पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार न्यूस्टार फुटबल क्लव झापा र मरिक फुटबल क्लव धरान सुनसरी भिड्ने भएका छन् ।
ताप्लेजुङको तेल्लोकमा जारी सिरिजङ्गा गोल्डकपको दोस्रो सेमीफाइनलमा आइतबार म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुमलाई १–० ले पराजित गर्दै न्यूस्टार फुटबल क्लव झापाले मरिकसंगको भेट पक्का गरेको हो । बिजयी टिमका लागि रिचार्ड विल्सनले निर्णायक गोल गरे ।
उनको गोलनै टिमलाई जिताउन पर्याप्त बन्यो । मैदानको मध्यभाग नजिकबाट‘वन–वन सिच्वेसनमा’बल अगाडि बढाएका रिचार्डले बिना कुनै गल्ति आफ्नो प्रहारलाई गोलमा परिणत गरिदिए ।
टिमलाई जिताउन महत्वपूर्ण योगदान दिएका रिचार्ड म्यान अफ द म्याच जित्दै नगद २ हजार ५ सय रुपैयाँ पाउन सफल भए । मरिक चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपबिजेता पनि हो ।
न्यू स्टार भने अघिल्लो संस्करणमा क्वाटर फाइनलबाटै बाहिरिएको थियो । प्रतियोगिताको बिजेता टिमले नगद ३ लाख ३२१ रुपैयाँका साथ सिरिजंगासिंह थेबेको प्रतिमा रहेको तीन वर्षे रनिङ ट्रफी तथा उपबिजेताले नगद १ लाख ५० हजार रुपैयाका साथ ट्रफी पाउने छन् ।
सोमबार प्रतियोगिता समापन भएपछि तेल्लोकमा मेलिना राई,प्रताप दास र जुनु प्रसाँई सहितका कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
प्रकाशित: २८ मंसिर २०८२ १७:३७ आइतबार