पोखरामा २१ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६ जारी छ।
शनिबारसम्म हुने प्रतियोगितामा एकलतर्फ पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा भइरहेको छ। शुक्रबार तेस्रो र चौथो राउण्डको उडान भइरहेकोे संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए। दोस्रो राउण्डको उडान भर्न बाँकी पाइलटहरुले पनि आज उडान भरेका उनले बताए।
पाँच वर्षपछि भएको प्रतियोगितामा ५ देशका ५२ पुरुष र १० महिलासहित कुल ६२ जना खेलाडी सहभागी छन्। प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा छन्।
प्रतियोगिताका लागि खेलाडी पाइलटले सराङ्कोटबाट (टेकअफ) उडान र खपौंदीमा ल्याण्डिङ (अवतरण) गर्न्पर्नेछ । एक्कुरेसी प्रतियोगिता भएकाले खेलाडीहरुले अवतरण गर्दा तोकिएको क्षेत्रमै गर्नुपर्नेछ । त्यसका लागि रेखाङ्कन गरेर क्षेत्र बनाइएको छ । रेखाङ्कन विन्दुको नजिक ल्याण्डिङ गरेको आधारमा प्रथम, द्वितीय र तृतीय हुने उनले बताए।
साहसिक खेलको विकास गर्दै पर्यटनको राजधानी पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ‘ना’का अध्यक्ष अनिल केसीले बताए।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिए।
त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। यसैगरी, समूहगत प्रतिष्पर्धामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।
प्रकाशित: ६ चैत्र २०८२ १३:३० शुक्रबार



