खेल

जनसेवा यूवा क्लबले उचाल्यो ट्रफी

जुम्लाको चन्दननाथ नगरपालिका-६ को जनसेवा यूवा क्लब (बी)ले चन्दननाथ-३ ले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

आइतबारको फाइनलमा उपाधि विजेताको टुंगो पेनाल्टीबाट भएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटमा जनसेवाले आयोजकलाई ६–५ गोलको अन्तरले पराजित गर्यो ।  

चन्दननाथ–३ ले अन्तिम पेनाल्टीमा गोल गर्न नसक्दा उपविजेतामा सीमित हुनुपरेको हो । उपाधि विजेता जनसेवाले नगद करकट्टी सहित १ लाख एक हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।  

कार्तिक ३ देखि नेपाली सेनाको खेलमैदान, टुडिखेलमा भएको प्रतियोगितामा जिल्लाभरीबाट ४४ टिमले सहभागिता जनाएका थिए।

प्रकाशित: १६ कार्तिक २०८२ २०:०९ आइतबार