खेल

फर्केर हेर्दा: त्रिदेशीय अन्तर्राष्ट्रिय महिला प्रतियोगिता नेपाललाई कति उपलब्धिमूलक?

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा त्रिदेशीय अन्तर्राष्ट्रिय महिला प्रतियोगिताको उपाधि जित्न सकेन तर भारतसँगका दुवै खेलमा जित आत्मसाथ गर्न सफल भयो। 

भ्रमणका क्रममा भारतको सिलोङ र सिक्किममा गरी नेपालले कुल ३ खेल खेलेको थियो। तीन खेल खेलेको नेपालले दुई खेलमा जित र एक खेलमा हार बेहोर्‍यो। 

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजक राष्ट्र भारत, इरान र नेपाल सहभागी थिए। प्रतियोगिताको उपाधि इरानले अपराजित रहँदै जित्यो। प्रतियोगितामा इरानले दुई र नेपालले एक खेलमा जित हात पार्दा भारतले जित निकाल्न सकेन। 

उपाधिको लक्ष्य बोकेर आसाम पुगेको नेपाल तुलनात्मक रूपमा बलियो रहेको इरानसँग आफ्नो पहिलो खेलमा ३-० ले पराजित हुन पुग्यो। पहिलो हाफ बराबरीमा रोके पनि दोस्रो हाफमा नेपालमाथि इरान हाबी भयो। इरानले दोस्रो हाफको १० मिनेटभित्रै तीन गोल गरेको थियो। इरानले तीनै गोल नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै गर्‍यो। 

उक्त खेलपछि पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि दोस्रो हाफको सुरुआती १० मिनेटमा जोगिन नसक्दा पराजित हुन पुगेको स्विकारे। नेपालसँग खेल्नुअघि नै इरानले आयोजक राष्ट्र भारतलाई पराजित गरिसकेको थियो, जसको कारण सो खेलपछि इरानले प्रतियोगिताको उपाधि नै उचाल्यो। 

इरान र भारतले एसियन कप खेल्दै छन्। त्यसकै तयारी स्वरूप त्रिदेशीय प्रतियोगिता आयोजना भएको हो। नेपालले भने एक्सपोजर र फिफा विन्डको सदुपयोग गरे प्रतियोगितामा सहभागिता जनाएको  हो। 

भारतको मैदानमा नेपाल हाबी 
दक्षिण एसियाली फुटबल जगतमा नेपाल र भारत चिर प्रतिद्वन्द्वीका रूपमा चिनिन्छन्। पुरुषतर्फ होस वा महिलातर्फ नेपाल र भारतको खेल निकै रोचक हुने गर्छन्। यस्तोमा, यस पटक भारत भ्रमण नेपाली महिला फुटबल टोलीको लागि सुखद रह्यो, किनकि नेपाल र भारतले दुई वटा खेल खेलेका थिए, जहाँ दुवै खेलमा नेपालले भारतलाई पराजित गर्‍यो। 

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले भारत बलियो टोली रहेको बताइन्। उनले भनिन्, 'भारत बलियो टोली हो, उसले एसियन कप खेल्दैछ, जसको कारण टोलीमा अहिले आत्मविश्वास भरिपूर्ण रहेको छ। पहिलो खेल इरानसँग हारेपछि टोलीको लक्ष्य भारतलाई, उसैको मैदानमा हराउने थियो।'

नेपाली टोलीले लक्ष्य बोकेको अनुरूप सो प्रतियोगितामा नेपालले भारतलाई २-१ हरायो। कप्तान सावित्राको दुई गोल नै भारतलाई हराउन पर्याप्त भयो। खेलको दोस्रो मिनेटमा नै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। रक्षापंक्तिबाट आएको लामो बललाई नियन्त्रण गर्दै उनले भारतीय गोलकिपरलाई छक्काउँदै गोल गरेकी हुन्। त्यसपछि उनले ६३औँ मिनेटमा प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो। 

उक्त खेलपछि कप्तान भण्डारीले नेपाली मिडियासँग भनेकी थिइन, 'हामीले इरानसँग गरेको गल्ती भारतको खेलमा आएर सच्यायौँ, जसले गर्दा नतिजा हाम्रो पक्षमा आयो, भारतको घरेलु मैदान थियो, लक्ष्य नै हामीले भारतलाई उसैको मैदानमा हराउनु थियो, त्यो भयो टोली एकदम खुसी छ।' 

नेपालले खेलेको सुरुवातदेखि नै भारतलाई दबाबमा राखेको थियो। नेपालले गरेको सुरुको गोल देखि नै भारतले खेलमा संघर्ष गरिरहेको थियो। 'भारत एसियन कपमा छनोट भइसकेपछि उनीहरूले तयारी राम्रै गरिरहेका छन्, झन् त्यसमाथि उनीहरूकै होम ग्राउन्ड थियो,' मुख्य प्रशिक्षक नविन न्यौपाने भने,'नेपालविरुद्ध उनीहरू बलियो रूपमा खडा भएका थिए।' 

उक्त प्रतियोगितापछि गत कार्तिक १२ गते नेपाल र भारतले अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेले। त्यहाँ पनि पेनाल्टी सुट आउटमा भारतलाई नेपालले ३-० ले पराजित गर्‍यो। 

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाई ब्रेकरबाट लिइएको थियो। नेपालका चार प्रहारमध्ये तीन गोलमा परिणत भयो भने भारतका तीनै प्रहार खेल गएको थियो। 

निर्धारित समयमा भने भारतले ३०औँ मिनेटमा अग्रता लिएको थियो। तर, पहिलो हाफ इन्जुरी समयमा नेपालले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसरलाई सदुपयोग गर्न नसकेपछि टाई ब्रेकरमा नेपाल विजयी भएको हो। 
नेपाली टोली एसियन कप छनोटमा पुगेको भारतलाई हराउँदा खुसी त छ तर एसियन कप खेल्न नपाएको घाउ अझै मनमा छ। 

यस प्रकारको प्रतियोगिताले नेपाली टोलीलाई कस्तो फाइदा हुन्छ भन्ने प्रश्नमा मुख्य प्रशिक्षक नविन न्यौपाने भन्छन्, 'यस प्रकारको मैत्रीपूणै खेल हामीले खेल्न पर्छ, अझै हामीभन्दा माथि रहेको टोलीसँग खेल्न पाउनुपर्छ, यस प्रकारको खेल भयो भने टोलीमा धेरै सुधार आउँछ र नयाँ एक्सपोजर पाउने छन्। यसका साथै, टोलीको हरेक खेलाडीले आफूले आफूलाई निखार्ने मौका पाउँछन्।' टोलीले अब यही महिनाको अन्तिम सातामा इन्डोनेसियामा त्रिदेशीय प्रतियोगिता खेल्दैछ।

प्रकाशित: १७ कार्तिक २०८२ १३:४३ सोमबार