वासिङ्टन सुन्दरको इनिङ प्रेरित भारतले तेस्रो खेलमा आइतबार अस्ट्रेलियामाथि जित निकाल्दै पाँच खेलको शृंखलामा पुनरागमन गरेको छ।
होबार्टमा भएको तेस्रो खेलमा वासिङ्टनको ४९ रनको अविजित इनिङसँगै भारतले घरेलु टोली अस्ट्रेलियामाथि पाँच विकेटको जित निकाल्दै शृंखलामा पुनरागमन गर्यो। होबार्टको बेलेरिभ ओभलमा घरेलु टोलीले एक सय ८७ रनको लक्ष्य दिएको थियो तर त्यो लक्ष्य भारतले मात्र पाँच विकेटको क्षतिमा सहजै भेट्टायो।
अस्ट्रेलियाका टिम डेविडले ३८ बलमा ७४ रनको सानदार इनिङ खेले। मार्कस स्टोइनिसले पनि ३९ बलमा ६४ रन जोड्दा अस्ट्रेलिया विशाल योगफलतर्फ अग्रसर भएको हो। भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले ३/३५ को प्रदर्शन गरे। डेविड र स्टोइनिङको आक्रामक ब्याटिङका बाबजुद भारतले ९ बल अगावै लक्ष्य भेट्टायो।
सुन्दरसँगै अन्य ब्याटरले योगदान दिए र भारतले शृंखलामा फर्कने अवसर पायो। यो जितसँगै भारतले पाँच खेलको शृंखलामा १–१ को बराबरी गरेको छ। पहिलो खेल भने वर्षाका कारण प्रभावित भएको थियो। अब यी दुई टोलीबीच गोल्ड कोस्ट र ब्रिसबेनमा दुई खेल हुनेछ। ‘टस जित्नु महत्त्वपूर्ण पक्ष हो।
हामीले १९ या २० खेलमा टस हारेपछि खेल पनि गुमाएका छौं। त्यो हारको शृंखलामा पूर्णविराम लागेको छ,’भारतीय कप्तान सूर्यकुमार यादवले भने, ‘ब्याट र बलबाट हाम्रा सबै खेलाडीले योगदान दिए। यो जितले धेरै खुसी छौं।’
अस्ट्रेलियाले जोस हेजलवुडको अभाव महसुस गर्यो। मेलबर्नमा भएको पछिल्ला खेलमा घरेलु टोलीले जित निकाल्दा उनले उत्कृष्ट बलिङ गरेका थिए।
एसेस शृंखलामा इङ्ल्यान्डसँगको खेलका लागि भन्दै उनी भारतविरुद्ध उपस्थित थिएनन्। उनको स्थानमा आएका सिन अबटले ३.३ ओभरमा ५६ रनको खराब प्रदर्शन गरे। ‘हामी २० रन जति कम देखियौं। त्यसका लागि हामीले राम्रो प्रदर्शन गर्नुपर्छ,’अस्ट्रेलियाका कप्तान मिचेल मार्सले भने,‘तर जुन तरिकाले हाम्रा खेलाडीले खेले त्यो तारिफयोग्य छ। स्टोइनिसले आफ्नो अनुभव अनुरूप खेले। टी ट्वान्टी क्रिकेटमा १/२ ओभर खराब हुनु बितिक्कै खेलमा असर पुग्छ। आज त्यस्तै भयो र हामीले हार बेहोर्यौं।’
आक्रामक ब्याटर अभिशेक शर्माले छिटै २५ रन जोड्दै लक्ष्य पछ्याएको भारतका लागि राम्रो सुरुआत गरे।
उनी नाथन इलिसको बलमा विकेटकपिर जोस इङ्लिसबाट क्याच भए। इलिसले शुभमन गिललाई पनि १५ बलमा एलबिडब्लु आउट गरे। सूर्यकुमार २४ रनमा स्टोइनिसको शिकार भए तर पनि मध्य इनिङमा पुग्दा भारत १०६/३ को स्थितिमा थियो। त्यसपछि लगातार दुई विकेट झर्यो र भारतलाई अन्तिम पाँच ओभरमा ३५ रन आवश्यक पर्यो।
सुन्दरले उत्कृष्ट ब्याटिङ गर्दै त्यो लक्ष्य पूरा गरिदिए। त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले सुखद सुरुआत पाउन सकेन। ओपनर ट्राभिस हेड ६ रनमै पहिलो ओभरमा आउट हुन पुगे।
उनलाई अर्शदीप सिंहले पेभेलियनको बाटो देखाएका हुन्। त्यसपछि इङ्लिस पनि १ रनमा नै आउट भए तर डेविडले आक्रामक ब्याटिङ गरे र २३ बलमा नै अर्धशतक पूरा गरे। त्यसमा ८ चौका र पाँच छक्का थियो। उनले प्रहार गरेको एउटा छक्का झन्डै स्टेडियम बाहिर नै पुग्यो। स्पिनर वरुण चक्रवर्थीले अर्को छेउबाट कप्तान मिचेल मार्स (११) र मिचेल ओवेनलाई एउटै ओभरमा आउट गर्दै दबाब बनाए। शिभम् दुवेको बलमा डेविड पनि बाउन्ड्री लाइनमा क्याच हुन पुगे।
प्रकाशित: १७ कार्तिक २०८२ ०९:०१ सोमबार