जुम्लाको जिल्ला खेलकुद विकास समिति लामो समयदेखि प्रशिक्षकविहीन हुँदा खेलकुद गतिविधि ठप्पजस्तै बनेको छ। समितिमा ६ दरबन्दीमध्ये ५ पद रिक्त छन् भने एक मात्र कराँते प्रशिक्षक खड्क मल्लसँग समेत खेलाडी छैनन्।
प्रशिक्षक अभावका कारण जिल्लास्तरीय टिम निर्माण, प्रशिक्षण र प्रतियोगितामा सहभागिता प्रभावित भएको छ। एथ्लेटिक्सका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया र भलिबल प्रशिक्षक बरमबहादुर महतको अवकाशपछि अनुभव र नेतृत्व झनै कमजोर बनेको छ।
जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेका अनुसार पटक–पटक माग गर्दा पनि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षक पठाउन सकेको छैन। स्थानीय तहमा पनि खेलकुद प्राथमिकतामा नपर्दा समस्या झन् गम्भीर बनेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्बभन्दा बढी बजेट ल्याए पनि आठवटै स्थानीय तहले खेलकुदलाई बेवास्ता गरेका छन्। पूर्वाधार अभाव, बजेट कमी र समन्वय नहुँदा राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिता समेत नियमित हुन सकेका छैनन्।
स्थानीय खेलाडीहरूका अनुसार गाउँस्तरमै खेलकुद गतिविधि हराउँदै गएको छ। प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनको अभावले प्रतिभा पलायन हुने अवस्था देखिएको छ।
समितिले सीमित स्रोतका बाबजुद ‘वार्षिक खेलकुद क्यालेन्डर’ तयार गरी गतिविधि पुनः सक्रिय बनाउने तयारी थालेको जनाएको छ।
प्रकाशित: १९ वैशाख २०८३ २०:३२ शनिबार