खेल

मैवाखोला सेमिफाईनल प्रवेश

मैवाखोला गाउँपालिकाले ताप्लेजुङको फुङलिङमा शनिबारदेखि जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  

मैवाखोलाले सिरिजङ्गालाई २–० ले पराजित गरेको छ । विजयी टिमका लागि नानुमा लिम्बू र बिर्सना लिम्बूले १–१ गोल गरे । मध्यान्तर अघि बराबरी खेलेका दुवै टिममध्ये विजयी टिमका लागि नानुमाले पहिलो गरिन् ।  

पेनाल्टी एरियाबाट ड्रप आउट हुँदै गरेको गोललाई लङ ब्याक फर्काउँदै नानुमाले आफ्नो टिमलाई १–० को अग्रता दिलाइन् । इञ्जुरी समयको सुरुवातमा बिर्सना लिम्बूले उत्कृष्ट गोल गर्दै टिमलाई २–० को अग्रतामा पुर्‍याईन् ।  

विपक्षी टिमतर्फ फर्कन लागेको बललाई नियन्त्रणमा लिएर पोष्टतर्फ प्रहार गरेकी बिर्सनाको गोलले सिधै जाली चुम्दा खेल मैवाखोलाले २–० ले जित्यो ।  

बिर्सना पहिलो खेलको म्यान अफ द म्याच बनिन् । ८ टिम सहभागी प्रतियोगिताको दोस्रो खेलमा आइतबार पाथीभरा याङवरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको टिम भिड्दैछन् ।  

यसअघि भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले महिला फुटबलको प्रवद्र्धन र संरक्षणका लागि पहलकदमी लिएकोमा आयोजक कञ्चनजंघा फुङलिङ क्लव र ङावरक सङ्जुम्बो फुङलेङप्रति आभार व्यक्त गरे । प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ ।  

प्रतियोगिताको बिजेताले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउने समितिका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिए ।

प्रकाशित: १३ मंसिर २०८२ १७:४२ शनिबार