खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सम्पन्न सातौँ सोल्मा अन्तरवडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ को उपाधि इन्द्रेणीपोखरीले जितेको छ ।
सोल्मा स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा साकेला गाउँपालिका–५ मात्तिमलाई ३–० गोलले पराजित गर्दै इन्द्रेणीपोखरीले उपाधि जितेको हो । सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको इन्द्रेणीपोखरीले एकतर्फी तीन गोल गर्दा मात्तिमले कुनै गोल गर्न सकेन ।
उपाधिसँगै इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मात्तिमले ७७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए ।
प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नम्बर ५ लफ्याङ सेमिफाइनलमा पुगेका थिए । दुवै टोलीले जनही ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी घोषित भए । इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सविन भुजेल उत्कृष्ट डिफेन्डर, विकास राई उत्कृष्ट प्रशिक्षक तथा विजय राई उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर र साहेल राई सर्वाधिक गोलकर्ता बने ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार ५५५ रुपैयाँ र अन्य विधाका उत्कृष्टलाई जनही दुई हजार २२२ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले बताए ।
विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
कात्तिक ११ गतेदेखि सुरु भएको खुला अन्तरवडाकपमा जिल्लाका विभिन्न स्थानीय तहका १२ टोली सहभागी थिए । प्रतियोगिताकै अवसरमा आयोजकले कात्तिक १५ गते बृहत् सांगीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गरेको कार्यक्रममा चर्चित गायिका रचना रिमालसहित राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।
जिल्लाको खेलकुद क्षेत्रको विकास र प्रवर्द्धन गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबले २०७० सालदेखि हरेक वर्ष वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘सभ्य समाज निर्माणको निम्ति अनिवार्य खेलकुद’ भन्ने नारासहित स्थापित क्लबले सोल्मामा निजी जग्गा खरिद गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आफ्नै खेलमैदानसमेत निर्माण गरेको अध्यक्ष राईले बताए ।
प्रकाशित: १८ कार्तिक २०८३ १९:२८ बुधबार