अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन्।
आबुधाबीमा भएको मिनी अक्सनमा मंगलबार कोलकाता नाइट राइडर्सले क्यामरुनलाई २५.२० करोड भारुमा खरिद गरेपछि उनी आइपिएलको इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी भएका हुन्।
आगामी २०२६ को आइपिएलमा उनलाई टोलीमा समावेश गर्न अक्सनमा बोलीको युद्ध नै चलेको थियो। यद्यपि, पूर्वच्याम्पियन कोलकाताले सबैभन्दा बढी मूल्यमा क्यामरुनलाई आफ्नो बनाएको छ। उनले आफ्नै देशका मिचेल स्टार्कको कीर्तिमानलाई पछि पारेका हुन्। यसअघि कोलकाताले नै सन् २०२४ को अक्सनमा स्टार्कलाई २४.७५ करोड भारुमा खरिद गरेको थियो। जुन कीर्तिमान कोलकाताले नै पछि पारेको छ। कोलकाताले कीर्तिमानी मूल्यमा ग्रिनलाई किने पनि उनले १८ करोड भारु मात्र पाउने भएका छन्।
७.२ करोड भारु भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को कल्याणकारी कोषमा जम्मा हुनेछ। बिसिसिआईले गत वर्ष मात्र मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड भारुभन्दा बढी खर्च गर्न नपाउने सीमा तोकेका थियो। विदेशी खेलाडीले धेरै महँगो मूल्यको फाइदा नउठाउन् भनेर त्यो नीति ल्याइएको बिसिसिआईको भनाइ छ।
अमेरिकी डलर र भारतीय रुपैयाँबिचको विनियम दरमा आएको उतारचढावका कारण ग्रिनले स्टार्कको भन्दा कम मूल्य पाउने भएका छन्। अहिले एक डलरको ९० रुपैयाँमा झरेको छ। स्टार्कको समयमा डलरको भाउ उच्च थियो।
क्यामरुन आइपिएलको इतिहासमा सबैभन्दा महँगा तेस्रो खेलाडी पनि बने। भारतीय क्रिकेटर ऋषभ पन्त २७ करोड भारु र श्रेयष ऐयर २६ करोड ७५ लाख भारुमा बिक्री भएका थिए।
२६ वर्षे क्यामरुनले आइपिएलमा मुम्बई इन्डियन र डिफेन्डिङ च्याम्पियन रोयल्स च्यालेन्जर्स बैङ्लोरका लागि २९ खेलमा ७०७ रन बनाएका छन्। उनले चोटका कारण सन् २०२५ को संस्करण गुमाउनुपरेको थियो। अहिले उनी एसेजमा इङ्ल्यान्डविरुद्ध खेलिरहेका छन्।
मिनी अक्सनले केही अप्रत्याशित नतिजा पनि देखाएको छ। जहाँ अस्ट्रेलियाका ज्याक फ्रेसर म्याकगुर्क र इङ्ल्यान्ड अलराउन्डर लियाम लिभिङ्स्टनजस्ता खेलाडी अनसोल्ड भए तर दोस्रो चरणमा उनीहरू बिक्री हुन सक्छन् र त्यसका लागि फ्रेन्चाइज टोलीले नै माग गर्नुपर्नेछ। अमेरिकन इन्भेस्टमेन्ट बैंकले आइपिएलको मूल्य १८.५ बिलियन डलर रहेको उल्लेख गरेको छ।
२० वर्षे प्रशान्त वीर र १८ वर्षे कार्तिक शर्मा पनि ठूलो मूल्यमा बिक्री भएका छन्। चेन्नई सुपर किङ्सले प्रशान्त र कार्तिकलाई समान १४.२० करोड भारुमा खरिद गरेको हो। दुवैको न्यूनतम मूल्य ३० लाख थियो। जहाँ उनीहरूमाथि ४७ गुणा बढी मूल्य लाग्यो। प्रशान्त उत्तर प्रदेश र कार्तिक राजस्थानका हुन्। जम्मु कस्मिरका अकिब नबी दार पनि ८.४० करोड भारुमा दिल्ली क्यापिटल्स पुगेका छन्।
श्रीलंकाका तीव्र गतिका बलर मथिशा पाथिरानालाई १८ करोड भारु र बंगलादेशका मुस्ताफिजुर रहमानलाई पनि ९.२० करोड भारुमा कोलकाताले खरिद गरेको छ। बैंङलोरले बैङ्टेश ऐयरलाई सात करोड भारुमा आफ्नो बनाएको छ। गत संस्करणको मेगा अक्सनमा उनीमाथि २३.७५ करोड भारुमा बोली लगाउँदै कोलकाताले भित्र्याएको थियो।
प्रकाशित: २ पुस २०८२ ०७:०८ बुधबार