खेल

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

उदयपुरमा सम्पन्न त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता ०८३ को उपाधि पाहुना टिम भारतको जर्जियन फुटबल क्लबले जितेको छ। 

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

उपाधिका लागि जर्जियनलाई मध्यान्तरअघिको पहिलो गोल नै अन्तिम साबित हुन पुग्यो। मध्यान्तरको अन्तिम मिनेटमा जर्जियनका खेलाडी करण चौधरीले गोल गरेका थिए। मध्यान्तरपछिको खेलमा पनि सातदोबाटोले कुनै गोल फर्काउन नसकेपछि चौधरीको पहिलो गोल नै अन्तिम र निर्णायक हुँदै उपाधिका लागि पर्याप्त हुन पुग्यो।

उपाधि जितेसँगै जर्जियनले नगद ५ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले विजेता टिमलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे। त्यसैगरी उपविजेता बनेको सातदोबाटोलाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो।

अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको विजेता जर्जियन अघिल्लो दिनको अन्तिम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब सुनसरीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

हनामी भरतपुर टिम चितवनलाई हराएर सेमिफाइनलमा प्रवेश पाएको उपविजेता सातदोबाटोले उद्घाटन खेलमा घरेलु गाईघाट एफसीलाई पराजित गरेर सेमिफाइनलमा पसेको सहलेश फुटबल क्लब सिराहालाई पहिलो सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको थियो।

त्रियुगा नगरपालिकाको प्रमुख प्रायोजन र म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहप्रायोजनमा त्रियुगा फुटबल क्लब गाईघाटले प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आयोजना गरेको हो। विजेता विदेशी टिम जर्जियन र आयोजक गाईघाट एफसीसहित विभिन्न ८ वटा खेल समूहको प्रतियोगितामा सहभागिता रहेको थियो।

क्याप्सनः उपाधि जितेपछि ट्रफीसहित आयोजकसँग सामूहिक तस्बिर खिच्दै पाहुना टिम जर्जियन भारत। तस्बिरः महेश्वर

प्रकाशित: २२ कार्तिक २०८३ १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App