ गते भएको थियो। प्यारापिट जस्तै फ्लडलाइट जडानको जिम्मा पाएको कम्पनीले पनि तोकिएको मितिमा काम सम्पन्न गर्न नसकेपछि असार मसान्तपछि दिनहुँ हर्जना तिर्दै आएको छ।
इटलीबाट आइपुग्नु पर्ने सबै बत्ती आइसकेकाले जडानको काम अबको केही दिनमै सक्ने तयारी ठेकेदार कम्पनीको छ।
यो काम सकिए, नेपाली क्रिकेट इतिहासमा पहिलो पटक होम ग्राउण्डमा फ्लडलाइटमा खेल हुनेछ। फ्लडलाइटको उज्यालोमा दर्शकले कीर्तिपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको आकाशमा सेतो बल हेर्नेछन्।
नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ।
प्रकाशित: २० कार्तिक २०८२ १७:११ बिहीबार