ताप्लेजुङमा आउँदो मंसिर १३ देखि २० गतेसम्म कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो । चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार यसअघि पुरुष फुटबल प्रतियोगिता हुँदै आएकोमा यसवर्ष ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय महिला फुटबल आयोजना गरिएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले बढीमा ४ जनासम्म खेलाडी राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी समेत सहभागी गराउन पाउने भएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख २ हजार ८२ रुपयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउने समितिका संयोजक कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिए । म्यान अफ द म्याच हुने खेलाडीलाई जनही ५ हजार,बिधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही ८ हजार र सर्बोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मादेनले बताए ।
संयोजक थेबेका अनुसार मंसिर १९ गते बृहत्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जुनु प्रसाईं सहितका कलाकारको उपस्थिति रहने टुङ्गो लागेको र अन्य कलाकारसंग छलफल भइरहेको थेबेले बताए । कञ्चनजंघा फुङलिङ क्लव र ङावरक सङ्जुम्बो फुङलिङको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
प्रकाशित: २१ कार्तिक २०८२ १८:५८ शुक्रबार