नेदरल्यान्ड्समा चारै खेल गुमाएपछि नेपालको विश्वकप सपना मात्र होइन, एकदिवसीय क्रिकेट खेल्ने हैसियतमाथि समेत प्रश्न उठेको छ । अब सुधार नगरे नेपाली क्रिकेट कठिन मोडमा पुग्ने खतरा पनि बढेको छ ।
नेपाली क्रिकेट टोली नेदरल्यान्ड्स जाँदा लक्ष्य केवल खेल खेल्नु थिएन । लक्ष्य थियो—विश्वकप लिग–२ मा महत्वपूर्ण अंक जोड्ने, विश्वकप छनोटको सम्भावना बलियो बनाउने र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा बनाएको पहिचानलाई अझ माथि पु¥याउने थियो । तर चार खेलपछि कथा ठीक उल्टो भयो । जारी विश्वकप लिग २ को आफ्नो आठौं शृंखलामा नेपाल चार खेलमा अंकविहीन बन्यो । अर्थात् एउटा पनि जित हासिल गर्न सकेन ।
पहिलो खेलमा नामिबियासँग ८ विकेट, दोस्रोमा नेदरल्यान्ड्ससँग ६ विकेट, तेस्रोमा नामिबियासँग ३ रनको साँधुरो पराजय र अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनको लज्जास्पद हार ।
नेपालका लागि यो केवल एउटा खराब सिरिज मात्र होइन । यो चार खेलले नेपाली क्रिकेटको अहिलेको वास्तविक अवस्था प्रष्ट्याइदिएको छ।
ध्वस्त ब्याटिङ
नेपालले अघिल्ला २ खेलमा पहिला ब्याटिङ गर्यो । पहिलोमा १ सय ५७ र दोस्रोमा १ सय ५७ । पछिल्ला दुई खेलमा जवाफी इनिङ्समा नेपाल पहिलोमा २ सय ८ र दोस्रोमा १ सय ६८ रनमा सीमित बन्यो । चारमध्ये तीन खेलमा नेपालले १७० रनको आँकडा पनि पूरा गर्न सकेन। २ सय रन पार गरेको एउटा खेलमा पनि ३ रनले पराजित हुन पुग्यो ।
चारै खेल र चारै इनिङ्सलाई केलाउने हो भने नेपालको ब्याटिङ ध्वस्त बन्यो ।
नेपालले सुरुवातमा विकेट गुमाउँदा त्यसलाई सम्हाल्ने साझेदारी बनाउन सकेन। मध्यक्रमले खेललाई नियन्त्रणमा लिन सकेन। अन्तिम ओभरका लागि विकेट बचाएर राख्ने र रनको गति बढाउने योजना पनि यो सिरिजमा खासै प्रभावकारी देखिएन ।
एकदिवसीय क्रिकेटमा हरेक बलमा ठूलो सट खेल्नुपर्दैन । कहिलेकाहीँ ३० बलमा १५ रन पनि मूल्यवान हुन्छ । किनकि त्यो १५ रनले अर्को ब्याटरलाई क्रिजमा टिक्नलाई र्पयाप्त समय दिन्छ । तर नेपालले यही धैर्यपूर्ण क्रिकेट खेल्न संघर्ष गरिरहेको देखियो । खेल जित्ने अवस्थामा पुगेपछि कसरी अन्तिम केही ओभर खेल्ने ? कुन बलमा जोखिम लिने ? कुन बलमा स्ट्राइक रोटेट गर्ने ? कुन ब्याटरले जिम्मेवारी लिने ? यी प्रश्नको उत्तर नेपालले यो सिरिजको कुनै पनि खेलमा दिन सकेन ।
शाख जोगाउँदै बलिङ
भनिन्छ, नेपालको क्रिकेट बलिङले धानेको छ। ठुला प्रतिस्पर्धामा नेपाली बलर सधैं प्रभावकारी देखिएका छन्। चाहे त्यो अमेरिका विश्वकपमा साउथ अफ्रिकासँगको प्रतिस्पर्धामा होस् वा भारतमा इंल्यान्डलाई आछुआछु पार्दा किन नहोस्। नेपालको बलिङ अब्बल छ। नेदरल्यान्ड्स भ्रमणमा पनि बलिङलाई पूर्ण रूपमा असफल भन्न मिल्दैन । बरु चार खेलको प्रदर्शन हेर्दा बलिङ नै नेपालको तुलनात्मक रूपमा बलियो पक्ष देखियो। सधै झैं यो सिरिजमा पनि देखियो ।
पहिलो र दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर बलिङ गरेको नेपालले तेस्रो र चौथो खेलमा भने निकै कसिलो बलिङ गर्दै विपक्षी टोलिलाई कमजोर स्कोरमा रोक्न सफल भएको थियो । तर समस्या फेरि उही आयो । बलरले खेल बचाए, तर ब्याटरले खेल जिताउन सकेनन् । यही कारण नेपालको बलिङमाथि भन्दा अहिले ब्याटिङमाथि गम्भीर समीक्षा आवश्यक देखिन्छ ।
तर बलिङमा पनि केही प्रश्न छन् ।
विपक्षी दबाबमा आएको बेला विकेटको निरन्तरता किन रहँदैन ? ठूलो साझेदारी रोक्ने योजना कहाँ कमजोर हुन्छ ? मध्य ओभरमा रन नियन्त्रण गर्ने रणनीति कति प्रभावकारी छ ? यी प्रश्नको उत्तर पनि खोज्नुपर्नेछ ।
सबैभन्दा ठूलो कमजोरी टप अर्डर
एकदिवसीय क्रिकेटमा पहिलो १०–१५ ओभरले खेलको आधार तयार गर्छ । नेपालले धेरैपटक यही चरणमा दबाब भोगेको छ । ओपनिङ जोडीबाट स्थिर सुरुवात नआउँदा मध्यक्रममाथि तत्काल दबाब आउने गरेको छ । त्यसपछि मध्यक्रमले ठूलो इनिङ्स बनाउनुभन्दा विकेट बचाउनमै संघर्ष गर्नुपरेको देखिएको छ । रनरेट घट्दै जान्छ । अन्ततः ब्याटर जोखिम लिन बाध्य हुन्छ । अनि विकेट झर्छ । त्यसैले नेपालको समस्या केवल ‘कुन खेलाडी फर्ममा छैन?’ भन्ने प्रश्न होइन । ठूलो प्रश्न हो नेपालको ब्याटिङ सिस्टम नै कस्तो छ ? कसले नयाँ बल खेल्ने ? कसले इनिङ्स बनाउने ? कसले आक्रामक क्रिकेट खेल्ने ? कसले फिनिस गर्ने? यी भूमिका समेतको स्पष्टता विगतका सिरिज जस्तै यो सिरिजमा पनि खड्कियो ।
अझ कप्तानीको प्रश्न पनि यहीसँग जोडिन्छ ।
रोहित पौडेल नेपाली क्रिकेटका महत्वपूर्ण खेलाडी हुन् । तर कप्तानको रूपमा उनको सबैभन्दा ठूलो चुनौती अब आफ्नै प्रदर्शनभन्दा बाहिर गएर पूरै टोलीको ब्याटिङ संरचना बनाउनु पनि हो । कप्तानले प्रत्येक खेलमा शतक बनाउन सक्दैन । तर कप्तानले टोलीलाई यस्तो वातावरण दिन सक्छ जहाँ एक ब्याटरले ५० रन बनाउँदा अर्कोले ७० रनको साझेदारी गर्न सकोस् । नेपाललाई अहिले यही साझेदारीको क्रिकेट आवश्यकता रहेको छ । दीपेन्द्रसिंह ऐरी जस्ता अनुभवी खेलाडीबाट बल र ब्याट दुवैतर्फ जिम्मेवारी बढ्न सक्छ । करण केसीले बलिङमा देखाएको क्षमता महत्वपूर्ण छ । सन्दीप लामिछानेको स्पिनबाट विकेट निकाल्ने क्षमता पनि नेपालको ठूलो हतियार हुनुपर्ने हो । तर केही स्टार खेलाडीले मात्र टिमलाई विश्वकपसम्म पु¥याउन सक्दैनन् । पूरै ११ जनाको भूमिका हरेक खेलमा स्पष्ट हुनुपर्दछ ।
अब अर्को ठूलो प्रश्न: युवा खेलाडी ।
नेपालको भविष्यका लागि यो पक्ष अत्यन्त महत्वपूर्ण छ । अहिले नेपाली क्रिकेटले एउटै पुस्तामा निर्भर भएर बस्ने अवस्था छैन । नयाँ खेलाडीलाई अन्तराष्ट्रिय स्तरको दबाबमा खेलाउने, उनीहरूलाई नियमित अवसर दिने र आवश्यक परे कठिन निर्णय लिनुपर्ने समय समेत आएको छ । तर युवा खेलाडी ल्याउनु भनेको अनुभवी खेलाडीलाई अचानक हटाउनु भन्ने होइन । युवा खेलाडीलाई ल्याउनका लागि क्रिकेट संघले एउटा योजना अगाडि सार्नु पर्ने अति आवश्यक अहिलेको समयमा देखिएको छ । त्यसका लागि अनुभवी खेलाडीबाट युवालाई सिक्ने अवसर प्रदान गरिनु पर्नेछ । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई मौका दिन थाल्नु पर्नेछ । घरेलु तथा ग्राउण्ड लेभल संरचना बलियो बनाउने काम गर्नुपर्नेछ । र अन्तर्राष्ट्रिय क्रिकेटका लागि तयार हुने स्पष्ट बाटोको नयाँ खाका तयार गरिनुपर्नेछ । यदि नेपालले यी संरचना बनाउन सकेन भने हरेक सिरिजमा नयाँ खेलाडी खोज्ने, फेरि परिवर्तन गर्ने र फेरि पुरानै समस्या दोहोरिने चक्र चलिरहनेछ ।
अब नेपाली क्रिकेटको भविष्यको कुरा गर्दा सबैभन्दा ठूलो विषय एकदिवसीय मान्यता जोगिने हो कि होइन भने पनि बनेको छ । पछिल्लो रिपोर्टअनुसार नेपाल अहिले लिग–२ मा २४ अंकसहित छैटौँ स्थानमा छ र बाँकी खेलहरू अत्यन्त महत्वपूर्ण बनेका छन् । लिग–२ मा शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा जानेछन् भने शीर्ष छ टोलीले सायद एकदिवसीय मान्यता कायम राख्ने सम्भावना रहेको छ ।
यसको अर्थ नेपालका लागि अब विश्वकपको सपना मात्र होइन, एकदिवसीय क्रिकेटको भविष्य पनि दाउमा रहेको छ । यो अवस्था नेपाली क्रिकेटका लागि ठूलो चेतावनी हो । तर यो कुनै डराउनुपर्ने स्थिति भने होइन । यही संकटलाई सुधारको सुरुवात बनाउन नेपाली क्रिकेटले लाग्नुपर्नेछ । नेपालले अब तीन तहमा काम गर्नुपर्ने देखिन्छ । पहिलो ब्याटिङ संरचना, दोस्रो घरेलु क्रिकेटको गुणस्तर र तेस्रो दीर्घकालीन खेलाडी विकास रहेको छ । नेपालले घरेलु क्रिकेटलाई केवल प्रतियोगिता आयोजना गर्ने ठाउँका रूपमा होइन, राष्ट्रिय टोली उत्पादन गर्ने कारखानाका रूपमा विकास गर्नुपर्छ । बलियो पिच, नियमित प्रतिस्पर्धा, फिटनेस, विशेषज्ञ प्रशिक्षक, उच्चस्तरीय अभ्यास र डेटामा आधारित खेलाडी छनोट यी कुरामा लगानी नगरी अन्तर्राष्ट्रिय क्रिकेटमा स्थायी सफलता सम्भव नेपालले कदापि हात पार्न सक्ने छैन ।
घरेलु क्रिकेटबाट राष्ट्रिय टोलीमा पुग्ने प्रणाली कति बलियो छ ? र सबैभन्दा ठूलो प्रश्न—के हामी २०२७ को विश्वकप मात्र सोचिरहेका छौँ, कि २०३१ र त्यसपछिको नेपाली क्रिकेट पनि निर्माण गरिरहेका छौँ?
विश्वकपको बाटो अझै बाँकी छ । तर अब हरेक खेल महत्वपूर्ण छ । हरेक अंक महत्वपूर्ण छ । हरेक विकेट महत्वपूर्ण छ । र हरेक साझेदारी महत्वपूर्ण छ । नेपालले अब आफ्नो क्रिकेटको भविष्य आफैं लेख्नुपर्नेछ । अब बाँकी यात्रा एउटा प्रश्नको उत्तर खोज्ने यात्रा हुनेछ । नेपाल विश्वकपको सपना देख्ने टोली मात्रै हो, कि त्यो सपना पूरा गर्न सक्ने क्रिकेट टोलि निर्माण गर्न पनि तयार छ ? यसको उत्तर प्रेस सम्मेलनमा होइन । अर्को खेलको स्कोरबोर्डमा हुनु पर्दछ । र त्यो स्कोरबोर्डमा अब नेपाली समर्थकले एउटा कुरा मात्र हेर्न चाहन्छन । नेपालले जित्यो कि जितेन ? त्यसपछि मात्र विश्वकपको सपना फेरि विश्वासमा बदलिनेछ ।
प्रकाशित: १५ श्रावण २०८३ १७:३० शुक्रबार