पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा ‘२१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए। प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुने उनले बताए। प्रतियोगितामा नेपालसहित ७ भन्दा बढी देशका करिब एकसय जना खेलाडी सहभागी हुने आयोजकले बताएको छ।
उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भारत, चीन, मलेसिया, थाईल्याण्डलगायतका देशका प्याराग्लाइडिङ पाइलटहरुले प्रतिस्पर्धाका लागि नाम दर्ता गराइसकेका छन्। प्रतियोगितामा सहभागी हुन यूरोपका विभिन्न देशका १५ भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि मध्यपूर्वी मुलुकमा देखिएको तनावका कारण उनीहरुले नाम रद्द गरेको उनले जानकारी दिए।
पोखरा–१८ सराङकोटबाट उडान (टेकअफ) र खपौंदीमा अवतरण (ल्याण्डिङ) हुनेगरी प्रतियोगिता सञ्चालन हुने उनको भनाई छ। प्रतियोगितालाई सुरक्षित बनाउन आवश्यक सुरक्षा प्रवन्ध मिलाईने प्रतियोगिताको सुरक्षा निर्देशक योगेश भट्टराईले जानकारी दिए। यो प्रतियोगिता निश्चित क्षेत्रमा मात्रै हुने भएकाले जोखिम कम हुने उनले बताए।
‘यस प्रतियोगितामा लामो दुरी वा धेरै उचाई लिन आवश्यक छैन र पाईंदैन पनि। त्यसैले अलि सुरक्षित पनि हुन्छ,’ उनले भने, ‘सराङकोटबाट उडेर सिधै खपौंदीमा ल्याण्डिङ हुने भएकाले सुरक्षा जोखिम हुँदैन।’ यद्दपी सम्भावित दुर्घटनाबाट बच्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्दार (रेस्क्यू) टोली तैनाथ गरिने उनले जानकारी दिए। ‘त्यसबाहेक सम्भावित दुर्घटनालाई मध्यनजर गरेर उडान र अवतरण हुने दुबैतर्फ चिकित्सक सहितको मेडिकल टिम र एम्वुलेन्स तथा अवतरण क्षेत्रमा फेवाताल भएकाले मोटरबोटसमेत तयारी अवस्थामा राखिनेछ,’उनले भने।
साहसिक खेलको विकास गर्दै पर्यटनको राजधानी पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टराईले बताए। ‘यसले प्याराग्लाईडिङ खेलको विकास गर्नेछ भने सँगै पर्यटन आकर्षित गरेर पोखरालाई खेल पर्यटनको केन्द्रको रुपमा स्थापित गर्न मद्दत गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख मणिराज लामिछानेले प्याराग्लाईडिङ प्रतियोगिताले पर्यटनमा नया आयाम थप्ने विश्वास व्यक्त गरे। पर्यटन चलायमान गराउन यस्ता प्रतियोगिताहरु भइरहनु आवश्यक छ,’ उनले अगाडि थपे, ‘पोखरालाई ईभेन्ट नै ईभेन्टहरुको सहर बनाउनुपर्छ। जति धेरै ईभेन्ट भयो त्यति धेरै पर्यटक भित्रिने हो।’
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई एकलाख र तृतीय हुनेलाई ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिए। त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए। यसैगरी, समूहगत प्रतिष्पर्धामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष केसीले बताए।
प्रकाशित: ३ चैत्र २०८२ १७:३६ मंगलबार