आगामी जुन महिनामा अमेरिकामा हुने फिफा विश्वकप खेल्ने इरानको कठिन यात्रामा यसै साता केही सकारात्मक उपलब्धि देखिएको छ।
आगामी फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध युद्ध सुरु गरेपछि फिफा विश्वकपमा इरानी टोलीको सहभागिता अन्योलपूर्ण हुँदै आएको थियो । यो घटनापछि इरानले पहिलोपटक फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग आमनेसामने भेट गरेको छ।
टर्कीमा भएको यस भेटले तनावपूर्ण अवस्थाबिच फुटबल कूटनीतिमा प्रगति भएको संकेत दिएको छ। इरानी फुटबल महासंघले उक्त भेटलाई सकारात्मक रूपमा लिएको छ। त्यो छलफलमा इरानको विश्वकपका खेलहरू मेक्सिकोमा सार्ने विषय भएको या नभएको उल्लेख गरिएको छैन। खेल सारिन सक्नेबारे इन्फान्टिनोले पछिल्ला दुई हप्तादेखि अस्वीकार गर्दै आएका छन्। इन्फान्टिनोले टोलीलाई आगामी दुई महिनामा विश्वकप तयारीका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
युद्धका कारण इरानको राष्ट्रिय लिग बन्द भएको छ। धेरै इरानी खेलाडीहरू क्लबबाहिर छन्। इरानको प्रशिक्षणस्थल एरिजोनाका आयोजकहरूले प्रशिक्षण शिविरको स्तरोन्नति र सुरक्षा योजनाहरू अघि बढिरहेको बताएका छन्, जुन फिफाले अपनाएको तालिका अनुसार अघि बढ्ने नीतिसँग मेल खान्छ। टर्कीको समुद्री सहर एन्टाल्यामा गत मंगलबार इरानले कोस्टारिकामाथि ५–० को फराकिलो जित निकालेको थियो।
उक्त मैत्रीपूर्ण खेल इन्फान्टिनोले हेरेका थिए। अबका दुई महिना इरानी टोली र राष्ट्रका लागि अनिश्चितताले भरिएका छन्। किनकि युद्धबारे अमेरिकाको धारणा अझै मिश्रित देखिन्छ। युद्ध रोकिन सक्ने बारे संकेत देखिएको छैन। इरानले विश्वकप बहिष्कार गर्ने वा खेलहरू मेक्सिको सार्ने चर्चा अहिले कम हुँदै गएको छ।
इरानी टोली जुन १० तारिखभित्र टक्सनस्थित प्रशिक्षण शिविरमा पुग्ने अनुमान छ। जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपमा इरान सहभागी हुने अपेक्षा गरिएको छ। युद्ध सुरु भएसँगै इरानको विश्वकप सहभागिताबारे प्रश्न उठ्न थालेको थियो। मार्चको सुरुआती समयमा सरकारी अधिकारीहरूले टोलीले विश्वकप नखेल्न सक्ने, अमेरिका यात्रा गर्न नसक्ने वा फिफाले खेलहरू मेक्सिको सार्नुपर्ने धारणा राख्दै थिए। इरानी फुटबल महासंघका प्रवक्ताले फिफासँग भएको पछिल्लो छलफलबारे कुनै पनि धारणा दिन अस्वीकार गरेका छन्। इरानी फुटबल महासंघले हालसम्म विश्वकपबाट आफ्नो नाम फिर्ता लिएको छैन।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले इरानका खेलहरू आयोजना गर्न सकिने संकेत दिएकी थिइन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने फरकफरक अभिव्यक्ति दिएका थिए। कहिले इरान आए पनि फरक नपर्ने, कहिले खेलाडीहरू सुरक्षित नहुने र कहिले उनीहरूलाई स्टारसरह व्यवहार गरिने बताएका थिए। फिफा भने सबैभन्दा स्थिर रूपमा नै उभिएको छ।
इन्फान्टिनोले स्पष्ट रूपमा इरान अमेरिका आउने, तालिका परिवर्तन नहुने र मेक्सिकोबारे कुनै औपचारिक छलफल नभएको बताएका छन्। इरान अरिजोनामा प्रशिक्षण गर्न आउने र जुन १५ तारिखमा न्युजिल्यान्डसँग खेल्न सक्ने अनुमान गरिएको छ। जुन इन्गलवुडको लस एन्जलस स्टेडियममा हुने तय छ।
इरानी टोलीको सुधारिएको साता
फिफाको नियमअनुसार क्लबहरूले खेलाडीहरूलाई राष्ट्रिय टोलीमा पठाउने समय पाएका थिए। इरानले नाइजेरियासँग २–१ ले हार बेहोरेको थियो भने कोस्टारिकामाथि ५–० को जित निकालेको थियो। यी दुवै खेल दर्शकविहीन थिए। राष्ट्रगानका बेला इरानी खेलाडीहरूले युद्धका पीडितहरूको समर्थनमा बालबालिकाका झोला र तस्बिर प्रदर्शन गरेका थिए।
यस क्रममा स्टार स्ट्राइकर सर्दार अजमौन टोलीमा समावेश थिएनन्। संयुक्त अरब इमिरेट्सका नेतासँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनलाई सरकारी निर्देशनमा टोलीबाट बाहिर राखिएको बताइएको छ। इन्फान्टिनोले प्रशिक्षक अमिर घालेनोई र खेलाडीहरूसँग भेट गरेका थिए। साथै महासंघका अधिकारीहरू मेहदी मोहम्मद नाबी र ओमिद जमालीसँग पनि छलफल गरेका थिए। उनले टोलीलाई सर्वोत्तम तयारी अवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् र आवश्यक परे सहयोग गर्ने बताएका छन्।
विश्वकप तालिका
इरानले आफ्नो पहिलो खेल जुन १५ मा न्युजिल्यान्डविरुद्ध इंगलवुडमा खेल्नेछ। त्यसपछि बेल्जियमसँग पुनः त्यही मैदानमा प्रतिस्पर्धा गर्नेछ र अन्तिम समूह खेल सिएटलमा इजिप्टविरुद्ध खेल्नेछ। इरानले एरिजोनाको टक्सनस्थित किनो स्पोटर्स कम्प्लेक्सलाई आफ्नो प्रशिक्षण आधार बनाएको छ। त्यहाँकी निर्देशक सारा हान्नाले टोलीको आगमनका लागि तयारी भइरहेको बताएकी छन्। समग्रमा चुनौतीपूर्ण अवस्थाका बावजुद इरानी फुटबल विश्वकप सहभागितातर्फ अघि बढिरहेको देखिन्छ।
प्रकाशित: २१ चैत्र २०८२ ०८:०१ शनिबार