खेल

फुटबलको क्रेज बनाउँदै जलजला एफसी क्लब

जलजला एफसी टिमका खेलाडी र गाउँ। तस्बिर: गाेल्डेन/नागरिक

जुम्लाको सिँजा गाउँपालिका–६ रुघा गाउँको बिहान। सुर्यको किरणले उज्यालिएकाे पाखा, चिसो हावा, अनि ठिटाठिटीहरू बाँझो खेतमा हाँस्दै, ठट्दै फुटबल खेल्दै। तर त्यो बल, बजारको होइन पुराना कपडाको डल्लो। त्यही डल्लो बल लिएर रमेश रोकाया दौडिरहेका थिए। न त जर्सी थियो, न फुटबलका जुत्ता। मात्र एउटा सपना थियो, वास्तबिक बलले खेल्ने।

त्यो सपना गाउँका अरूलाई हासो तर रमेशका लागि त्यो जीवनको पहिलो लक्ष्य थियो। रमेशका साथी रामकृष्ण रोकाय पनि उस्तै। उनी टिभीमा फुटबल हेर्थे, अनि मनमा लाग्थ्यो, 'म पनि यस्तै खेलाडी बन्ने छु।' तर कहाँबाट सुरु गर्ने? बल किन्न सक्ने पैसा थिएन। त्यसैले उनले पनि पुराना प्लास्टिक र कपडाहरू जोडेर फुटबल बनाए।

साथीहरूलाई बोलाए, खेतमा लाइन कोरे, अनि सुरु भयो 'रुघा कप’। बल उड्थ्यो, धुलो उड्थ्यो, हाँसो उड्थ्यो- अनि जन्मन्थे सपनाहरू। ती बाल्य सपनाहरू तीन वर्षअघि मूर्त रूप लिन थाले। रमेश, रामकृष्ण र गाउँका केही युवाले मिलेर जलजला एफसी फुटबल क्लब दर्ता गरे। नामै जस्तो जलजला जसले गाउँमा फुटबलको कम्पन ल्यायो। त्यो टिमले पहिलो खेलमै जित्यो सिँजा गाउँपालिकाको प्रतियोगिता। पुरस्कार थियो ३५ हजार रुपैयाँ र प्रमाणपत्र।

तर रमेशका लागि त्यो रकमभन्दा ठूलो पुरस्कार थियो गाउँका बाआमाको मुस्कान। 'अब हाम्रो छोराहरू साचो खेलाडी भए रे,' गाउँलेहरूले गर्वका साथ भनेका थिए।

तीन वर्षमा जलजला एफसीले एकपछि अर्को उपाधि जित्दै गयो। जुम्लाको कनकासुन्दरी कपमा ६० हजार, हिमा कपमा ५० हजार, पुनः हिमा गोल्ड कपमा त एक लाख रुपैयाँ र प्रमाणपत्र। रमेश भन्छन्, 'हामीले डल्लो बलबाट सुरु गरेका थियौं। आज गोल्ड कपको ट्रफी बोकेर फर्किन्छौं। यो हाम्रो सपना मात्र होइन, गाउँको गौरव हो।'

फुटबलको जोश बढ्दो छ, तर सुविधा छैन। खेल मैदान छैन, प्रशिक्षण छैन, न त खेलकुदमा लगानी। तर, ती युवाहरू हिम्मत हारेका छैनन्। विद्यालयको चौर, खेतको किनार, जहाँ ठाउँ भेट्छन्, त्यहीँ फुटबल सुरु हुन्छ। रामकृष्ण मुस्कुराउँदै भन्छन्, 'यदि स्थानीय सरकारले साथ दियो भने, हामी एक दिन राष्ट्रिय खेलाडी बन्न सक्छौं।'

दसैं–तिहार आउँछ, गाउँमा फुटबलको रौनक फैलिन्छ। परदेशबाट युवाहरू फर्किन्छन्, बुढाबूढी, बालबालिका सबै मैदान वरिपरि भेला हुन्छन्। फुटबल अब केवल खेल होइन, दुर्गम गाउँको उत्सव बनेको छ। यता सिंजा-६ का वडा सदस्य रामबहादुर रोकाय भन्छन्, 'फुटबलले गाउँलाई एकतामा बाँधेको छ। अब हाम्रो गाउँमा भलिबल होइन, फुटबलको आवाज सुनिन्छ।'

रमेश, रामकृष्ण र उनका साथीहरूको कथा एउटा सन्देश हो, सफलता शहरबाट होइन, सपना देख्न सक्ने हृदयबाट सुरु हुन्छ। कपडाको डल्लो बल आज गाउँको इतिहास बनेको छ। ती केटाहरूलाई अहिले गाउँले अचम्मले होइन, अभिमानले हेर्छन्। कहिले काँही साधारण मैदानमा सुरु भएको एउटा खेलले जीवनभरको दिशा दिन सक्छ। रमेश र उनका साथीहरूको कथा त्यसको प्रमाण हो, जहाँ मनमा खेल हुन्छ, त्यहाँ मैदान आफैँ बन्छ।

प्रकाशित: ८ कार्तिक २०८२ ०७:०० शनिबार